जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी भुल निर्विरोध निर्वाचित

सुदूरपश्चिम । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौरा थारुले आज उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुन् । जिसस प्रमुखका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले प्रत्यासी उठाएको थिएन । जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख गरी २६ मतदाता रहेका थिए ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।

सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया