काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कोष फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेजका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानव जीवनमा असुरक्षा हुने भएकाले यसमा विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए ।
कतिपय धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको गौरव सगरमाथा र हिमालहरुको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको विषय भएको बताए ।
कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपाल जस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाललगायत सहभागी थिए । कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो ।
कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुुकबाट २६, विकसित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य छन् । अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा ढकाल बोर्डको आमन्त्रित सदस्य हुन् ।
प्रतिक्रिया