१३ वर्षको यात्रा र अबको गन्तव्य

सौर्य राष्ट्रिय दैनिक आफ्नो प्रकाशनको १३ वर्ष पूूरा गरी आजबाट १४औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, सहकर्मी, विज्ञापनदाता एवं शुभचिन्तकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको गोरेटो समात्दै गरेको बेला सुरु भएको यो दैनिकले मुलुकको लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागि निरन्तर खबरदारी गर्दै आएको छ । एउटा जिम्मेवार सञ्चारमाध्यको हैसियतले अबका दिनमा पनि हामी यो भूमिकामा दृढतापूर्वक खडा रहनेछौँ । यद्यपि यो १३ वर्षको अवधिमा मुलुुकले महाभूकम्पदेखि कोभिड–१९ को विश्वव्यापी महामारीको सामना गनुपर्यो ।

फलस्वरुप सिर्जित विश्वव्यापी आर्थिक मन्दीका कारण मुलुुकको अर्थतन्त्र थिलथिलो भयो । सानोतिनो व्यवसाय गरेर जीवन निर्वाह गर्ने कामकाजीे वर्ग साँझबिहान हातमुख जोेड्नसमेत नसक्ने अवस्थामा पुग्यो । आफ्नो थातथलो छाडेर दैनिक सयौँको संख्यामा रोजगारीका लागि बाहिरिने युवाहरूको लामले गाउँहरूमा जन्ती र मलामी पाउन कठिन हुन थालेको छ । भएका उद्योगधन्दाहरू रुग्ण बनेका छन् । तर, यस्तो जर्जर अवस्थामा पनि मुलुकको सत्ता सञ्चालनको कार्यभार सम्हालेका प्रमुख राजनीतिक दलहरू आन्तरिक कलह र सत्ता स्वार्थमै केन्द्रित छन् । राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण राज्यबाट पाउनुपर्ने कैयौँ प्रकारका सेवासुुविधाबाट वञ्चित हुँदा आमजनतामा निराशा व्याप्त छ ।

मुलुकको चौतर्फी विषम परिस्थितिको प्रत्यक्ष/परोक्ष प्रभाव नेपाली मिडिया जगत्मा पनि परेको छ । यसबीचमा आफूलाई स्थापित गरिसकेका केही सञ्चारगृह आफ्नो प्रकाशन नै बन्द गर्ने अवस्थामा पुुगे । मन्दीका कारण सिर्जित संकटको सामना गरेरै अघि बढिरहेका प्रकाशन गृहहरूलाई पनि आफ्नो प्रतिष्ठा जोगाउन धौ–धौ परेको छ । आम्दानीको मुुख्य स्रोतका रूपमा रहेको विज्ञापन बजार व्यवस्थित हुन नसक्दा सञ्चारगृहहरू थेग्नै नसक्ने आर्थिक भारले थिचिन बाध्य छन् ।

विज्ञापन बजारलाई व्यवस्थित गर्नेतर्फ सरकारको प्रष्ट दृष्टिकोण नहुुनुु र मिडिया सञ्चालकहरूको अदुुरदर्शिता र मपाईंत्वकै कारण सिंगो मिडिया जगत् सहजै प्राप्त हुन सक्ने लाभबाट वञ्चित हुुँदै आएको छ । यथार्थमा विज्ञापन बजारलाई व्यवस्थित गर्न भएका प्रयासहरू यतिबेला निरर्थक सवित भइरहका छन् । सरकारी विज्ञापनमा हुने अनियमिताको भागीदार स्वयं मिडिया सञ्चालक नै हुुनुुपर्ने अवस्था छ । यस्तो अवस्थामा सिंगो मिडिया जगत्लाई व्यवस्थित, मर्यादित अनि पारदर्शी बनाउन सम्बद्ध सबै पक्ष जिम्मेवार हुुनुु आवश्यक छ ।

यो परिवेशमा हामी आफ्नो १४औँ वार्षिकोत्सव मनाइरहेका छौँ । हरेक वार्षिकोत्सवको अवसरमा हामीले मुलुकले भोगिरहेको कुनै एक दैनन्दिन समस्याको सांगोपांग विश्लेषण गर्ने गरेका छौँ । यो वर्ष हामीले नेपालजस्ता पर्वतीय मुलुकले आफूले गल्ती नै नगरे पनि सजायका रूपमा भोग्न बाध्य हुनुपरेको जलवायु परिवर्तनको कहरलाई मिहीन ढंगले पर्गेल्ने प्रयत्न गरेका छौँ । मुलुकको एक अग्रणी सञ्चार गृहका नाताले हामी यस्तै अन्य मुद्दामा पनि निरन्तर खोजी जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

एउटा सञ्चारमाध्यमको निरन्तरताको हिसाबले १४ वर्षको अवधि सानो होइन । अबका दिनमा हाम्रो प्रकाशनलाई अझ परिष्कृत र व्यावसायिक बनाउने प्रण गर्दछौँ । सञ्चारमा आएको नवीनतम् प्रविधिलाई उपयोग गर्दै यो वर्ष हामी सौर्य राष्ट्रिय दैनिकको सह–प्रकाशन www.souryaonline.com लाई मल्टिमिडियाको अवधारणा अनुरुप अघि बढाउँदै डिजिटल पुस्ताका पाठकको रोजाइमा पर्ने लक्ष्य राखेका छौँ । यस यात्रामा तपाईं पाठक, शुभेच्छुक र विज्ञापनदाताको थप साथ–सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया