काठमाडौँ । भ्रष्टाचार गरेर नेपालबाहिर पुगेको पैसा स्वदेश फर्काउन सरकारले नै रोकेको खुलासा भएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जित ठुलो रकम विदेशमा रहेको रो रकम फर्काउन सरकारले नै तत्परता नदेखाएको खुलासा गरेका हुन् ।
प्रमुख आयुक्त राईले राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिदेसिएको रकम स्वदेश फर्काउन सहयोग मागे । अख्तियारको ३४औँ वार्षिक प्रतिवेदनमाथि छलफलका क्रममा प्रमुख राईले विदेशी मुलुकहरूसँग भ्रष्टाचारविरुद्ध आपसी कानुनी सम्झौता हुन नसक्दा पैसा फिर्ता ल्याउन नसकिएको बताएका हुन् ।
अख्तियारले पटक–पटक यस्तो द्विपक्षीय सम्झौताका लागि सरकारलाई आग्रह गरे पनि सरकारले चासो नदिएको उनको दाबी छ । पछिल्लो समय नेपालमा भ्रष्टाचारबाट आर्जित रकम बिचौलियामार्फत् विदेशमै लिने र उतै राख्ने गरिएको छ । यसरी विदेशी भूमि प्रयोग गरेर हुने घूस लेनदेनको रकम स्वदेश फिर्ता गर्न सम्बन्धित देश तयार भए पनि नेपाल सरकार आफैँ तयार नभएको तथ्य बाहिरिएको हो ।
‘हामीले अहिले पनि सिंगापुर, अमेरिका, युएईमा भएको पैसा ल्याउन सक्ने अवस्था छैन । द्विपक्षीय सम्झौता गरिदिनुप¥यो भनेर सरकारलाई भन्यौँ । तर, अहिलेसम्म पहल भएको छैन,’ उनले भने, ‘सिंगापुरले सम्झौता गर, तिमीहरूको भ्रष्टाचार भएको पैसा पठाइदिन्छौँ भनेको छ । सरकारले नै तत्परता देखाएन ।’
अख्तियार प्रमुख राईले भ्रष्टाचारको जरो अन्तर्राष्ट्रियकरण भएकोभन्दै नेपालका राजनीतिज्ञ र कर्मचारीले परिवारका सदस्य अथवा गैरआवासीय नेपालीलाई प्रयोग गरेर विदेशमा पैसा बुझ्ने गरेको आरोप लगाए । ‘आनन्दले रेमिट्यान्स आउँछ उताबाट । यहाँ यताको पैसा हो कि उताको, छुट्याउनै गाह्रो,’ उनले भने ।
प्रतिक्रिया