काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले हराउँदै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक–एक गोल गरे ।
देकी लाजोमले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थेपे ।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो ।
अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अंक छ । श्रीलंकाको दुई खेलमा तीन अंक छ । नेपालले आज साँझ नै श्रीलंकासँग खेल्ने छ ।
प्रतिक्रिया