जीवनको पहिलो पाठशाला परिवार हो, अरू कुनै ठाउँ होइन । सर्सर्ती हेर्दा, एउटा परिवारमा दुईजना अभिभावक हुन्छन् र उनीहरूका एक वा एकभन्दा धेरै सन्तान हुन्छन्, कोही दम्पती नि:सन्तान पनि हुन सक्छन् । उनीहरू एकल परिवारमा पनि बसेका हुन सक्छन् र संगोलमा पनि । परिवारको सर्वप्रमुख दायित्व हो, केटाकेटीहरूलाई जीवनका आधारभूत मूल्य–मान्यताहरूबारे सिकाउनु र उनीहरूको शिक्षादीक्षाको बन्दोबस्त गर्नु । यही क्रममा अभिभावक र सन्तानहरूबीच एउटा अव्यक्त स्नेहिल बन्धन क्रमश: प्रगाढ बन्दै जान्छ । वर्षहरू बित्दै जान्छन्, उमेरले परिपक्ताका कुइँनेटाहरू नाघ्दै जान्छ तर प्रेम, स्नेह र प्रेरणाका लागि हामी सधँै परिवारप्रति नै आश्रित हुन्छौँ, भइरहन्छौँ ।
सायद त्यसैले होला, हाम्रो पौराणिक ग्रन्थ मनुस्मृतिमा भनिएको पनि छ, ‘पिता एक सय आचार्यभन्दा र आमा एक हजार पिताहरूभन्दा श्रेष्ठ हुन्छन् ।’ त्यसो त माता र पिता सन्तानका लागि बराबर हुन्, तर यसो भनिनुमा कारण छ । आमाको गर्भमा नौ महिना बसेर सन्तानले बाहिरी संसारमा चियाउँछ । हुर्किने क्रममा पनि सन्तानले पिताको दाँजोमा आमाको सानिध्य नै बढी पाउँछ । जिन्दगीको टँुडिखेलमा सन्तानको व्यक्तित्व निर्माण हुँदा त्यसमा मातृवात्सल्यको भूमिका हिमालतुल्य हुन्छ ।
त्यसो त, विद्यालयमा पढेर मात्र कहाँ हुन्छ र ? विद्यालय त मानिसको भावी जीवनको केवल एक जग मात्र हो, एक सशक्त आधारशीला मात्र हो । जग जति बलियो हुन्छ, त्यसमाथि निर्मित भवन त्यत्ति नै बलियो हुन्छ । बुद्धि किताबहरूमा बन्द हुँदैन, ज्ञान पुस्तकहरूको बन्दी हुँदैन । हेर्ने, पढ्ने र ग्रहण गर्ने क्षमता हुनुपर्छ, अनि त संसार आफँैमा एक शिक्षालय हो, समाज एक महाविद्यालय हो र जीवन स्वयंमा एक विशाल पुस्तक हो ।
विद्यालयहरूको अवस्थासित देशको भवितव्य र प्रारब्ध जोडिएको हुन्छ । कुनै पनि देशको प्रगति त्यस देशका शिक्षित नागरिकहरूमा भर पर्छ । देशवासी जति बढी शिक्षित हुन्छन्, देशले त्यति नै राम्रो गरी विकासका लक्ष्यहरू हासिल गर्न सक्छ । पढ्ने, शिक्षा आर्जन गर्ने ठाउँ नै विद्यालय हो । यो जहाँ पनि हुन सक्छ भवनभित्र, कक्षाकोठामा, रूखमुनि, चउरमा, चौपारीमा, पाटीपौवामा, एक्लाएक्लै, समूहमा आदि । अथवा, यी सबै केही नभएर केवल स्वअध्ययन, अथवा, दूरशिक्षा नै पनि हुन सक्छ । तापनि सत्य एउटै कुरा हो, विद्यालय हाम्रो जीवनका सर्वाधिक महत्त्वपूर्ण संस्थाहरूमध्ये एक हो ।
चाणक्य नीति भन्छ, ‘विद्या त कामधेनु सरह हुन्छ, जसले जहिले पनि फल दिइरहेको हुन्छ । परदेशमा यो कुनै प्रिय आफन्तभन्दा कम हुँदैन ।’ तसर्थ विद्यालाई सदैव सञ्चय गरिरहनु पर्छ ।
त्यस्तो विद्याको पहिलो स्रोत त्यही एउटा विद्यालय हुन्छ ।
कपुरी क, भित्रपल्टे ख (खरायो ख पनि), गाइगोडे ग, घरजस्तो घ, तलथोप्ली ङ, चरीचुच्चे च…, डाडु ज, (वा, जलुका ज…), तर्साउने त्र…, ज्ञानी ज्ञ…र, यस्तैयस्तै….।
सानो छँदा यसैगरी मैले सुरुसुरुमा अक्षर चिनेको हो, अथवा, मलाई चिनाइएको हो । मलाई र मजस्ता अरू सयौँ, हजारौँलाई त्यसरी अक्षर चिनाउने त्यो ठाउँ हो, श्री दर्लमडाँडा विद्यालय ।
पाल्पा जिल्लाको उत्तरी भेगमा एउटा गाविस छ, दर्लमडाँडा । यही गाउँको नाममा त्यस विद्यालयको नाम रहन गएको हो । थालनीका दिनहरूमा एकजना ‘मास्टर’ आएका थिए त्यो गाउँमा । उनी केही घरहरूमै गएर अक्षर चिनाउने काम गर्थे । विस्तारै पढ्न र पढाउन चाहनेहरूको संख्या बढ्दै गयो । घरघरमा गएर पढाउन भ्याइने अवस्था रहेन । अनि सबैलाई भेला गरेर एउटा पौवामा पढाइ हुन थाल्यो र त्यस ठाउँलाई नै ‘पाठशाला’ भन्न थालियो । विद्यालयको त्यो अपरिष्कृत स्वरूपले क्रमश: विस्तार हुने अवसर पाउँदै गयो, टाकुरा पाठशालाबाट सरेरमाथि ‘माझथर’ भन्ने ठाउँमा पुग्यो र फेरि त्यहाँबाट सरेर दर्लमडाँडा र दरूङ्गा दुई गाउँको सिमानामा स्थायीरूपले सर्न पुग्यो । सुरुआतका दिनहरूमा विद्यालयको नाम श्रीकृष्ण स्कुल थियो, अनि श्री दर्लमडाँडा मिडिल स्कुल भयो । पुन: लामो एवं अथक प्रयासपछि यो ‘श्री दर्लमडाँडा मावि’मा परिणत भयो र हाल त्यस भेगकै एकमात्र उच्चमावि भएको छ ।
हामीले पढ्ने त्यस श्री दर्लमडाँडा माविमा एकजना थिए पराजुली गुरू । त्यसो त उनीभन्दा पहिले पनि त्यहाँ सर्वप्रथम मास्टर जोगीराम अधिकारी र त्यसपछि रत्नविक्रम शाह, नित्यराज शर्मा, बाबुलाल सैँजु, शिवभक्त शर्मासमेत केही शिक्षकहरू नभएका होइनन्, थिए । पछि हिमलाल गैरे, दयाराज बस्याल, पीताम्बर, देवीप्रसाद, डम्बर, शारदा, रूद्रप्रसाद, सूर्यप्रसाद, त्रिलोचन, हुमप्रसाद, वशिष्ठ त्रिपाठी, रामप्रसाद, गोपालप्रसाद, हरिप्रसाद, दीनानाथ आदिसमेत अरू पनि अनेक नामधारी त्यहाँ आए । त्यो ठाउँ छोडेर कति अन्यत्र गए, अरू कति आउने–जाने क्रम यथावत् छ । तर, यी सबैमा पराजुली गुरू खास थिए । एउटा खुट्टाले अपांगता भएका व्यक्ति थिए उनी र उनले ‘कुटी लौरो’ टेकेर यताउता गर्नुपथ्र्यो । धेरै वर्षसम्म प्राथमिक तहमा उनैले अक्षर चिनाउने काम गरेका थिए । भनेको नमान्ने र बदमासी गर्ने विद्यार्थीहरूलाई उनी आफ्नो त्यही ‘कुटी लौरो’ ले माया नमानी पिट्ने गर्थे । कहिलेकाहीँ कोही अत्यन्त चञ्चल विद्यार्थी उनीसित जिस्किन खोज्थ्यो र भन्थ्यो– ‘गुरू, तपाईंको लौरो ल्यानुस्, हामी मिलेर डन्डीबियो खेलौँ ।’ पराजुली गुरू एकपटक छक्क परेर हेर्थे र अर्कै क्षणमा आफ्नो ‘ब्रान्डेड’ कुटी लौरी तन्काएर त्यस विद्यार्थीलाई पिट्न खोज्थे, तर त्यतिबेलासम्ममा त्यो विद्यार्थी कि त कुलेलम भइसकेको हुन्थ्यो, होइन भने गुरूले नभेट्ने गरी पछाडी बस्न पुगिसकेको हुन्थ्यो ।… एवं रीतले बित्ने गथ्र्यो त्यो समय । अचेल, बुढ्यौलीतिर हुत्तिदै गइरहेको उमेरको यो मोडमा, घरिघरी मेरो स्मृति–सागरमा एउटा भावना लहराउँछ र एउटा प्रश्न तरंगिए जस्तो लाग्छ– कहाँ गए होलान् ती दिनहरू…†
केही कक्षाहरू मैले अन्य दुईवटा विद्यालयबाट पूरा गरेको थिएँ । तर, दुनियाँ जसलाई ‘आइरन गेट’ भनी पुकार्दछ, त्यो एसएलसी भने त्यही श्री दर्लमडाँडा (उ) माविबाटै गरेको थिएँ । वि.स. २०३९ सालमा त्यो फलामे ढोका ढक्ढक्याउनेमा हामी विद्यालयको तेस्रो समूह भएका थियौँ । त्यो वर्ष ‘सेन्ड अप’ भएका एघारजनामध्ये हामी पाँचजना मात्र उत्तीर्ण भएर आइरन गेटबाट ‘इन्ट्री’ पाउन सफल भएका थियौँ । हामीमध्ये कोही सरकारी सेवातिर लागे, कोही शिक्षणमा समर्पित भए, म भने कलमको मोर्चा कसेर जीवनपथमा लम्किन मै परम सन्तुष्टि बटुल्न थालेँ । मेरो यो बाटो अरू सबै सहपाठीहरूभन्दा नितान्त बेग्लै हुन गयो ।…….
कतै पढेको स्मृति ताजा भएर आउँछ– ज्ञान एउटा स्वतन्त्र विश्व हो र यसबाट लाभ सारा मानव जातिलाई नै हुन्छ । धनवन्तरी, पतञ्जली, चार्वाक, चरक, गौतम बुद्ध, महावीर जैन, यीशु ख्रीष्ट, पैगम्बर मोहम्मद, सेक्सपियर, ग्यालिलियो, न्यूटन, आइन्सटाइन, मार्कोनी, जगदीश बोस, सिभी रमन, मेरी क्युरी, राइट ब्रदर्श, पिकासो, कामु, सात्र्र आदि अनेकअनेक नाम छन् जो स्वयंमा एउटा व्यक्ति भएर उनीहरूले आर्जन गरेको ज्ञानले सारा मानव जातिले लाभ पाइरहेको छ, निरन्तर प्रकाश पाइरहेको छ । नेल्सन मन्डेलाले गोराहरूको रंगभेदी शासनविरूद्ध र बहुसंख्यक दक्षिण अफ्रिकी अश्वेत जनताको आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्दा लगातार सत्ताइस वर्ष कठोर र एकान्त जेलजीवन बिताए । पछि, उनै मन्डेलाले आफ्नो संघर्षका विविध अनुभवहरूको सार सुनाउने क्रममा एकपटक भनेका थिए– शिक्षा (अर्थात्, विद्या) नै त्यो सबैभन्दा शक्तिशाली हतियार हो जसबाट हामीले विश्व बदल्न सक्छौँ ।
त्यो शिक्षा र त्यो ज्ञानको आधारशिला हो, त्यही एउटा विद्यालय, जसले हामीलाई सिकाउँछ– ज्ञान फगत ज्ञानका लागि होइन, आचरणमा परिवर्तनका लागि हो, जीवनमा परिवर्तन ल्याउनका लागि हो । निष्काम कर्मका लागि हो । हामीले हासिल गरेको ज्ञान शरीरमा प्रवेश गर्यो वा गर्न सक्यो भने त्यसले हामीलाई तार्छ, उकास्छ । तर, त्यसो हुन सकेन भने त्यो ज्ञान हामीले खाने आहार जस्तो मात्र हुन पुग्छ– पच्यो भने स्वस्थता र शक्ति पाइन्छ, पचेन भने दुर्गन्ध बनेर बाहिरिन्छ । यसर्थ, केवल साक्षर हुनु र पढ्नु मात्र ज्ञानवान हुनु होइन, बरू असल बन्न सक्नु ठूलो कुरा हो । अज्ञानता खतरनाक हुन्छ तर ज्ञानको वृद्धिसँगै यो हराउँदै जान्छ । पढेर अथवा परेर हासिल गरेको ज्ञानले हामीलाई सिकाउँछ– विपद्को बेला मानिसले धैर्य धारण गर्नुपर्दछ । काम धेरै छ, जिम्मेवारी धेरै छ भनेर अत्तालिने मानिसले कहिल्यै कुनै ठूलो र असल कार्य गर्न सक्दैन । हामीले पाएको शिक्षा र आर्जन गरेको ज्ञानले हामीलाई यस्तो धैर्य धारण गर्न सिकाउँछ, असल कार्य गर्न लगाउँछ अनि दु:खमा नआत्तिने र सुखमा नमात्तिने बनाउँछ ।
जीवन–यात्रामा हिँड्दा म धेरै ठाउँ पुगेको छु । धेरै विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू कुल्चेको छु । धेरैसँग बसाउठी गर्ने र गफिने अवसर पनि जुरेको छ । तर, जे कुरा थियो र छ दर्लमडाँडाको त्यो एउटा विद्यालयमा, त्यो भने अन्यत्र कहीँ भेटिन । कुन्नि कुन किसिमको अव्यक्त आत्मीयता रह्यो त्यो एउटा विद्यालयसित, जुन बढ्दो उमेरसँगै धूमिल भए झैँ भान त हुन्छ । तर, स्मृतिको मैदानमा त्यसका डोबहरू झन् गाढा हुँदै गएको अनुभूति हुन्छ । म जहाँ रहूँ, जे गरूँ– त्यो एउटा विद्यालय जनजिन्दगानीका घामछाँयाहरूबीच पनि सतिसाल बनेर उभिएको हुन्छ, हिङ नभए पनि हिङको खार रहे जस्तो ।
त्यो एउटा विद्यालय मेरो जीवनयात्राको उषाकालीन ज्ञान–कुञ्ज थियो, मेरो प्रभातकालीन प्राज्ञ–कुञ्ज थियो, मभित्र मध्यान्हका सपना र गोधूलीका आस्थाहरूको बिउ रोप्ने जीवन–कुञ्ज थियो । म जस्ता अरू सयौँ हजारौँले त्यो एउटा विद्यालयबाट आफ्नो जीवनका भावी भवनहरूको जग बसालेका थिए (र, छन्) । अहिले म फर्केर त्यो विद्यालयमा बितेका ती दिनहरूतिर हेर्छु– बाह्खरी चिन्ने बेलामा बस्नका लागि घरबाटै सुकुल, गुन्द्री, टाट वा बोरा जे भए पनि बोकेर जानु पथ्र्यो, खरी र कालो पाटी त सँगै हुने भै हाल्यो । अलि माथ्लो कक्षामा पुगेपछि खरी हुँदैन्थ्यो, अचेल जस्तो कलम पनि उपलब्ध थिएन । बरू बाँसको कलम बनाएर लेख्नु पथ्र्यो, पछि मात्र ‘फाउन्टेन पेन’ पाउन थालिएको हो ।
विद्यालय भन्नु के थियो र ? पहिले खर र पछि जस्ताले छाएर बनेको ढुंगा–माटोको दुई तले काँचो भवन । सानासाना कोठा । अलि पछिल्ला वर्षहरूमा, रूख चिरेर बनाइएका अप्रशोधित फ्ल्याकलाई नै डेस्क–बेन्च बनाएर पढाउन थालिएको थियो । तल भूइँमा धूलो माटो हुन्थ्यो, जहाँ किताब वा कापी खसे भने माटोले लाग्ने दाग कहिल्यै जाँदैन्थ्यो । त्यस्तो दाग यदाकदा कपडामा पनि लाग्थ्यो । हामी कहिले कक्षाकोठाभित्र त कहिले(गर्मीमा) विद्यालयनजिकैको ठाँटीमा बसेर, त कहिले (जाडोमा) नजिकैको वरपीपलका यताउता छितरिएका जराहरूमाथि बसेर पढ्थ्यौँ । अहिले अचम्म लाग्छ, तिनताक हामीले ‘नेपालको हावा, पानी र माटो सुहाउँदो’ भनेर पञ्चायत विषय पढ्नु पथ्र्यो, जुन विषय मात्र होइन, त्यो पञ्चायती व्यवस्था नै ३० वर्षसम्म पनि टिक्न सकेन र इतिहासको अध्यारोमा पुरियो । त्यति मात्र होइन, पञ्चायती व्यवस्थाका प्रवत्र्तक राजा महेन्द्रको शाहवंशले चलाउँदै आएको राजतन्त्र नै मुलुकबाट समाप्त भयो र इतिहासको विषयमा रूपान्तरित भयो ! कुन्नि कस्तो हावा, पानी र माटो रहेछ त्यो पञ्चायतले रोपेको !
त्यो विद्यालयमा मैले नियमित रूपले मासिक फिस तिर्थें, आवश्यक कापी, किताब र स्टेसनरी सामान पनि आफँै किन्थेँ । तर, म अझै सम्झन्छु, मैले थुप्रै दिनहरूको पढाइ विद्यालयको नयाँ भवन निर्माणका लागि समर्पित गरेको थिएँ । हामी विद्यार्थीहरू, पढाइ छाडेर, गरेन्डाँडा, भरेक्टुङ र अन्य टाढाका वनहरूमा विद्यालय भवनका लागि काठ बोक्न जान्थ्यौँ । कतिपटक टाढाटाढा पुगेर गाह्रो बनाउने ढुंगा बोकेर ल्याउँथ्यौँ । विशेषगरी, दसैँको बेलामा विद्यालय लिपपोत गर्ने काम हुन्थ्यो । त्यो बेला हामी विद्यार्थी पढाइ छोडेर डोको, बोरा वा अन्य केही झोला लिएर घन्टौँको उकालो–ओरालो गर्दै चूना/कमेरो र रातो माटो खोज्न जान्थ्यौँ र असिनपसिन हुँदै बोकेर ल्याउँथ्यौँ । रमाइलो मान्दै लिप्ने–पोत्ने काम पनि सकिन्थ्यो ।
यसरी हामीले त्यहाँ विद्या आर्जन गर्यौँ र शारीरिक श्रमदान पनि गर्यौँ । तसर्थ त्यो हाम्रो विद्यालय हो । त्यहाँ स्थानीय जनहरूले पनि प्रशस्त जनश्रमदान गरेका छन्, तसर्थ त्यो गाउँलेहरूको विद्यालय हो । त्यस विद्यालयसित हामी सबैको इतिहास गाँसिएको छ । धेरै–धेरै वर्षपछि पनि, कहिलेकाहीँ, म अचेल बुढ्यौलीतिर पाइला बढाउँदै गरेका आफ्ना काँध र हत्केला चियाएर हेर्ने गर्छु, जसले कुनैबेला त्यो विद्यालयका लागि ढुंगा, चिरान काठ, कमेरो र माटो बोकेका थिएँ– तस्मात्, म त्यहाँ मीठो श्रमको सुवास पाउँछु, किनभने मेरो त्यो श्रम विद्याकी देवी सरस्वतीको आराधनाका लागि थियो, र किनभने मेरो त्यो श्रम दिगन्तसम्म शिक्षाको उज्यालो फैलाउनका लागि थियो ।
समय–समयका कुरा हुन्, मानिस जो एक अस्थिर र संवेदनशील चित्त भएको प्राणी हो, का विश्वासहरू निभ्न सक्छन्, आस्थाहरू ठुटा पर्न सक्छन्, मान्यताहरू खिया पर्न सक्छन्, आकांक्षाहरू भाँचिन सक्छन् र मन–मस्तिष्कमा गाँठा पर्न सक्छन् ! तर त्यस्तो बेला पनि आशाको धिपधिपे दीपशिखा बनेर उभिएको हन्छ, त्यही एउटा विद्यालय, अक्षरको संसारमा मलाई ताते गराउने त्यो एउटा विद्यालय । भन्न सक्दिन– म त्यसका लागि विशिष्ट हुन सकेँ वा सकिन, तर त्यो विद्यालय मेरा लागि सधैँ विशिष्ट छ, आजीवन रहने छ । हो, कालान्तरमा– जीवनको दगुराइमा अगाडि बढ्दै जाँदा त्यो मेरो कार्यक्षेत्र बनेन । तर, त्यससित मेरो बालापन, मेरो कैशोर्य र मेरो गाउँले साइनो जोडिएको छ । र यो साइनो कसै गरी भत्किन सक्दैन, कसैले भत्काउन पनि सक्दैन ।
त्यो एउटा विद्यालय सधैँसधैँ मेरो सम्झनामा बसिरहेको हुन्छ । र मलाई लागिरहन्छ– सबैले पढ्नु पर्छ, ज्ञान आर्जन गर्नुपर्छ र विद्यार्थी जीवन सकिएपछि कुनै पनि साधारण पेसाबाटै जीवन सुरू गरे हुन्छ । वास्तवमा, म जे हुन सक्छु, त्यही मैले बन्नुपर्छ । म जस्तो बन्न सक्छु, त्यस्तै मैले हुनुपर्छ । कसैको अनुचर बन्ने होइन, कसैको नक्कल बन्ने होइन, कसैको प्रतिलिपी बन्नु छैन, कसैको अनुकरण गर्नु छैन । मेरो रूचि जतातिर छ, म त्यतै लाग्नुपर्छ । उसै पनि, म त्यही गरिरहेको हुन्छु, जे मेरो प्रवृत्ति हुन्छ । निश्चय पनि, ममा जे जति प्रतिभा र क्षमता छ (जुन कमोबेश हरेक मानिसमा हुन्छ), त्यो त्यही रूचि अनुकूल नै हुन्छ । तसर्थ, जतातिर मेरो जेहन पुग्न सक्छ, उतैतिर मेरो कोसिस हुनुपर्छ र मैंले उतैतिर आफूलाई उचाल्नु र फैलाउनु पर्छ । बस्, मैले गर्नुपर्ने यति मात्र हो– मैले आफ्नो रूचि र चासोको क्षेत्र ठम्याउन सक्नुपर्छ ।
प्रतिक्रिया