पोर्चुगलसँगको बराबरीले क्रोएसिया क्वार्टरफाइनल

जाग्रेब । स्पेनले युरापेली नेसन्स कपको सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई २–१ ले हराएको छ । टेनरिफमा भएको सो खेलको परिणाम धेरै महत्वपूर्ण त थिएन तथापि खेल स्तर भने रोमाञ्चक थियो । स्पेन यसअघि नै समूहमा पहिलो भइसकेको छ भने स्विट्जरल्यान्डको पनि पुछारको स्थान पक्का भइसकेको थियो । ३२आँै मिनेटमा यामेरी पिनोको गोलमा स्पेनले अग्रता लिएको थियो । उनले रिबाउन्डमा पाएको अवसरलाई उपयोग गरेका हुन् । ६३औँ मिनेटमा स्विट्जरल्यान्डका लागि जोय मोन्टरिलोले गोल गरे । त्यसको ५ मिनेटपछि नै ब्रायन्ट गिलले स्पेनको टोलीलाई खेलमा फर्काए । खेल सकिन ५ मिनेट बाँकीरहँदा एन्डी जेगिरीले गोल गरेपछि खेल दोस्रोपटक बराबरीतर्फ मोडिएको थियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाको पेनाल्टी गोलमा स्पेनले जित हात पारेको हो । सर्बियासँगको खेलमा गोलरहित बराबरी गरेपछि सो समूह ४ बाट डेनमार्क पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो चरण प्रवेशका लागि जित अनिवार्य रहेको घरेलु टोली सर्बियाले २२ पटक गोलपोस्टमा प्रहार गरेको थियो । इन्जुरी समयको पाँचाँै मिनेटमा सो टोलीका रक्षक स्ट्राहिन्जा पाब्लोभिकले रातो कार्डसमेत पाएका थिए । समूहमा तेस्रो भएको सर्बियाले ‘बी’ तहको रेलिगेसन प्रमोसन प्ले अफ खेल्नेछ ।

समूह १ को खेलमा पोर्चुगल र क्रोएसियाबीच १–१ गोलको बराबरी भएको छ । यसअघि नै समूहमा पहिलो स्थान हात पारिसकेको भ्रमणकारी टोली पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित केही खेलाडीलाई आरामको निर्णय गरेको थियो ।

यसका बाबजुद पोर्चुगलले ३३आँै मिनेटमा अग्रता लिएका थियो । भिटिन्हाको पासमा चेल्सीका फरवार्ड जाओ फेलिक्सले गोल गरेका थिए । क्वाटरफाइनलमा प्रवेश गर्न १ अंक जरुरी भएको क्रोएसिया आन्द्रेइ क्राकाजिकको प्रहार बारमा लागेपछि निरास बनेको थियो । तथापि ६५औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका रक्षक जोस्को भार्डियोलले क्रिस्टिजान जाकिकको क्रसलाई उपयोग गर्दै गोल गरेपछि टोलीको अर्को चरणको यात्रा सम्भव भएको थियो । क्रामारिकको उत्कृष्ट प्रहारलाई बचाउँदै पोर्चुगलका गोलरक्षक जोसे साले टोलीको हारको सम्भावना टारेका थिए ।

समूहमा पोल्यान्डमाथि ३–१ को जितसहित स्कटल्यान्ड तेस्रो भएको छ । स्कटल्यान्डलाई जित दिलाउने क्रममा एन्डी रोबर्टसनले इन्जुरी समयमा हेड गोल गरे । भ्रमणकारी टोली स्कटल्यान्डले तेस्रो मिनेटमा नै जोन म्याकगिनको गोलमा अग्रता लिएको थियो । उनले बे डोएकको पासलाई उपयोग गरेका थिए । त्यसै समयमा अर्को खेलमा क्रोएसिया पोर्चगलभन्दा १ गोलले पछि पनि परेको थियो । स्कटल्यान्ड क्वार्टरफाइनलको सम्भावना पनि सो समयमा थियो ।

सोही सममया पोल्यान्डका रक्षक कामिक पियाटोस्कीले गोल गरेपछि स्कटल्यान्डका लागि समूहमा चौथो हुने सम्भावनासमेत देखिएको थियो । खेल सकिन आँटेको समयको ८०औँ मिनेटमा कप्तान रोबर्टसनले गोल गरेका हुन् ।

समूह १ मा अर्को खेल पनि त्यत्तिकै महत्वपूर्ण बनेको छ । विश्व वरीयता क्रमको पुछारको टोली सान मारिनो युरापेली नेसन्स कपको तेस्रो टायरमा बढुवामा भएको छ । इतिहासकै पहिलो अवे जित हात पार्ने क्रममा लिचेस्टाइनलाई ३–१ ले हराएपछि सान मारिनोले सो सफलता पाएको हो ।
फुटबलको इतिहासमा सान मारिनोले १ गोलभन्दा बढी गोल गरेको पनि यो पहिलोपटक हो । सान मारिनोको अन्तर्राष्ट्रिय खेलमा यो तेस्रो जित हो । यस अघिका दुवै जितमा १–० को स्कोर थियो । ती दुवै खेल सान मारिनोमा भएका थिए । १ जित मैत्रीपूर्ण खेलमा थियो भने अर्को जित नेसन्स कपमै थियो ।

फिफा वरीयता क्रममा २१०औँ स्थानमा रहेको सान मारिनो खेलेका २०२ मध्ये १९९ खेलमा पराजित भएको छ । इटालीका धेरै तल्लो तहका क्लबहरूको प्रशिक्षक बनेका रोबर्टो केभोली गत वर्ष सो टोलीका प्रशिक्षक भएका थिए । त्यस यता खेलिएका १० मध्ये २ मा सान मारिनोले सफलता पाएको छ ।

२००आँै वरीयतामा रहेको लिचेस्टाइनले एरोन सेलेको गोलमा ४०औँ मिनेटमा अग्रता लिएको थियो । त्यसको लगत्तै लोरेन्जो लाजारीले बराबरी गोल गरेका थिए । ६६औँ मिनेटमा निकोला नानीको पेनाल्टी गोलमा सान मारिनोले अग्रता लिएको थियो । लेजान्द्रो गोलुनाउसीले अर्को गोल गरे ।
समूह २ को खेलमा कोसोभोले लिथुवानियालाई १–० ले हरायो भने रोमानियाले साइप्रसलाई ४–१ ले हरायो । समूह ३ मा बुल्गेरिया र बेलारुसबीच १–१ गोलको बराबरी भयो । यसैगरी समूह ३ मै लक्जेबर्ग र उत्तरी आयरल्यान्डबीच २–२ गोलको बराबरी भयो ।

प्रतिक्रिया