कावासोतीमा बाघको मूर्ति

कावासोती । पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेर बाघको मूर्ति प्रतिस्थापन गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा नवलपरासीको कावासोतीमा बाघको मूर्ति निर्माण गरिएको हो । कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरबास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले जिकिर गरे ।

कलाकार दिनेश्वर महतोले बनाएको उक्त मूर्ति जमिनदेखि साढे ५ फिट उचाइ र १३ फिट लम्बाइ रहेको छ । मूर्तिकलामा स्नातकोत्तर गरेका मूर्तिकार महतोले चितवन र यस आसपासमा पाइने पाटेबाघलाई कलात्मक रुपमा बनाएको बताए ।

बाघको मूर्तिले पर्यटकलाई आकर्षित गर्ने जिकिर गर्दै व्यवस्थापक गुरौले मूर्ति निर्माणकै क्रममा नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति बनाउने लक्ष्यअनुसार नै काम गरिएकोे बताए । अमलटारी क्षेत्र नवलपुरको पर्यटकीय गन्तव्यमध्येको एक महत्वपूर्ण क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई लक्षित गरेर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको घरबास अनुदानको रकमबाट १० लाखको लागतमा मूर्ति बनाइएको हो ।

उक्त स्थानमा बाघको मूर्तिसँगै तीनवटा चित्तलको मूर्तिसमेत बनाइएको छ । यहाँ आउने पर्यटकलाई मूर्ति अवलोकनसँगै आराम गर्नका लागि विश्रामस्थल लगायतका भौतिक संरचनासमेत निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी क्षेत्र गैँडा अवलोकनका लागि परिचित क्षेत्र हो । सो स्थानमा बाघसमेत रहेकाले यसको प्रचार–प्रसारका लागि बाघको मूर्ति निर्माण गरिएको व्यवस्थापक गुरौले जानकारी दिए । अहिले आन्तरिक पर्यटक बाघको मूर्ति हेर्नकै लागि पनि आउने गरेका छन् ।

प्रतिक्रिया