गीतकार नारायण खतिवडाले ल्याए ‘दुःख सुनाएर के काम ?’

काठमाडौं । गीतकार नारायण खतिवडाले आफ्नो शब्द सिर्जनामा ‘दुःख सुनाएर के काम ?’ नामक गीतको भिडियो युट्युबमार्फत ल्याएका छन् । उक्त गीतमा संगतकार दीपक शर्माको संगीत रहेको छ भने गायक स्वरूपराज आचार्यको आवाज रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार खतिवडाले मानिसको आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइका भोगाइहरुलाई चित्रण गरेर आफूले गीत सिर्जना गरेको बताए । गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको उनको भनाइ छ ।

गीतकार खतिवडाका यसअघि पनि दर्जनौँ गीतहरू सार्वजनिक भइसकेका छन् । उनका ‘सम्झनाका पाइलाहरू’ नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् । ‘स्वार्थी संसार,’ ‘स्वदेश छोडी,’ ‘मनका कुरा,’ ‘बिन्दास,’ ‘देखुँ देखुँ,’ ‘सन्देश पुर्याइदेउ,’ ‘मेरो कथा,’ ‘चोखो चोखो’ लगायतका गीतहरू गीतकार खतिवडाका बजारमा लोकप्रिय छन् ।

गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार खतिवडा हाल सरकारी सेवामा कार्यरत छन् । सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने सशक्त स्रष्टा खतिवडाले पछिल्लो सिर्जना ‘दुःख सुनाएर के काम ?’ गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको सुनाए ।

प्रतिक्रिया