आयोजकलाई पन्छाएर त्रिभुवन आर्मी फाइनलमा

धरान, २९ चैत । पन्ध्रौँ अन्तर्राष्ट्रिय बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान ११ लाई ३–२ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय २–२ को बराबरी रहेको खेलमा अतिरिक्त समयको दोस्रो मिनेटमा आर्मीका विक्रम श्रेष्ठले निर्णायक गोल गरेका थिए । राजु तामाङको फ्रिकिक र टंक बस्नेतको हेडपासले सिर्जना गरेको अवसर सदुपयोग गर्दै विक्रमले टिमलाई फाइनलमा पुर्‍याए । यसअघि पूर्वार्धको इन्जुरी समयमा र उत्तरार्धको १६औँ मिनेटमा टेकबहादुर बुढाथोकी एक्लैले दुई गोल गरे ।
धरानका लागि प्रकाश बुढाथोकी एक्लैले दुई गोल गरेका थिए । पूर्वार्धको १५औँ मिनेटमा विक्रम लिम्बूको कर्नर पासलाई सुन्दर ढंगले नियन्त्रणमा लिई प्रकाशले जाली चुमाएका थिए । उत्तरार्धको २२औँ मिनेटमा दीपक राईको पासमा उनले दोस्रो गोल गरे ।
पूर्वार्धमा प्रतिस्पर्धात्मक रहेको खेल उत्तरार्धमा धरानले आर्मीको दबाब सहनुपरेको थियो । थप गरिएको १५ मिनेटको समय सकिन लाग्दा मैदानको मध्यभागबाट आएको पासलाई प्रकाश बुढाथोकीले संघर्षका साथ पोष्टमा प्रहार गर्न सफल भए पनि आर्मीका रक्षक गंगाराम देउजाले विफल बनाएपछि धरानको फाइनल यात्रा गर्ने सपना अधुरो रह्यो । खेल अवधिभर थुप्रै अवसर सिर्जना गर्न सफल आर्मीका भरपर्दा खेलाडी भरत खवासको खेल मध्यमस्तरको थियो । उत्तरार्ध सकिन एक मिनेट बाँकी हुँदा राजु तामाङको फ्रिकिकमा भरतले पोष्टमा गरेको प्रहार फितलो साबित भयो । खेलको म्यान अफ द म्याच धरानका प्रकाश बुढाथोकी भए ।
आर्मीका प्रशिक्षक साइँला महर्जनले दुबै टिमले राम्रो खेलेको तर भाग्यले मात्र आफूहरू बढी गोल गर्न सफल भएको बताए । धरानका प्रशिक्षक सागर घिमिरेले भने आºनो टिमले सोचेअनुरूप खेलेको भए पनि आर्मीको तालमेल र स्टमिना बलियो भएका कारण हार भएको बताए ।
बिहीबार दोस्रो सेिमफाइनल हङकङ नेपाली फुटबल टिम र साबिकको विजेता थ्रीस्टारबीच हुनेछ ।

प्रतिक्रिया