गभर्नर नियुक्तिमा प्रधानमन्त्रीकै अड्को

सत्तारूढ कांग्रेसको निष्कर्ष !

काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेस गभर्नर नियुक्ति प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अड्को थापेर ढिलाइ गरिरहेको निष्कर्षमा पुगेको छ । नेपाल राष्ट्र बैंकका कामुगभर्नर निलम ढुंगानाले डा.गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्नुमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको कांग्रेसका पदाधिकारीहरूको निष्कर्ष रहेको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकमा बोल्दै नेताहरूले नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले गभर्नर नियुक्तिको विषयमा प्रधानमन्त्री स्वयंले अड्को थापिरहेको भन्दै यस विषयमा कुनै पनि द्विविधामा नपर्न सभापति देउवालाई आग्रहसमेत गरेका छन् ।

गभर्नर नियुक्ति प्रक्रियामा प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप !

कांग्रेसका सभापति देउवासँग गरेको सहमति अनुरूप हालसम्म नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.गुणाकर भट्ट नियुक्ति नभएको भन्दै त्यसका बारेमा जवाफ दिन पदाधिकारीहरूले माग गरेका थिए । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने काठमाडौँ बाहिर भएकाले उपस्थित थिएनन् । बाँकी सबै पदाधिकारीहरू उपस्थित भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरूलाई बोलाइएको थिएन । तर नेताहरू कृष्ण सिटौला र शेखर कोइराला पनि बैठकमा उपस्थित रहेको जनाइएको छ ।

ती नेताका अनुसार उपस्थित सबै पदाधिकारीहरूले गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले षड्यन्त्र गरिरहेको भन्दै सचेत हुन सभापति देउवालाई आग्रह गरेका थिए । ‘डा.भट्टको राजीनामा स्वीकृत नहुनुमा प्रधानमन्त्री ओलीको प्रत्यक्ष हात रहेको छ । उनले नै भट्टलाई रोकिराखेका हुन् । यो विषयलाई हामीले नजरअन्दाज गर्नु हुँदैन ।’ सौर्य दैनिकसँग कुरा गर्दै ती पदाधिकारीले भने, ‘अबको केही दिनभित्रमा भट्टको नियुक्ति भएन भने एमालेसँगको सहकार्यको विषय पनि सोच्नुपर्ने हुन्छ । ओलीको धोकाधडीको राजनीति धेरै सहनु हुँदैन भन्ने कुरा हामीले राख्यौँ ।’

कांग्रेस पदाधिकारीहरू कार्यवाहक गभर्नर निलम ढुंगानाप्रति पनि खनिएका थिए । उनीहरूले ढुंगानाले राजीनामा रोक्नुका साथै रोक्ने विषयमा सार्वजनिक अभिव्यक्ति नै दिएको भन्दै उनीप्रति असन्तुष्टि व्यक्त गरे । ‘प्रधानमन्त्रीको निर्देशनमा ढुंगानाले पनि हामीविरुद्ध कदम चालिरहेकी छन् । यो विषयलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ’, कांग्रेस नेताहरूको कुरा थियो ।

गभर्नर कांग्रेसले नै पाउँछ – देउवा

सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक परिस्थितिहरूको बारेमा पार्टी पदाधिकारीहरूलाई जानकारी गराएका थिए । गभर्नर नियुक्तिको विषय छिट्टै टुंगिने उनको भनाइ थियो । बैठकमा उनले डा.गुणाकर भट्टको विकल्पमा अरू नै कोही अघि सार्नसक्ने संकेत गरेको अर्का एक नेताले बताए । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो कुरा भइरहेको भन्दै प्रधानमन्त्रीको इच्छाका कारण मात्रै नियुक्ति प्रक्रिया नरोकिएको उनले बताएका थिए । ‘गभर्नर छिट्टै नियुक्त हुन्छ र कांग्रेसले नै पाउँछ’, बैठकमा देउवाले भनेका थिए, ‘तर यो व्यक्ति भनेर चाहिँ अहिले टुंगिइसकेको छैन ।’

भट्टप्रति एमालेको अरुचि, कांग्रेसले अर्कै ल्याउने संकेत

कांग्रेसको सिफारिसमा परेका डा.भट्टप्रति एमाले पार्टी पंक्ति र प्रधानमन्त्री स्वयंको अरुची रहेको देखिएको छ । कांग्रेसलाई गभर्नर दिने सहमति भएपछि पनि प्रधानमन्त्रीले रोकेर राख्नुमा व्यक्तिगत रूपमा पनि भट्टप्रति अरुचि देखिएको कांग्रेसका नेताहरूको भनाइ छ । यो कुरा देउवालाई प्रधानमन्त्रीले भनिसकेको आशंका पनि नेताहरूले गरेका छन् । किनकी देउवाले बैठकमै गभर्नर कांग्रेसले नै पाए पनि व्यक्ति पक्का नभएको भनेर बताएका थिए । ‘सभापतिको भनाइको अर्थ भट्टबाहेक जो सुकैलाई कांग्रेसले सिफारिस गरे पनि गभर्नर नियुक्त गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ जस्तो छ, त्यसो हुँदा कांग्रेसले अरू कसैलाई सिफारिस गर्न पनि सक्छ’, सौर्य दैनिकसँग कुरा गर्दै अर्का १ नेताले भने ।

सरकारका काम, कारबाही बारे गृहमन्त्री लेखकको ब्रिफिङ

बैठकमा सरकारको काम, कारबाही बारे गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गरेका थिए । उनले गभर्नर नियुक्तिको विषय पेचिलो भएको बताए पनि अरू कसैप्रति लाञ्छित नगरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनले सरकारको काम, कारबाही राम्रैसँग भइरहेको भन्दै सरकारको बचाउ गरेका थिए ।

गठबन्धनको होइन, एमालेको सरकारजस्तो देखियो – सिटौला

बैठकमा बोल्दै नेता कृष्ण सिटौलाले सरकार गठबन्धनको भावनाअनुसार चल्न नसकेको बताए । कांग्रेस–एमाले लगायतको गठबन्धन सरकार भए पनि काम, कारबाहीमा एमाले मात्रै हाबी भएको उनको भनाइ थियो । कांग्रेसका मन्त्रीहरूले पनि आफ्नो ‘परफर्मेन्स्’ देखाउन नसकेको भन्दै उनले मन्त्रीहरूमाथि प्रश्न उठाएका थिए । ‘यो गठबन्धनको होइन एमालेको मात्रै सरकार भयो । कांग्रेस सम्मिलित सरकारजस्तो भएन ।’ सिटौलाको भनाइ थियो, ‘कांग्रेसका मन्त्रीहरूले पनि कुनै ‘परफर्मेन्स्’ देखाउन सकेनन् । काम, कारबाहीमा एमाले हाबी भयो । यसतर्फ गम्भीर हुनुपर्छ ।’

प्रतिक्रिया