बार्सिलोना । डानी ओल्मोले दोस्रो हाफको सुरुआतमै गरेको गोलसँगै बार्सिलोनाले मंगलबार मालोर्कालाई १–० ले पराजित गरेको छ । योसँगै बार्सिलोनाले स्पेनिस ला–लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको छ । मोन्टजुइक स्टेडियममा भएको यो जितपछि क्याटालान क्लब बार्सिलोना उपाधिको नजिक पुगेको छ । बार्सिलोना सन् २०२३ यता पहिलोपटक लिग उपाधि जित्ने लक्ष्यमा छ । अब ५ खेल बाँकी छन् ।
ओल्मोले खेलको दोस्रो हाफ सुरु भएको १ मिनेटमै पेनाल्टी क्षेत्रभित्रबाट निर्णायक गोल गरेका थिए । सो जित बार्सिलोनाको ला–लिगामा लगातार तेस्रो हो । बार्सिलोनाले कुल ४० प्रहार गरेको थियो । मालोर्काले जम्मा ४ प्रहार गरे पनि लक्ष्यमा थिएन ।
‘हामीले धेरै अवसर सिर्जना गर्यौं तर ती अवसरलाई सदुपयोग गर्न सकिएन’, बार्सिलोनाका मिडफिल्डर गाभीले भने, ‘फुटबलमा सधैँ सजिलोसँग गोल गर्न पाइँदैन । तर, हामीले प्रयास गरिरह्यौं र अन्ततः सफल भयौं, त्यही महत्वपूर्ण हो ।’ मालोर्काले पछिल्ला ९ खेलमा केबल २ वटा जित हात पारेको छ र टोली सातौँ स्थानमा यथावत छ । बार्सिलोना र रियल यस शनिबार सेभियामा कोपा डेल रेको फाइनलमा आमनेसामने हुनेछन् ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले टोलीमा केही परिवर्तन गरेका थिए । अन्सु फाती करिब ६ महिनापछि पहिलोपटक लिगमा सुरुआती खेलाडीको रूपमा मैदान उत्रिएका थिए । स्ट्राइकर रोबर्ट लेवान्डोस्की मांसपेशीको चोटका कारण अनुपस्थित थिए ।
‘हामीले उत्कृष्ट खेल्यौँ । खेलाडीहरूको प्रदर्शन देखेर खुसी लाग्यो’, गाभीले भने ।
जुनियरको भविष्य खतरामा
भिनिसियस जुनियर अहिलेको विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनले गत सिजन रियल मड्रिडबाट आश्चर्यजनक प्रदर्शन र गोल गरे । यो सिजन भने उनले त्यस्तो प्रभावशाली प्रदर्शन दोहो¥याउन सकेका छैनन् ।
रियल च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । त्यसैले गर्दा क्लब पनि ब्राजिलियन स्टारसँगै संघर्ष गरिरहेको छ । यस्तोमा स्पेनको पत्रिका मार्काका अनुसार भिनिसियस एक गम्भीर प्रतिबन्धमा तानिएका छन् । जुन उनको करिअरकै लागि खतरनाक हुनसक्छ ।
‘टाइबेरिस होल्डिङ दो ब्राजिल’ नामक ब्राजिलियन कम्पनीले फिफाको इथिक्स कमिटीमा उनले नैतिक आचारसंहिताको उल्लंघन गरेको भन्दै ७ अप्रिलमा उजुरी दिएका छन् । उजुरीअनुसार भिनिसियसले केही क्लबका स्वामिक्त आफ्नो नाममा राखेका छन् । फिफाको नियमअनुसार सक्रिय व्यावसायिक खेलाडीले फुटबल क्लबमा स्वामित्व राख्न मिल्दैन । मार्काका अनुसार भिनिसियस केही क्लबका मालिकको रूपमा दर्ता छन्, जुन अन्तर्राष्ट्रिय फुटबल नियमको उल्लंघन हो ।
भिनिसियसले आफ्नो बुबा तथा एजेन्ट थास्सिलो सोआरेसद्वारा सञ्चालित अल अगेन्सियामेन्टो एस्पोर्तिवो नामक कम्पनीमार्फत क्लब स्वामित्व लिएका हुन् । सबैभन्दा चर्चित डिल भनेको एथ्लेटिक क्लब डे साओ जोआओ डेल रेको हो, जुन हालै ब्राजिलियन सिरी ‘बी’मा बढुवा भएको छ । टाइबेरिसले यस क्लबमा १६ दशमलव ५ प्रतिशत सेयर राखेको थियो । भिनिसियसको कम्पनीलाई सेयर बेचिँदा पहिले आफूलाई प्रस्ताव नआएको गुनासो छ । साओ पाउलोको एक न्यायाधीशले यो डिललाई रोक लगाउँदै मध्यस्थता प्रक्रिया सुरू गरेका छन् ।
यसबाहेक भिनिसियसको नाम पोर्चुगलको क्लब अल्भेर्कासँग पनि जोडिएको छ । सो क्लबमा राफाएल अलेक्जेन्द्र दा कोसेइसाओ लिआओ नामक खेलाडी साओ जोआओ डेल रेबाट लोनमा गएको प्रकरणले फिफाको चासो अझ बढाएको छ ।
उजुरीअनुसार भिनिसियसले फिफाको आचारसंहिता अन्तर्गतको धारा २० र स्पेनको खेलकुद नियमअन्तर्गतको धारा २२ उल्लंघन गरेका छन् । यी दुवै धारा खेलकुदमा हितको द्वन्द्व रोक्न र प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्न बनाइएको हो । त्यसैले यस किसिमको उल्लंघनको लागि अधिकतम सजाय २ वर्षको प्रतिबन्ध हुन सक्छ ।
‘अन्य सजायहरूमा भारी आर्थिक जरिवाना वा क्लब स्वामित्वको जबरजस्ती बिक्री पनि हुन सक्छ । फिफाको यो अनुसन्धान र यसको नतिजाले खेलाडी मात्र होइन, सम्पूर्ण फुटबल जगतलाई असर पार्नेछ’, मार्काले भनेको छ ।
फिफाले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन । उजुरीको अध्ययन गरिरहेका छन् । अब सबैको ध्यान फिफाको इथिक्स कमिटीमा छ र यस केसले फुटबलको भविष्यका लागि कस्तो उदाहरण स्थापना गर्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ ।
प्रतिक्रिया