मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन् ? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।

म्याग्दी । ७५ वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको ३ वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले ८ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले ३ दिन राष्ट्रिय उत्सव मनाएको थियो ।

८ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताए । ‘मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, उनले भने, ‘अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।’

प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तर्सम्बन्ध छ । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरूको भनाइ छ । जुन पुस्तक विश्वमा धेरै प्रति बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए ।

‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए’, हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, ‘हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन् ? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।’

३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।

भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर जन्मथलो फर्किएका उनले फ्रान्समा पनि राम्रो उपचार नभएपछि अमेरिका पुगेर कृत्रिम हातखुट्टा राख्नुपरेको थियो । तत्कालीन लगत्तै प्रधानमन्त्री मोहनशमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, के हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन् ।

हर्जोगको टोली अन्नपूर्ण चढ्न २५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । पर्यटन विभागका अनुसार हालसम्म ५३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन् ।

प्रथम आरोहीको नाममा पदमार्ग

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए ।

‘दुई दशकअघिसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ जाने पदमार्गको पहिचान भएको थिएन’, उनले भने, ‘पदमार्ग पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम गरेपछि पछिल्लो २ वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग गुल्जार बनेको छ ।’

कास्की र म्याग्दीका २ वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । २ दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

पदमार्गको स्तरोन्नति, खोलामा झोलुंगे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया