नेपालका कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगट्ने २० देखि ४० वर्ष उमेर समूहका प्रविधिमैत्री युवाहरू जसको ९० प्रतिशतभन्दा बढी इन्टरनेट पहुँच छ, नियो बैंकका लागि मुख्य ग्राहकवर्ग बन्न सक्छन् ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नेपाल सरकारले डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्दै नियो बैंकको स्थापना गर्ने महत्वाकांक्षी पहल घोषणा गरेको छ । यो नयाँ बैंकिङ मोडलले परम्परागत बैंकिङ प्रणालीभन्दा फरक तर प्रविधिमैत्री र समावेशी सेवा प्रदान गर्नेछ । नेपालमा वित्तीय पहुँच विस्तार गर्ने, डिजिटलाइजेसनमा तीव्रता ल्याउने र युवा उद्यमशीलतालाई सशक्त बनाउन नियो बैंकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस लेखमा नियो बैंकको अवधारणा, यसको सम्भावित प्रभाव र नेपालमा यसको सफल कार्यान्वयनका लागि आवश्यक नीति तथा चुनौतीहरूको समीक्षा गरिएको छ ।
के हो नियो बैंक ?
नियो बैंक भनेको डिजिटल–केन्द्रित वित्तीय कम्पनी हो जसले बैंकिङ सेवाहरू जस्तै चल्ती खाता र डेबिट कार्डहरू प्रदान गर्दछ तर यसको कुनै भौतिक शाखा हुँदैन । ‘नियो बैंक’ शब्दलाई प्रायः ‘फिनटेक बैंक’, ‘च्यालेन्जर बैंक’, वा ‘डिजिटल बैंक’कै अर्थमा प्रयोग गरिन्छ । नियो बैंकको मुख्य उद्देश्य ग्राहक–केन्द्रित, पूर्णतया डिजिटल ढाँचामा वित्तीय सेवाहरू प्रदान गरेर बैंकिङ प्रक्रियालाई सरल बनाउनु हो ।
नियो बैंक भनेको परम्परागत बैंकका भौतिक शाखा नभएको, पूर्णतया मोबाइल एप वा वेबसाइटमार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्था हो, जसले ग्राहकलाई २४सै घण्टा, जुनसुकै स्थानबाट सेवा लिनसक्ने सुविधा प्रदान गर्छ । भौगोलिक सीमाविहीन पहुँच, कम सञ्चालन खर्च र एआई तथा डेटा एनालिटिक्सजस्ता उन्नत प्रविधिको प्रयोगमार्फत नियो बैंकले कम शुल्क, आकर्षक ब्याजदर, कागजविहीन र छिटो सेवा दिन्छ । यसले नयाँ वित्तीय उत्पादन विकासमा तीव्रता ल्याउँदै, दूरदराजका समुदायलाई समेत सेवा पु¥याउने गरी समावेशी वित्तीय प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।
किन लोकप्रिय बन्दैछन् नियो बैंक ?
नियो बैंकहरू आफ्नो ग्राहक–केन्द्रित र प्रविधि–सञ्चालित दृष्टिकोणका कारण वित्तीय क्षेत्रमा तीव्र गतिमा लोकप्रिय भएका छन् । यी डिजिटल बैंकहरूले भौतिक शाखाको आवश्यकतालाई हटाएर ग्राहकहरूलाई जुनसुकै बेला, जहाँबाट पनि मोबाइल एप र वेबसाइटमार्फत सहजै वित्तीय कारोबार गर्न दिन्छन् । यसले गर्दा बैंकिङ प्रक्रिया निकै सहज र सुविधाजनक बन्न पुगेको छ । भौतिक पूर्वाधार र कर्मचारी खर्च कम हुने भएकाले नियो बैंकहरूले ग्राहकहरूलाई कम शुल्क र आकर्षक ब्याजदर प्रदान गर्न सक्छन्, जसले गर्दा यो आर्थिक रूपमा बढी लाभदायक विकल्प बनेको छ ।
साथै, नियो बैंकहरूले वित्तीय समावेशितामा महत्वपूर्ण भूमिका खेल्छन् । उनीहरूले परम्परागत क्रेडिट स्कोरको सट्टा प्रविधि र वैकल्पिक डेटा (जस्तैः घरभाडा भुक्तानी, बिलहरू) प्रयोग गरेर ऋण तिर्न सक्ने क्षमताको विश्लेषण गर्छन्, जसले गर्दा पहिले बैंकको पहुँचमा नभएका वा सीमित क्रेडिट इतिहास भएका व्यक्तिहरूलाई पनि क्रेडिट कार्ड र ऋण उपलब्ध गराउन मद्दत पुगेको छ । यी बैंकहरूले बजेट बनाउने उपकरण, खर्च विश्लेषण र तत्काल सूचनाहरू जस्ता उन्नत सुविधाहरू आफ्नो एपमा एकीकृत गरी सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छन्, जसले ग्राहकहरूलाई लामो समयसम्म जोडेर राख्छ । संक्षेपमा भन्नुपर्दा, नियो बैंकहरूले परम्परागत बैंकिङका कमजोरीहरूलाई सम्बोधन गरी बढी सुविधाजनक, किफायती, समावेशी र प्रविधिमा आधारित वित्तीय अनुभव प्रदान गर्ने भएकाले लोकप्रियता हासिल गरेका छन् ।
नियो बैंकले कसरी काम गर्छन् ?
नियो बैंकहरूले अनलाइन प्लेटफर्म वा मोबाइल एपमार्फत पैसा व्यवस्थापन र वित्तीय सेवाहरू प्रदान गरेर काम गर्छन् । परम्परागत बैंकहरूले अनलाइन र भौतिक उपस्थिति दुवैबाट विभिन्न प्रकारका वित्तीय सेवा प्रदान गर्ने गर्छन् भने नियो बैंकले प्रायः चल्ती खाता र बचत खाताजस्ता आधारभूत बैंकिङ सेवाहरू मात्र प्रदान गर्छन् । यद्यपि, उनीहरूको बजार हिस्सा बढ्दै जाँदा नियो बैंकहरूले प्रदान गर्ने सेवाहरूको संख्या पनि बढेको छ । परम्परागत बैंकहरूले सामान्यतया चल्ती तथा बचत खाता, गाडी कर्जा, घर कर्जा, क्रेडिट कार्ड र लगानी खातासहित विभिन्न वित्तीय सेवाहरू प्रदान गर्छन् । नियो बैंकहरूले भने कम वा शून्य शुल्कमा सेवाहरू प्रदान गरेर र वित्तीय स्वास्थ्यको सुरक्षाका लागि उपकरणहरू (जस्तै, निःशुल्क ओभरड्राफ्ट सुरक्षा) उपलब्ध गराएर आफूलाई परम्परागत बैंकहरूभन्दा फरक देखाउँछन् । यी उपकरणहरूमा निःशुल्क ओभरड्राफ्ट सुरक्षा, पियर–टु–पियर पैसा स्थानान्तरण, तलबमा छिटो पहुँच, क्रेडिट निर्माणका वैकल्पिक तरिकाहरू र वित्तीय शिक्षाका उपकरणहरूजस्ता सुविधाहरू पर्छन् ।
नियो बैंकहरूले आफ्नो आम्दानी मुख्यतया इन्टरचेन्ज शुल्कबाट गर्छन्, जुन ग्राहकले उनीहरूको कार्ड प्रयोग गरी कारोबार गर्दा व्यापारीहरूले तिर्ने शुल्क हो । ‘भारो’ जस्ता नियो बैंकले यसै शुल्कबाट आफ्नो आम्दानीको ९८ प्रतिशत हिस्सा प्राप्त गर्छ । भौतिक शाखा नहुने भएकाले उनीहरूको सञ्चालन खर्च निकै कम हुन्छ जसले गर्दा उनीहरू इन्टरचेन्ज शुल्कमा बढी निर्भर हुन सक्छन् ।
इन्टरचेन्ज शुल्कबाहेक, नियो बैंकहरूले कारोबार शुल्क, सदस्यता शुल्क र ऋणमा ब्याजजस्ता विभिन्न स्रोतहरूबाट पनि आम्दानी गर्छन् । यद्यपि धेरैले खाताका लागि शुल्क लिँदैनन्, केही नियो बैंकहरूले बैंक स्थानान्तरण वा एटिएमबाट पैसा निकाल्दा थोरै शुल्क लिन सक्छन् । साथै, ऋण र क्रेडिट कार्ड उपलब्ध गराउने नियो बैंकहरूले त्यसबाट प्राप्त हुने ब्याजलाई पनि आम्दानीको स्रोत बनाउँछन् । फरक–फरक नियो बैंकको आम्दानी गर्ने मोडल फरक हुने भएकाले शुल्कहरू पनि फरक–फरक हुन्छन् तर कम सञ्चालन खर्चका कारण उनीहरूलाई सफल हुन परम्परागत बैंकहरूको तुलनामा कम आम्दानी भए पुग्छ ।
नेपालमा नियो बैंकको सम्भावना
सरकारले आव २०८२/०८३ भित्र नियो बैंक स्थापना गर्ने नीति लिएको छ भने नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ संरचनाको तयारी गरिरहेको सन्दर्भमा नियामक स्पष्टता पनि विस्तार हुँदै छ । नेपालमा नियो बैंकको व्यापार आकार र सम्भावित ग्राहकको दायरा निकै व्यापक र सम्भावनायुक्त देखिन्छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार अझै पनि करिब १८ प्रतिशत नागरिक कुनै पनि बैंक वा वित्तीय संस्थामा आबद्ध छैनन्, जसले वित्तीय समावेशिताको ठूलो अवसर देखाउँछ । नेपालका कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगट्ने २० देखि ४० वर्ष उमेर समूहका प्रविधिमैत्री युवाहरू जसको ९० प्रतिशतभन्दा बढी इन्टरनेट पहुँच छ, नियो बैंकका लागि मुख्य ग्राहकवर्ग बन्न सक्छन् ।
साथै, करिब ९ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू (एसएमइज) ले नियो बैंकबाट विशेष डिजिटल खाता, ऋण र सहज भुक्तानी सेवाबाट प्रत्यक्ष लाभ लिन सक्छन् । विदेशबाट आउने रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सहज र पारदर्शी रूपमा व्यवस्थापन गर्न र विस्तार हुँदै गएको ई–कमर्स व्यवसायसँग सहकार्य गरी डिजिटल भुक्तानी प्रणालीलाई सरल बनाउन नियो बैंकले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसका अतिरिक्त, नियो बैंकले बचत/चल्ती खाता, डिजिटल ऋण, रेमिट्यान्स सेवा, भुक्तानी सुविधा, बजेटिङ र खर्च ट्रयाकिङ, माइक्रोफाइनान्सियल सेवा, बिमा सेवा, ओपन एपिआई र भर्चुअल डेबिट/क्रेडिट कार्डजस्ता सेवा प्रदान गर्न सक्नेछ जसले समग्र डिजिटल वित्तीय पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउनेछ ।
नियो बैंक सञ्चालनबाट हुने परिवर्तन
नियो बैंकको स्थापनाले नेपालको वित्तीय क्षेत्रमा धेरै पक्षमा गहिरो र दूरगामी परिवर्तन ल्याउने सम्भावना छ । यी परिवर्तनहरूले वित्तीय पहुँचदेखि प्रविधिगत विकाससम्मका विभिन्न आयामहरूलाई समेट्छन् ।
सबैभन्दा पहिले, नियो बैंकले नेपालको वित्तीय समावेशितामा क्रान्ति ल्याउनेछ । भौतिक शाखाविहीन नियो बैंकहरूले मोबाइलमार्फत दूरदराजका क्षेत्रमा समेत सेवा विस्तार गर्न सक्छन् । यसले विशेषगरी महिला, युवा र ग्रामीण समुदायलाई वित्तीय प्रणालीमा जोड्न मद्दत गर्छ । दोस्रो, यी बैंकहरूले सस्तो, सरल र छिटो सेवा प्रदान गर्नेछन् । शाखाविहीन मोडलका कारण सञ्चालन खर्च कम हुने हुँदा त्यसको लाभ ग्राहकहरूलाई कम शुल्क र आकर्षक ब्याजदरका रूपमा मिल्नेछ । डिजिटल प्रक्रियाले लाइन बस्नुपर्ने झन्झट हटाउँदै सेवालाई तीव्र र पारदर्शी बनाउनेछ ।
तेस्रो, नियो बैंकले फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । ओपन एपिआईमार्फत अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्न सक्ने क्षमताले बजेटिङ टुल, स्वचालित बचत, डिजिटल ऋण र भर्चुअल कार्डजस्ता नयाँ तथा उन्नत सेवाहरूको विकासको सम्भावनालाई बढाउँछ । चौथो, यसले ई–कमर्स र रेमिट्यान्स व्यवस्थापनमा सुधार ल्याउनेछ । नियो बैंकहरूले ई–कमर्स प्लेटफर्महरूसँग मिलेर सहज भुक्तानीको वातावरण सिर्जना गर्नेछन्, साथै डिजिटल रेमिट्यान्स सेवामार्फत वैदेशिक आयको पारदर्शी प्रवाह सुनिश्चित गर्नेछन् । पाँचौँ, नियो बैंकको सफलताका लागि ग्राहक शिक्षामा जोड दिनुपर्ने भएकाले यसले समग्र डिजिटल वित्तीय साक्षरताको विस्तारमा सहयोग पु¥याउनेछ ।
छैटौँ, नियो बैंकको आगमनले परम्परागत बैंकहरूमा प्रतिस्पर्धा बढाउँछ जसले गर्दा उनीहरू पनि आफ्नो सेवाको गुणस्तर, प्रविधि र ग्राहक अनुभव सुधार्न बाध्य हुनेछन् । सातौँ, नयाँ प्रविधिमा आधारित सेवाको आवश्यकताले नेपाल राष्ट्र बैंकलाई नयाँ नियमन, ई–केवाइसी प्रणाली र साइबर सुरक्षाका आधुनिक मापदण्डहरू विकास गर्न प्रोत्साहित गर्नेछ, जसले वित्तीय क्षेत्रको समग्र नियमनमा आधुनिकीकरण ल्याउँछ । आठौँ, नियो बैंकको स्थापनाले आइटी, डेटा एनालिटिक्स र साइबर सुरक्षाजस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्नेछ, जसले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ ।
रणनीतिक र समन्वित नीतिहरू
नियो बैंकको सफल स्थापनाका लागि सरकार र नियामक निकायहरूले रणनीतिक र समन्वित नीतिहरू अवलम्बन गर्न आवश्यक छ ।
पहिलो, वित्तीय समावेशितालाई प्राथमिकता दिँदै बैंकिङ पहुँचविहीन क्षेत्रहरूमा इन्टरनेट र मोबाइल नेटवर्क विस्तार गर्नुपर्छ, साथै महिला, युवा र पछाडि परेका समूहहरूका लागि डिजिटल साक्षरता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
दोस्रो, नियामकीय र कानुनी संरचना विकास गर्दै नियो बैंकका लागि छुट्टै नियमन, डिजिटल सुरक्षा र गोपनीयताका मापदण्ड तय गर्नुपर्छ र ई–केवाइसी प्रक्रिया डिजिटलरूपमा सहज बनाइनुपर्छ ।
तेस्रो, प्रविधिमा लगानी र नवप्रवर्तनलाई प्रोत्साहन दिँदै ओपन एपिआई फ्रेमवर्क निर्माण गर्न, फिनटेकसँग सहकार्य गर्न तथा नयाँ डिजिटल सेवामा अनुसन्धान र विकासलाई कर छुट वा अनुदान दिन सकिन्छ ।
चौथो, उपयोगकर्ता शिक्षामा जोड दिँदै डिजिटल बैंकिङ सेवा प्रयोग र सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न सार्वजनिक–निजी साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ ।
पाँचौँ, साइबर सुरक्षा र डेटा संरक्षणमा विशेष ध्यान दिँदै कडा सुरक्षा मापदण्ड अपनाउनुपर्छ र डेटा उल्लंघनमा कडा कारबाहीको व्यवस्था गर्नुपर्छ ।
छैटौँ, सशक्त प्रतिस्पर्धा र नवप्रवर्तन वातावरण सिर्जना गर्न नियो बैंकलाई उचित बजार पहुँच दिलाउने नीति बनाइनुपर्छ भने परम्परागत बैंकलाई डिजिटलरणमा प्रोत्साहन दिन प्राविधिक सहयोग र अनुदानको व्यवस्था गर्नुपर्छ ।
सातौँ, नियो बैंकले अर्थतन्त्रमा पार्ने प्रभावको मूल्यांकन नियमित गर्नुपर्छ र सुधारका लागि फिडब्याक प्रणाली सुदृढ गर्नुपर्छ ।
आठौँ, उच्चगतिको इन्टरनेट पहुँच सुनिश्चित गर्न टेलिकम प्रदायकहरूसँग सहकार्य गर्दै डिजिटल उपकरणहरूको पहुँचमा समानता ल्याउन नीति बनाइनुपर्छ । नवौँ, नयाँ रोजगारी सिर्जना र दक्ष जनशक्ति विकासका लागि आइटी, डेटा एनालिटिक्स र साइबर सुरक्षामा तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ जसमा विश्वविद्यालय, प्राविधिक संस्था र निजी क्षेत्रको सहकार्य आवश्यक हुन्छ । यी सबै नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा नियो बैंकले नेपालको वित्तीय प्रणालीलाई समावेशी, पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाउँदै आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
चुनौती
नेपालमा नियो बैंकको अवधारणाले वित्तीय प्रणालीमा नवीनता ल्याउने सम्भावना बोकेको भए पनि यसको सफल कार्यान्वयनमा विभिन्न चुनौती छन् । पहिलो, प्रविधि पूर्वाधारको अभाव मुख्य समस्या हो, विशेष गरी ग्रामीण क्षेत्रमा इन्टरनेट र मोबाइल कनेक्टिभिटी कमजोर छ । दोस्रो, डिजिटल साक्षरताको कमीका कारण धेरै नागरिक, विशेष गरी वृद्ध र अशिक्षित वर्ग, डिजिटल सेवा प्रयोग गर्न असहज महसुस गर्छन् । तेस्रो, नियामक संरचनाको अस्पष्टताले गर्दा नियो बैंकको कानुनी आधार कमजोर देखिन्छ, किनकि विद्यमान कानुनहरू डिजिटल प्रणालीसँग पूर्ण रूपमा मेल खाँदैनन् ।
चौथो, साइबर सुरक्षा जोखिमले डेटा चोरी र अनलाइन ठगीको डर बढाउँछ, जुन पूर्ण डिजिटल प्रणालीमा झनै संवेदनशील हुन्छ । पाँचौँ, ग्राहक विश्वासको अभावका कारण धेरैले बिनाशाखाको बैंकलाई अझै विश्वास गर्न सक्दैनन् । छैटौँ, परम्परागत बैंकहरूसँगको सहकार्यको अभावले प्रतिस्पर्धा बढाएर नवप्रवर्तनको गति रोक्न सक्छ । सातौँ, वित्तीय समावेशिता अझै चुनौतीपूर्ण छ, किनभने भाषा, पहुँच र डिजिटल एपहरूको प्रयोग सहज छैन । आठौँ, सीपयुक्त जनशक्तिको अभावका कारण प्रविधि र वित्तमा दक्ष जनशक्ति उत्पादनमा कमी देखिन्छ । नवौँ, धितोबिना ऋण प्रवाहको जोखिमका कारण नाफा नहुने ऋण बढ्न सक्छ । १०औँ चुनौती नीति र कर प्रणालीको अन्योल हो, जसले लगानीकर्तालाई अनिश्चिततामा राख्छ । यी चुनौतीहरूको समाधानका लागि प्रविधि, नीति, साक्षरता र सहकार्यमा बहुआयामिक प्रयास आवश्यक छ ।
बहुपक्षीय र समन्वित पहल
यी सबै चुनौतीहरूको समाधानका लागि बहुपक्षीय र समन्वित पहल आवश्यक छ । पहिलो, प्रविधि पूर्वाधार सुदृढीकरणका लागि उच्चगतिको इन्टरनेट पहुँच देशभर विस्तार गर्न र मोबाइल नेटवर्कलाई ग्रामीण क्षेत्रमा सशक्त बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । दोस्रो, डिजिटल साक्षरता अभिवृद्धिका लागि विद्यालय, स्थानीय सरकार र सहकारीहरूसँग मिलेर डिजिटल बैंकिङसम्बन्धी तालिम तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । तेस्रो, नियामकीय संरचना स्पष्ट पार्नेतर्फ सरकार र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा नियो बैंकका लागि छुट्टै कानुनी ढाँचा, ई–केवाइसी र साइबर सुरक्षा मापदण्ड तयार गर्नुपर्छ । चौथो, साइबर सुरक्षालाई बलियो बनाउनेतर्फ राष्ट्रिय साइबर सुरक्षा नीति कार्यान्वयन गर्दै नियो बैंकहरूलाई नियमित सुरक्षा अडिट, डेटा इनक्रिप्सन र जोखिम मूल्यांकन अनिवार्य गरिनुपर्छ । पाँचौँ, ग्राहक विश्वास निर्माणका लागि उपयोगकर्तामैत्री एप, प्रभावकारी ग्राहक सेवा, तथा बैंक ग्यारेन्टीजस्ता सुरक्षात्मक प्रबन्ध आवश्यक छन् ।
छैटौँ, परम्परागत बैंक र नियो बैंकबीच सहकार्य प्रवद्र्धन गर्न ओपन एपिआई नीति र डेटा साझेदारी संयन्त्र निर्माण गर्नुपर्छ । सातौँ, वित्तीय समावेशिताका लागि स्थानीय भाषामा आधारित एप, सस्तो स्मार्टफोन पहुँच र सहज प्रयोग हुने डिजाइन आवश्यक छन् । आठौँ, सीपयुक्त जनशक्ति विकासका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय र निजी क्षेत्रबीच सहकार्य गरी एआई, फिनटेक, साइबर सुरक्षाजस्ता क्षेत्रमा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ। नवौँ, धितोबिना ऋण प्रवाहको जोखिम न्यूनीकरणका लागि डिजिटल क्रेडिट स्कोर प्रणाली विकास गरी वैकल्पिक डाटा प्रयोग गर्न सकिन्छ । १०औँ उपायका रूपमा नीति र कर प्रणाली स्पष्ट पार्नेतर्फ स्टार्टअपमैत्री कर नीतिहरू, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने छुटहरू र लगानी मैत्री कानुनी परिवेश निर्माण गर्नुपर्छ । यी समाधानहरूले नियो बैंकको सम्भावना व्यवहारमा परिणत गर्न सहयोग पु¥याउनेछन् ।
अन्त्यमा, नियो बैंकको स्थापना नेपालमा वित्तीय क्षेत्रलाई डिजिटल युगमा प्रवेश गराउने एउटा महत्वपूर्ण कदम हो । आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकताका साथ समावेश गर्नुले आर्थिक समावेशिता बढाउने, युवाहरूलाई अवसर दिने र प्रविधिमैत्री बैंकिङ सेवा प्रवद्र्धन गर्ने दिशामा सकारात्मक संकेत दिएको छ । तर, सफल कार्यान्वयनका लागि समुचित नीति, प्राविधिक पूर्वाधार, जनचेतना र सुरक्षा मापदण्डहरूको आवश्यकता अपरिहार्य छ । यदि यी पक्षमा ध्यान दिइयो भने नियो बैंकले नेपालको आर्थिक विकास र डिजिटल रूपान्तरणमा नयाँ अध्याय थप्नेछ ।
(यादव आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यरत अधिकृत हुन् ।)
प्रतिक्रिया