टी– २० आई : अन्तिम खेल अगावै सिरिज जितेको नेपालले अमेरिकालाई गर्यो क्लिनस्वीप

काठमाडौं । ३ खेलको टी– २० आई सिरिजको खेलमा अन्तिम खेल अगावै सिरिज जितेको नेपालले अमेरिकालाई क्लिनस्विप गरेको छ । तेस्रो टी– २० आई खेलमा सोमबार बिहान अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लिनस्विप गरेको हो । नेपालले टी– २० आईमा दोस्रो पटक सिरिज क्लिनस्विप गरेको छ ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी– २० आई सिरिज क्लिनस्विप गरेको थियो ।

नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा १५७ रनको मध्यम लक्ष्य पाएको नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

टी– २० करियरको छैठौँ अर्धशतक बनाए लगत्तैको बलमा आसिफ जायस ड्रेल्सद्वारा आउट भए । कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरेका हुन् ।

भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै ४० रन जोडे । अर्का ओपनर अनिलकुमार साह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए । अमेरिकाका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रनको योगफल बनाएको थियो ।

साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदै ललित राजवंशीको बलमा रिजन ढकालबाट समातिए ।

अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे । नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको थियो । पहिलो टी– २० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

प्रतिक्रिया