उत्खननको पर्खाइमा तामाखानी

बागलुङ । नेपालकै २२ ठुला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ ।
तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको छैन । जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको जानकारी दिए ।

‘बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो’, स्थानीय वृद्ध श्रीसले भने, ‘पाखैभरि तामा खनेका डोबहरू छन्, ४ देखि ५० मिटरसम्मका सुरुङ अझै छन्, हामी सुरुङमा हिँडेका छौँ, तर कतिपय सुरुङ मेटिन थालेका छन्, पहिराले पुरिएको अवस्था छ, उत्खननमा सरकारले जोड दिन आवश्यक छ ।’

बागलुङको राङ्खानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वाल छन् । जसमध्ये केही सुरुङका प्वाल मेटिन थालेका छन् । राङ्खानीको डाँडाखानीलगायत क्षेत्रमा १२० वर्षभन्दा अघिसम्म उत्खनन गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन ।

तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले बताए । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उनको भनाइ छ । अहिले पनि तामाका अवशेष रहेकाले यहाँको सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने स्थानीय बताउँछन् ।

खानीबाट स्थानीयवासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकामा पछिल्लो प्रविधिको विकासले ठूलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए । यहाँका खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले यहाँ ठुलो मात्रामा तामा रहेको अनुमान गरिएको छ ।

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले संघीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाको भनाइ छ । जैमिनी नगरपालिकाले दमेक र राङ्खानी क्षेत्रमा खानीको सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङ्खानी राखिएको भन्ने चलन छ । तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रको खानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि एकिन तथ्यांक आउन सकेको छैन ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुंगाखानी पनि छन् । ढुंगाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुन सकेका छैनन् ।

प्रतिक्रिया