ठाकुर बेलवासे स्थापित कवि र मेडियाकर्मी हुन् । साधारणतया कविता भन्नासाथ व्यक्तिगत वा सामाजिक भावना, पीडा, प्रेम, आशा, निराशा, उत्साह आदिको गहिरो कलात्मक अभिव्यक्ति हो । उनका कविताामा केही विशिष्टता छन् जसले उनको पृथक पहिचान स्थापित गरेको छ । उनका कवितामा आफ्नै मौलिकता, शैली, विषयवस्तु, संरचना र भावनात्मक गहिराइ हुन्छ नै सँगसँगै राष्ट्रको भावना अभिव्यक्त भइरहेको हुन्छ । नेपाली समाजको मूल्यपरम्परा, संस्कृति र राष्ट्रप्रेम कवितामा झल्किन्छ । सभ्य, शिष्ट, न्यायपूर्ण समाजनिर्माणको उत्कट चाहना प्रकट भइरहेको पाइन्छ । अन्ततोगत्वा आलोचनात्मक चेतभएको उन्नत मनुष्यको परिकल्पनालाई साकार गर्ने लक्ष्यको प्रयास बुझिन्छ ।
कवि ठाकुर बेलवासेका कविताहरू नेपाली साहित्यमा विशेष स्थान राख्छन् । उनी आधुनिक नेपाली कवितामा सामाजिक चेतना, प्रकृति प्रेम, र मानवीय संवेदनालाई गहिरोसँग प्रस्तुत गर्ने कविको रूपमा चिनिन्छन् ।
ठाकुर बेलवासेका कविताहरूमा सामाजिक मुद्दाहरू, विशेष गरी समाजमा विद्यमान असमानता, शोषण, र अन्यायका विषयहरू गहिरोसँग उठाइएका हुन्छन् । उनको लेखनमा यथार्थवादी दृष्टिकोण पाइन्छ, जसले समाजको कटु सत्यलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गर्छ ।
उनको कवितामा मानव–प्रकृति सम्बन्धको गहिरो चित्रण पाइन्छ । प्रकृतिलाई केवल पृष्ठभूमिको रूपमा मात्र नभई एक जीवन्त पात्रको रूपमा प्रस्तुत गर्ने उनको शैलीले पाठकलाई प्रकृतिप्रति संवेदनशील बनाउँछ ।
बेलवासेका कविताहरू सरल, सहज र प्रवाहमय भाषामा लेखिएका हुन्छन् । उनको भाषा आमपाठकले सजिलै बुझ्नसक्ने र भावनात्मक रूपमा जोडिनसक्ने हुन्छ । उनले नेपाली भाषाको लालित्य र संगीतमयतालाई कुशलतापूर्वक प्रयोग गरेका छन् ।
उनको कवितामा मानवीय भावनाहरू, जस्तै प्रेम, करुणा, पीडा र आशा गहिरोसँग व्यक्त गरिएका छन् । उनले साना–साना कुराहरूमा पनि गहिरो अर्थ खोज्ने प्रयास गरेका छन् । उनले आफ्नो लेखनमा रैथाने नेपालीको मौलिक जीवन, परम्परागत मूल्य, र सामाजिक रीतिरिवाजलाई सुन्दर ढंगले समेटेका छन् ।
ठाकुर बेलवासेजीको नवप्रकाशित कृति (कवितासंग्रह) ‘चोटहरूको उत्सव’ अध्ययन गर्ने अवसर पाएँ । यसमा समेटिएका अधिकांश कविताहरू जीवनको प्रेमरससँग सम्बन्धित छन् । जीवनमा प्रेमको महत्व र यसको गाम्भीर्यतालाई यति सरल हिसाबले बुझाउन सकेकोमा उनको प्रशंसा नगरी बस्न सकिनँ । नेपाली समाजले प्रेमलाई व्यावहारिक जीवनभन्दा अलि माथि राख्दै आयो । नेपाली समाजले प्रेमलाई लेनदेनको विषय ठानेन; केवल दिने मात्र विषय ठान्यो । लेनदेन त व्यापार हो तर प्रेममा दिनेवाहेक लिने सोचसमेत हुँदैन । यो यति उच्चकोटीको भावनात्मक सोच हो कि यसको अगाडि सम्पूर्ण विषयबस्तु तुच्छ हुन्छन् ।
ठाकुरले आफ्ना अघिल्ला ३ वटा कविताकृतिबाट वैचारिक र विद्रोही कविका रूपमा आफ्नो परिचय बनाएका थिए । यो कृतिलाई प्रेम विषयमा लेखिएको कविता कृति भनिए पनि उनले यसमा पनि प्रेमको गहिरो बहस गरेका छ्न । र प्रेम कवितामा पनि उनले वैचारिक बन्न छोडेका छैनन् । कवितामार्फत उनले प्रेम जीवनको बहस गरेका मात्रै छैनन् । प्रेमभित्रको छालछाम अनि त्यागको कलात्मक रूपमा चर्चा गरेका छन् । उनका यी कविताले कोरा प्रेमको कुरा नगरी प्रेमको दर्शन र प्रेमको परिभाषालाई भिन्न ढंगले पुनर्परिभाषित गरेका छन् ।
नारीलाई प्रेमको मूल स्रोतका रूपमा व्यख्या गरेका यी कविताले प्रेमको हल्का सतही सम्बन्धभन्दा पनि प्रेमको चौडाइ र गहिराइको कुरा गरेका छन् ।
कविताहरू वियोगान्तमा टुंगिन्छन् । तर ती वियोगान्त जीवनका असाध्यै प्रेमिल चोटहरू हुन, जसले जीवनमा उत्सव थपिदिन्छ ।
नारी नभएका भए प्रेम हुँदैन थियो, भन्ने जिकिर गर्ने कवि बेलवासेले यो कृतिमार्फत नारीको अनुष्ठान गरेका छन् । प्रेमलाई सम्पूर्ण ठान्ने ठाकुरको कविताकृति ‘चोटहरूको उत्सव’ नेपाली प्रेम कविताको एउटा महत्वपूर्ण कृतिका रूपमा रहने छ ।
मानवसभ्यताको उच्चतम विषय प्रेमलाई सर्वसाधारणले बुझ्नसक्नेगरी सरल हिसाबले प्रस्तुत गरिदिएकोमा कवि ठाकुर बेलवासे धन्यवादको पात्र बनेका छन् ।
प्रतिक्रिया