म्याड्रिड : बासिर्लोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा एसी मिलानलाई ३–१ गोल अन्तरले पराजित गर्दै बासिर्लोना अन्तिम १६ मा प्रवेश गरेको हो । समूह एचमा रहेको बासिर्लोना १० अंकका साथ शीर्ष स्थानमा छ । दास्रो स्थानमा रहेको मिलानको ५ अंक छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बासिर्लोनाले ३० औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । नेइमारलाई फल गरेपछि पाएको पेनाल्टीमा लिओनल मेस्सीले गोल गरे ।
खेलको ३९ औं मिनेटमा बुस्केटले जाभीको फ्रिकिकमा गोल गर्दै बासिर्लोनाको अग्रता दोब्बर पारे । तर, पहिलो हापको अन्त्यमा जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि बासिर्लोनाको अग्रता साघुरियो । खेललाई आफ्नो नियन्त्रणमा राखेको बासिर्लोनाका ८३ औं मिनेटमा मेस्सीले सेस फेब्रिगाससँगको वान टु वान पासमा गोल गर्दै जित सुनिश्चित गरे । समूह एचकै अर्को खेलमा एयाक्सले सेल्टिकलाई १–० गोल अन्तरले पराजित गरेको छ । एयाक्सको ४ अंक छ भने पुछारमा रहेको सेल्टिकको ३ अंक छ । (एजेन्सी)
प्रतिक्रिया