सहजपुर शिविर खाली गरियो

कैलाली २७ फागुन । कैलालीको तालबन्दस्थित माओवादी सेनाको सातौं डिभिजन अन्तरगत सहजपुरमा रहेको बहुबीर योद्धा सहायक शिविर आज खाली गरिएको छ ।

शिविरहरुको संख्या घटाउने सेना समायोजन विशेष समितिको निर्णय अनुसार बहुबीर योद्धा सहायक शिविरलाई मुख्य शिविरमा सारिएको हो । सो शिविरमा रहेका ३ सय ६५ जनसेनालाई मुख्य शिविर तथा अन्य दुई सहायक शिविरमा सारिएको सातौं डिभिजनले जनाएको छ । शिविरमा रहेका १ सय ६५ जनालाई मुख्यालय र बाँकीलाई लिस्नेग्राम र गोराङ्गे गरी दुई सहायक शिविरमा सारिएको हो ।

अवकाश रोजेका जनमुक्ति सेनाको विदाई पछि समायोजन रोजेकाहरुलाई अन्यन्त्रै सारिएको सातौं डिभिजनका सहायक डिभिजन कमान्डर जीवन बुढाले जानकारी दिए । शिविरको संख्या घटाउने सरकारको निर्णय अनुसार मुख्यालयदेखि टाढा रहेको उक्त शिविर खालि गरिएको उनले बताए ।

शिविर खाली गरिए पछि त्यहाँको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले लिएको छ । आज एक कार्यक्रमका बीच शिविरका भौतिक संरचनाहरु सशस्त्र प्रहरीले जिम्मा लिएको सुदूरपश्चिम सशस्त्र प्रहरी बल बैजेनाथ बाहिनीका डिआईजी कमल बस्नेतले बताए । खाली भएको शिविरको सुरक्षाका लागि प्रहरी निरीक्षक पारस दाहालको नेतृत्वमा एक सुरक्षादस्ता राखिएको बस्नेतले बताए ।

प्रतिक्रिया