मदन स्मृति उपाधि साङ्ग्रिला नेपाललाई

विराटनगर, ११ फागुन । मदन स्मृति नकआउट फुटबल प्रतियोगिता २०६८ को उपाधि  सांग्रिला नेपालले हात पारेको छ । ए डिभिजन क्लबका खेलाडीको बाहुल्य रहेको सांग्रिलाले बिहीबार सम्पन्न फाइनलमा आयोजक युवा सङ्घ नेपाललाई २–० गोलले पराजित गरेको हो ।
खेल सुरु भएको पाँचौं मिनेटमा सांग्रिला नेपालका विकास राईको क्रस पासलाई नेपालका अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले गोल गरी अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि सुरेन्द्रले नै प्रहार गरेको बल बारमाथिबाट बाहिरिएको थियो ।  मध्यान्तरसम्म १–० ले पछि रहेको युवा सङ्घले आक्रामक खेल प्रदर्शन गरे पनि कुनै गोल गर्न सकेन । दोस्रो हाफको १९ औं मिनेटमा सांग्रिलाका लिले मगरले गोल थपेका थिए । युवा संघले गोल गर्ने थुपै्र अवसर गुमाएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच सांग्रिला नेपालका सुरेन्द्र तामाङ घोषित भए भने उत्कृष्ट खेलाडी आयोजकका प्रसोद्ध जोशी, हाइस्कोरर साङ्ग्रिलाका लिले मगर, अनुशासित टिम रानी युवा क्लब घोषित भएका छन् ।
प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेत, पूर्वाञ्चल फुटबल सङ्घका अध्यक्ष सन्तोष बानियाँ र युवा सघ विराटनगरका अध्यक्ष रोहित कोइरालालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
४ फागुनदेखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर क्षेत्रका आठ टिमको सहभागिता थियो । प्रथम हुने टिमले नगद २५ हजार रुपियाँ तथा दोस्रो हुने टिमले १५ हजार रुपियाँ र ट्रफी हात पारेका छन् । अनुशासित टिम, हाइ स्कोरर र उत्कृष्ट खेलाडीलाई जनही ५–५ हजार रुपियाँ र ट्रफी तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ७ सय १ रुपियाँ र ट्रफी दिइएको थियो ।

प्रतिक्रिया