सबै नेपालीले मतदान गर्न सक्ने व्यवस्था गरौँ

रामहरी बाजे

नेपालको जनसंख्या ३ करोड भनिन्छ । तर मतदानमा सहभागी हुने अधिकारबाट धेरै युवालाई वञ्चित गरिएको छ । देशको अर्थतन्त्रको संरक्षक खम्बाको रूपमा रहेको युवाले पठाएको रेमिट्यान्सले नै आजको कथित लोकतान्त्रिक नेताहरूको चुरीफुरी बढेको छ तर तिनैलाई नै मत अधिकारबाट वञ्चित गरिएको छ ।
रेमिट्यान्स नआए देश धानिँदैन । तर, जसले देश धानेका छन्, उनीहरूले नै मतदानको अवसर नपाउनु भनेको ठुलो विडम्वना हो । यसैगरी अर्को युवाजमातले आर्मी, प्रहरी र कर्मचारीका रूपमा देशलाई योगदान दिइरहेको छ । तर, यो वर्गले समेत मतदानको अधिकार पाएको छैन । लाखौँ युवाहरूलाई मतदानको अधिकारबाट किन वञ्चित गरियो ? यहाँ शंका गर्ने ठाउँ छ ।

प्रष्टै छ यी सबै युवालाई पार्टीका नेताहरूले भ्रष्टाचारको रकमले किन्न सक्दैनन्, किनकी युवहरूमा स्वावलम्बन छ । आगामी चुनावमा ती सबैलाई ‘डिजिटल्ली’ भोट हाल्ने गरी साइबर मतदानको सुविधा दिइएन भने हाम्रो लोकतन्त्र यसरी नै सिन्डिकेटले जकिडिइरहने छ । त्यसैले चुनाव बहिष्कार आन्दोलन गरेर पनि मत अधिकार लिनैपर्छ ।

डिजिटलमार्फत लाखौँ करोडौँको लेनदेन विश्वभरी हुन्छ त्यही प्रणालीबाट मतदान गर्न नहुने कुरा कुन पुराणमा लेखेको छ ? सिंगै सचेत वर्गलाई कुण्ठित पारेर पञ्चायती नेताले जस्तै जीवनभरी राज्य गर्ने हो भने अर्बौं खर्च गरेर यो चुनावरूपी कठपुतली नाच किन गर्नु ? राणाकालीन १७ भाइको जस्तै रोलक्रममा सत्ता चलाए भइहाल्छ नी । ढकुटीको नास गर्नुभन्दा त्यो रकमबाट शिक्षा र कृषिमा लगानी गरे भविष्य राम्रो हुनेछ ।

आजको जनता २०१५ सालको जस्ता छैनन् । गाउँभरीको भोट सबै जिम्मुवाल, थरि वा मुखियाबाहरूले हालेर दुईतिहाइ ल्याएको सपना बिर्सनु उचित हुन्छ । डिजिटल युगअनुसार ऐन कानुन बनाउने विज्ञहरू धेरै भइसकेका छन् । जबरजस्ती चलाउने सपना कसैले पनि नदेखे हुन्छ ।

साच्चै राजनीति गर्ने हो भने भ्रष्टहरूले सार्वजनिक मञ्चबाटै क्षमायाचना गरेर आ–आफ्ना कु–कर्मको पश्चात्ताप गरेर कालो धन सम्पत्ति राष्ट्रको नाममा दिएर सुवर्ण शमशेरले जस्तै राजनीति गरेर आ–आफ्नो नामको अगाडि एउटा दुईटा श्री थप्नु अथवा व्याधाबाट बाल्मीकि बनेर यो लोक र परलोक समेतलाई आदरणीय बन्ने मौका आएको छ ।

तपाईंहरूले आँखामा पट्टी बाँधेर तराजु समातेकी हजुरआमाको निर्णयबाट छुटकारा पाइरहेपछि नेपाली मात्र होइन संसारले नै को को अनैतिक कमाइले मोटाएका छन् भनेर चिनिसके । मौका चुनावसम्म मात्र छ । सुध्रेर नाम कमाउने खेती तिर लागौँ ।

रामहरी बाजे

विदुर–४ नुवाकोट

०००

झोलेहरूलाई मात्रै अघि सारेर पार लाग्दैन

निरन्तर र निर्णायक भन्दै राजावादीद्वारा १५ जेठदेखि सुरु गरिएको आन्दोलन तुहिएको विश्लेषण धेरैले गरेका छन् । गत १५ चैत तीनकुनेमा आयोजित विरोध प्रदर्शन हिंसात्मक बनेपछि करिब २ महिना लामो गृहकार्य गरेर राजावादीहरूले १५ जेठदेखि आन्दोलन छेडेका थिए । तर, आन्दोलनमा जनसहभागिता देखिएन ।
तुहिँदै गएको आन्दोलनको विषयमा समीक्षा गरी भावी रणनीति तय गर्न गत बुधबार काठमाडौँको एक होटलमा भएको बैठकमा राजावादी समूहबीचको झगडा युट्युबमा छताछुुल्ल भएको छ । आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले राखेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुनु र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि हुटिङ हुनु रहस्यमय छ । होहल्ला भएर कार्यक्रम नै अगाडि नबढेपछि सुवेदीले अर्को दिन अझै राम्रा कार्यक्रम ल्याउने भन्दै बैठक स्थगित गरे ।

अब वर्षा लागिसक्यो । आन्दोलनका लागि ल्याइएका कार्यकर्ताहरू गाउँ फर्किइसकेका छन् । त्यसैले आगामी हिउँदसम्मका लागि राजावादी आन्दोलन टरेको विश्लेषण धेरैले गरेका छन् । तर पूर्वराजा ज्ञानेन्द्र शाह वा उनको परिवारका कोही न कोही सदस्यहरू सडकमा आउने हो भने आन्दोलनको माहौल फेरि सुरु हुने आँकलन धेरैको छ ।

जसरी गणतन्त्र स्थापना गर्ने आन्दोलनका बेला गिरिजाप्रसाद कोइराला स्वयं सडकमा उत्रेका थिए, त्यसरी नै राजतन्त्र स्थापना गर्ने आन्दोलनमा ज्ञानेन्द्र शाह आफँै सडकमा उत्रनु उपयुक्त हुन्छ । झोलेहरूलाई मात्रै अघि सारेर पार लाग्दैन भन्ने कुरा ज्ञानेन्द्रले बुझुन् ।

हिक्मत विक्रम हमाल, चन्दननाथ जुम्ला

प्रतिक्रिया