म्याग्दी । अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मंगलबार अन्नपूर्ण आधार शिविरमा निर्मित सालिक ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुुजाले अनावरण गरे । अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो ।
उक्त स्थानमा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्रसहित रहेको खुल्ला संग्रहालय पनि स्थापना भएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो ।
आरोही कल्याणकारी कोष स्थापना गरिने
महोत्सवकै अवसरमा मंगलबार अन्नपूूर्ण गाउँपालिकाले नारच्याङमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताएका छन् ।
‘पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ’, मन्त्री पाण्डेले भने, ‘पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।’ आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरूको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेको भनाइ थियो ।
गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको विषय संघीय मन्त्रिपरिषद्बाट अनुुमोदन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया