जुम्ला । कर्णाली प्रदेशको आर्थिक उन्नतिका लागि भन्दै जुम्लाको सदरमुकाम खलंगामा आयोजना गरिएको प्रादेशिक कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक महोत्सव सम्पन्न भएको छ । कर्णाली क्षेत्रमा रहेका लगानीको सम्भावना तथा अवसरको पहिचान गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले महोत्सवको आयोना गरिएको हो । उद्योग वाणिज्य संघ जुम्लाका अनुसार १५ वैशाखदेखि सुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन भएर सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा भएको महोत्सवमा स्थानीय सामग्रीको प्रदर्शन, प्रवद्र्धन र बजारीकरण भएको आयोजकले बताएको छ । महोत्सवले कर्णालीको कृषि पर्यटनलाई टेवा पुग्नुका साथै सांस्कृतिक तथा औद्योगिक हिसाबले पनि निकै राम्रो सन्देश फैलाएको कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले बताए ।
उनले भने, ‘स्थानीय उत्पादनको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणका लागि महत्वपूर्ण भूमिका महोत्सवले खेलेको छ । सांस्कृतिक कार्यक्रमसँगै स्थानीय परिकारको पनि स्वाद लिन पाइयो ।’
उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाका अनुसार महोत्सवमा स्थानीय उत्पादनहरू, रैथाने बालीहरू मार्सी चामल, सिमी, फापर, दाल, चिनो, कागुनो लगायतका विभिन्न परिकारहरू, घरेलु उद्योगबाट उत्पादित, राडी, पाखीलगायत स्थानीय उत्पादनका २२ वटा स्टल राखिएका थिए ।
उनले भने, ‘कर्णालीका कलाकारहरूको सहभागिताले स्थानीय संस्कृतिको समेत उजागर भएको छ । जिल्लाभित्र रहेका प्रतिभाहरूको समेत प्रतिनिधित्व भएको थियो ।’ महोत्सवका स्टलहरूमा कृषि विकास कार्यालयले कृषिसम्बन्धीका प्रचारप्रसार र स्थानीय उत्पादन, चन्दननाथ सहकारी हिमालयन सहरकारीले आफ्ना सदस्यकाहरूको उत्पादन, कैलाश कोल्ड स्टोरले जुम्ली स्याउ, स्याउ सुपरजोन कृषि क्षेत्र, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीहरूको कलाहरू पनि प्रदर्शनमा राखिएको थियो ।
प्रतिक्रिया