काठमाडौँ । बालमन्दिर जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बालमन्दिरकी तत्कालीन अध्यक्ष सिंहसहित १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
तत्कालीन अध्यक्ष सिंहसहित उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल र प्रचण्डराज प्रधानविरुद्ध मुद्दा दर्ता भएको छ । त्यसैगरी, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको छ । उनीहरूसँग ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
उनीहरूविरुद्ध वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिमाना मागदाबी गरिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको काठमाडौँको नक्सालस्थित रहेको बाल मन्दिरको २८ रोपनी ५ आना सरकारी जग्गा भाडामा दिँदा भएको आर्थिक अनियमिततामा जोडिएपछि उनीहरूविरुद्ध लामो अनुसन्धानपछि मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया