काठमाडौँ । बागमती प्रदेश पहिलो खुला स्केट च्याम्पियनसिपको पुरुष स्केटको खेलमा बसन्त राई विजयी भएका छन् । उनले बोर्डमा आफ्नो कौशल र सिर्जनशीलता प्रदर्शन गर्दै १२ हनार ५०० रुपैयाँ पुरस्कार जिते । सरदकुमार राईले दोस्रो स्थान हासिल गरेर ६ हजार पुरस्कार पाए । तेस्रो भएका सरोज मगरले ४ हजार प्राप्त गरे भने विनोद कार्कीले चौथो स्थान हासिल गरेर २ हजार पाए ।
उत्कृष्ट ट्रिकमा उशान आले मगर पहिलो भए । उनले पनि १२ हजार ५०० पुरस्कार पाए । आफ्नो सरदकुमार राई दोस्रो र जीवन तामाङले तेस्रो भए । महिलातर्फको गेम अफ स्केटमा पहिलो स्थानमा समीक्षा राई, दोस्रो स्थानमा समिरा राना मगर र तेस्रो स्थानमा अर्लिन लामा आउन सफल भए । तीनै जनाले जनही २ हजार ५०० पुरस्कार पाए ।
रोलर स्केट रेसले अर्थ बोहराले पहिलो हुँदै २० हजार पुरस्कार जिते । राजन मगराती दोस्रो हुँदा विजय खनाल तेस्रो भए । उनीहरूले १० हजार र ७ हजार ५०० पुरस्कार पाए । चौथो भएका सौहार्द श्रेष्ठले ५ हजार पुरस्कार जिते । महिला रेसमा सन्ध्या आले मगर पहिलो हुँदै ५ हजार प्राप्त गरिन् । नयना शाक्य र तृष्णा थापा मगर दोस्रो र तेस्रो हुँदै ३ हजार र २ हजार पुरस्कार जिते ।
हाइजम्पमा सोनम गुरुङ र जिग ज्यागमा सफल थापा मगर पहिलो हुँदै जनही २ हजार ५०० प्राप्त गरे । विशेष पहिचानमा गजेन्द्र बर्देवालाई स्केटबोर्डिङको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरियो । उनले ५ हजार पुरस्कार प्राप्त गरे । च्याम्पियनसिप २०–२१ सेप्टेम्बरमा ‘हामी आशा गर्छौं कि यदि एक इन्जिनियरले स्केटबोर्ड वा रोलर स्केटलाई दैनिक गतिविधिहरूमा यातायातको रूपमा प्रयोग गरेमा क्याम्पसदेखि होस्टलसम्म १० मिनेट बचाउन सकिन्छ भने, यसले इन्जिनियरको ४ वर्षको इन्जिनियरिङ अध्ययनमा ११ दिनको बचत गर्नेछ ।’ भन्ने नारासहित आयोजना गरिएको थियो ।
प्रतियोगिताले सबै प्रदेशबाट शीर्ष स्केटरलाई एकैस्थानमा ल्याउँदै विभिन्न स्पर्धामा रोमाञ्चक प्रदर्शनहरू भएका थिए । जसमा अत्यधिक अपेक्षित स्केटको खेल, उत्कृष्ट ट्रिक र रोलर स्केट रेस समावेश थियो । उत्कृष्ट ट्रिकका लागि रामचन्द्र कोइराला हेड जजका रूपमा र रोलर स्केटका सबै खेलहरूको लागि रोनित पुजारी, सुजित देउला, राजु नेपाली र गजेन्द्र बर्देवा महिलाका खेलहरूका लागि जजको रूपमा रहेका थिए । कार्यक्रमको आयोजक बाग्मती प्रदेश स्केटिङ र स्केटबोर्डिङ संघ थियो । सहआयोजकमा नेपाल स्केटिङ र स्केटबोर्डिङ संघ र नेपाल स्केट क्लब थिए ।
प्रतिक्रिया