काठमाडाैँ । ‘जनै हराएको मान्छे, सम्बन्धका धागाहरू’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर रहेको छ । साथै अर्जुनलाई स्वरमा मनिषा सुनारले साथ दिएकी छन् ।
गीतमा विभिन्न आरोह र अवरोह प्रस्तुत गरिएको छ । गीतले चलचित्रको सार बोलेको छ । गीतको भिडिओमा चलचित्रले मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरलाई समेटेको छ ।
यस मार्मिक गीतले आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौँ आएको बताउँछ । घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौँ सहज र सरल होला भन्ने आममान्छेले सोचेको हुन्छ, काठमाडौँ भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ । आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौँमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ ।
आफूले काठमाडौँमा पैसा कमाउन नसकेपछि समय पनि रोकिदिए हुन्थ्यो भन्ने र बिरामी आमालाई चाँडै नलैजा है भनेर कालसँग बिसाएको बिन्ती पनि गीतमा छ । आमाको आयु बढाउन गरेको आग्रहले मन भावुक बनाउँछ ।
गीतको भिडिओमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ । यो चलचित्र भदौ ६ गते रिलिज हुनेछ ।
विजय बराल यस चलचित्रको मुख्य कलाकार हुन् । छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत–३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा विजय बरालसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवाससिंह ठकुरी लागायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
प्रतिक्रिया