लुम्बिनीका प्रशिक्षक नन्दन फाडनिस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आगाामी १५ मंसिर देखि १० टोलीको सहभागितामा एनपीएल आयोजना हुँदैछ । त्यसअघि गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसलाई लुम्बिनीले मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले यसअघि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेकाका छन् । फडनिसले आफू मुख्य प्रशिक्षकको रुपमा लुम्बिनी लायन्समा समावेश हुन पाउँदा खुसी भएको बताएका छन् ।


‘लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु। रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भनेका छन् । क्लबका सञ्चालक ईश्वर जिसीले फडनिसलाई मुख्य प्रशिक्षक बनाउन पाउँदा उत्साहित भएको भन्दै विजय हुन राम्रो मार्गदर्शन प्राप्त हुने विश्वास लिएका छन् ।

यसैगरी, दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्यांगलाई एनपिएलका लागि चितवनले अनुबन्ध गरेको । ६ दशमलव ७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस संरचनाका १५१ खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्टनरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ । त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् । सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए । सो डेब्यु खेलमै उनले ७ विकेट लिएका थिए ।


उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए । सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् । ‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु । सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्रस्यंट डी ल्यांङले भनेका छन् ।


चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी बिदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । ‘ल्याङ ठूलो खेलाडी हुन् । उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन । उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन् ।


यसैगरी, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा केही भारतीय चर्चित खेलाडीहरुले पनि रुची देखाएका छन् । उनीहरुको डिमान्ड भने चर्को छ । एनपीएल खेल्न इच्छा देखाउने विदेशी खेलाडीको सूची क्यानले ८ वटै फ्रेन्चाइजलाई उपलब्ध गराएको छ । विदेशी खेलाडीले एनपीएल खेल्न आफ्नो मोलसहित उपलब्ध भएको जानकारी क्यानलाई गराएका थिए । सोही आधारमा फ्रेन्चाइजले सम्बन्धित खेलाडीहरुसँग कुराकानी गरिरहेका छन् ।


क्यान प्रवक्ता छुम्बी लामाले क्यानले फ्रेन्चाइजलाई विदेशी खेलाडीहरुको सूची उपबल्ध गराएको स्वीकार गरेपनि कसलाई के कतिमा आबद्ध गर्ने भन्ने सम्बन्धित फ्रेन्चाइजहरुले निर्णय गर्ने बताए । नाम चलेका विदेशी खेलाडीहरुले एजेन्टमार्फत कुनैपनि प्रतियोगितामा नाम उपलब्ध गराउँछन् । यसअघि फ्रेन्चाइजहरुले मार्की खेलाडीहरुलाई २०÷२० लाख रुपैयाँ र अन्य खेलाडीहरुलाई २ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । हरेक फ्रेन्चाइजमा ४ जना विदेशी खेलाडीहरु अनिवार्य गरिएको छ । उनीहरुलाई के कतिमा आबद्ध गर्ने भन्नेमा फ्रेन्चाइजहरु स्वतन्त्र छन् । क्यानले करिब सय जना विदेशी खेलाडीको सूची फ्रेन्चाइजहरुले उपलब्ध गराएको बुझिएको छ ।


विदेशी खेलाडीले तोकेको मूल्यका आधारमा ५० हजार डलरभन्दा बढी तोक्नेलाई ए, २५ हजार डलरभन्दा बढी तोक्नेलाई बी र ५ हजार डलरभन्दा बढी तोक्नेलाई सी श्रेणीमा राखेर वर्गीकरण गरिएको छ । अधिकांश फ्रेन्चाइजहरु बी र सी श्रेणीका विदेशी खेलाडीका लागि लागिरहेका छन् । भारतीय खेलाडीको हकमा पनि एजेन्टहरुले नाम उपलब्ध गराएको हुन सक्ने बुझिएको छ । क्यानले उपलब्ध गराएको सूचीमा सबैभन्दा बढी मूल्य सुरेश रैनाले राखेका छन् । उनको डिमान्ड तीन करोडको छ । उनले आफू प्रतियोगिताभरि उपलब्ध हुन सक्ने बताएका छन् । रविन उत्थपाले भने केही खेलका खेल्नसक्ने भन्दै ६० लाख भारु मागेका छन् । ‘कतिपय खेलाडीहरुले केही खेलका लागि मात्र उपलब्ध हुने खालको कुरा गरेको देखिन्छ’, एक फ्रेन्चाइजका अधिकारीले भने ।


भारतका पूर्व विकेटकिपर दिनेश कात्तिकले प्रतिखेल २० लाख भारतीय रुपैयाँ मोल तोकेर सम्पर्क गरेका छन् । केही खेलका लागि उपलब्ध हुनेगरी भारतकै अम्बाती रायुडुले ८५ लाख भारु मागेका छन् । केदार जादभले पुरा प्रतियोगिता खेल्ने गरी एक करोड भारतीय रुपैयाँ माग गरेका छन्। यस्तै पुरा प्रतियोगिताका लागि उपलब्ध हुने गरी मोहम्मद कैफले ५० लाख, अमित मिश्राले ६५ लाख, विनय कुमारले ३५ लाख, प्रज्ञान ओझाले ३० लाख, आरपी सिंहले ३० लाख र प्रविन टेम्बेले १८ लाख भारतीय रुपैया तोकेका छन् ।

प्रतिक्रिया