नयाँ दिल्ली । ४ पटकको प्रयासमा रोयल च्यालेन्जर्स बंगलोर(आसिबी)ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । मंगलबार खेलिएको फाइनलमा आरसिबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको हो । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बंगलोरले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १८४ रन जोडेको हो ।
यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनिसकेका छन् ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । अविजित रहेका उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
जोश इङ्लिसले २३ बलमा १ चौका र ४ छक्कासहित ३९ रन बनाए । प्रभसिमरन सिंहले २२ बलमा २ छक्कासहित २६ रन बनाए । प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए । बंगलोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्डेले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले ९ विकेटको क्षतिमा १९० रन जोडेको हो । बंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । कप्तान रजत पाटीदरले १६ बलमा २६ रनको योगदान गरे । जितेस शर्माले १० बलमा २४ रन जोडे ।
कोहलीको महत्वपूर्ण कोसेढुंगा
१८ वर्ष लामो अवधिका सीमित ओभरको क्रिकेटमा सबैभन्दा धेरै सफल खेलाडीका लागि फ्रेन्चाइज लिगमा भने जस्तो सफलता मिलेको थिएन । सन् २००८ मा युथ क्रिकेटमा भारतले सफलता पाएकै वर्ष अहिलेको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज सुरु भएको हो ।
सोही समयदेखि अहिलेसम्म विराटको प्रदर्शन कमजोर थिएन । व्यक्तिगत रूपमा उनले थुप्रै सफलता पाएका थिए । आफ्नो टोली आरसिबीलाई बारम्बार फाइनल प्रवेश गराए पनि उपाधि जित्न नसक्नु विराटका लागि साँच्चै दुःखद् थियो । उनी टेस्ट क्रिकेटबाट टाढा भइसकेका छन् । सम्भवतः केही समयपछि सबै किसिमको अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा हुने छन् ।
यो सिजनसमेत आइपिएलको उपाधि जित्न नसकेको भए उनका लागि यो विषय जीवनभर खट्किने थियो । यस बीचमा उनले बंगलोरभन्दा बाहेक अन्य टोली रोजेनन् । आरसिबीले यसअघि पनि ३ पटक आइपिएलको फाइनल खेलेको थियो । सन् २००९ मा आरसिबीले डेक्कन चाजर्रसँग आरसिबी पराजित भएको थियो । यसैगरी सन् २०११ मा चेन्नई सुपर किङ्स तथा सन् २०१६ मा सनराइजर्स हैदरावादसँग हारेको आरसिबी चौथोपटक सफल भएको हो । यो सफलता सीमित ओभरका बादशाह कोहलीका लागि भने विशेष हो ।
प्रतिक्रिया