सहरी क्षेत्रका महिलाको तुलनामा ग्रामीण भेगका महिलाहरू अहिले पनि प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न लजाउँछन् । जसका कारण पनि आङ खस्ने समस्या पहिचानमा समस्या एकतर्फ छँदै छ । अर्कोतर्फ आङ खस्ने समस्या भएका महिला उपचारका लागि कहाँ कसरी जाने भन्ने जानकारी अभावमा तथा उपचार आवश्यक परेका स्थानमा सेवा नै नपुग्दा ग्रामीण क्षेत्रका महिलाले आङ खस्ने समस्याजस्तो कष्टकर स्वास्थ्य समस्या लिएर जीवन बिताउन बाध्य छन् । जिल्लामा आङ खस्ने सवाल बेलाबखत उठ्ने गरेको भए पनि सम्बन्धित निकाय मौनजस्तै छन्
दुर्गम हिमाली जिल्ला मुगु भौगोलिक विकटताले मात्र नभई स्वास्थ्य शिक्षा जनचेतनाको अभावले पनि थला परेको छ । मानव विकासको सूचकांकमा पुच्छारमा रहेको मुगु जिल्लामा समयमै स्वास्थ्य उपचार नपाएर धेरैको ज्यान गएको घटना छन् । मानव स्वास्थ्यमा देखापर्ने रोगहरू केही आर्थिक अभावमा रोग पाल्न बाध्य छन् भने केही लाज, भय, डर र त्रासले रोग लुकाई जीवनयापन गर्न बाध्य छन् यहाँका महिलाहरू ।
हुनेखानेहरू सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पुग्छन् भने नहुनेहरू लाजले रोग पाल्ने गरेका छन् । जिल्लाका ग्रामीण भेगमा अधिकांश महिलाहरूमा पाठेघर(आङ) खस्ने समस्याले सताइरहेको छ । तर, महिलाहरू लाजले रोग लुकाई रोग पाल्न बाध्य भएका छन् । सुरुसुरुमा रोग लुकाउने र रोग जटिल भएमा अस्पताल आउने प्रचलनले अधिकांश महिलाहरूको उपचारभन्दा पनि मुत्युवरण हुनको विकल्प छैन । मुगु जिल्लामा १ नगरपालिका र ३ गाउँपालिकासहित ४ वटा स्थानीयतह छन् ।
अझै पनि ग्रामीण भेगका महिलाहरू स्वास्थ्य सेवा लिनबाट वञ्चित छन् । मुख्यकारण जनचेतनाको अभाव र अर्को लाजले गर्दा महिलाहरूमा आङ खस्ने समस्याजस्ता जटिल रोग पालेर बस्न बाध्य भएका छन् । छायानाथ रारा नगरपालिका–१० र ११ मा आङखस्ने समस्याबाट धेरै महिलाहरू पीडित भएकोे त्यहाँका महिलाहरूले नै बताउने गरेका छन् । छायानाथ रारा नगरपालिका–१० की कोशेली बुढा, उनी ४ वर्षदेखि आङ खस्ने समस्याबाट पीडित बनेकी छन् ।
तर, उनले सरकारले निशुःल्क प्रदान गर्दै आएको पाठेघरसम्बन्धी उपचार सेवा उपभोग गर्न पाएकी छैनन् । मुगुको छायानाथ रारा नगरपालिका–१० की कोशेली बुढा मात्र होइन छायानाथ रारा नगरपालिकामा आङ खस्ने समस्याबाट ग्रसित धेरै महिलाले सरकारले प्रदान गर्दै आएको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सकेका छैनन् । लाज र आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएका छन् । अहिले दुर्गमका एउटै गाउँमा ५ देखि ७ जनासम्म आङ खस्ने समस्याबाट पीडित हुनसक्ने महिलाहरूको बुझाइ छ । तर, लाजले आङखस्ने समस्या लुकाएर बस्न बाध्य भएका छन् महिलाहरू ।
दुर्गम क्षेत्रका महिलाहरूमा आङ खस्ने समस्याले वर्षौंदेखि सताइरहेको भए पनि त्यसतर्फ सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । महिलाहरू लाज र आर्थिक समस्याका कारण समयमा उपचार गर्न नसक्दा उनीहरू रोग लुकाउनुपर्ने बाध्यतामा छन् । मुगुमा सानै उमेरमा विवाह गर्ने देखासिखीमा विवाह गर्ने, सामाजिक मूल्यमान्यताका आधारमा बालविवाह गर्ने, उमेर नपुग्दै विवाह गर्ने गर्नाले सानै उमेरमा सुत्केरी हुँदा स्वास्थ्यको ख्याल नगर्ने, सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना नखाने र भार बढी हुने काम गर्नाले महिलाहरूमा आङ खस्ने समस्याले सताउने गरेको पाइन्छ । अहिले जिल्लाका ग्रामीण क्षेत्रका धेरै महिलाहरूमा स्वास्थ्य समस्या देखिएको पाइन्छ । आङ खस्ने, कुपोषण, पाठेघरको क्यान्सरजस्ता समस्यामा मुगुका महिलाहरू छन् । तर, उनीहरूले जनचेतनाको अभावमा रोगलाई सहजरूपमा लिने गरेका र रोग जटिल अवस्थामा पुगेपछि मात्र समस्या दर्शाउने गर्दा रोग निको हुनुभन्दा मृत्युवरणसम्म पु¥याउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आङ खस्ने समस्या मुगुमा विकराल भन्दै गएको छ ।
ग्रामीण भेग क्षेत्रका महिलाहरू लाजले गर्दा आङ खस्ने समस्याका बारेमा खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेका छन् । आङ खस्ने समस्या मुगुका प्रत्येक गाउँगाउँमा रहेको पाइन्छ । मुगुको दुर्गम क्षेत्रका गाउँमा ५–७ जना महिलाहरू आङ खस्ने समस्याबाट पीडित हुन सक्ने र यो समस्या १६ देखि ३० वर्षका महिलाहरूमा धेरै हुन सक्ने अनुमान गरिएको छ ।
सानै उमेरमा विवाह गरी बच्चा जन्माउने गर्नाले पनि महिलाहरूमा यो समस्या बढीरहेको पाइन्छ । सानै उमेरमा विवाह, धेरै बच्चा जन्माउने, जन्मान्तर नगर्ने, गर्भवती तथा सुत्केरी अवस्थामा अत्यधिक बोझिलो काम गर्ने भएकाले महिलामा आङ खस्ने समस्या विकराल बन्दै गएको स्वास्थ्य सेवा कार्यालय मुगुका डा. अर्जुन भामले बताए ।
सामाजिक अपहेलनाका भय तथा लाजका कारण रोग लुकाएर बस्ने महिलाको संख्या अझ विकराल छ । आङ खस्ने मुख्य कारण व्याप्त बाल विवाह, जन्मान्तर थोरै राखिनु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी तथा जनचेतनाका कमीका कारणले समस्याले विकराल रूप लिएको डाक्टर भामको भनाइ छ । जिल्लाका महिलाहरूमा आङ खस्ने समस्या धेरै पहिलादेखि नै व्यापक भनिएता पनि हालसम्म एकिन तथ्यांक भने थाहा छैन ।
दुर्गम हिमाली जिल्ला मुगुमा अशिक्षा तथा जनचेतनाको अभावमा यो समस्या होला तर कति यो समस्यामा छन् भन्ने तथ्यांक स्वास्थ्य सेवा कार्यालयमा नभएको जिल्ला स्वास्थ्य कार्यालय मुगका कार्यालय प्रमुख निर्मल नगरकोटी बताउँछन् । उनका अनुसार यहाँका महिलाहरू आङ खस्ने समस्यालाई नभनी लाजले लुकाउने गरेका छन् । पछिल्लो चरणमा गाउँबस्तीहरूमा आङ खस्ने महिला धेरै रहेका छन् भन्ने गुनासो आइरहेको छ । स्वास्थ्य सेवा कार्यालय मुगुले आगामी दिनमा मुगु जिल्लामा रहेका आङ खस्ने महिलाको रेकर्ड संकलन गरी उपचारको तयारीमा जुटुने कार्यालय प्रमुख नगरकोटीले बताए ।
सरकारले यस समस्या नियन्त्रण गर्न आङ खस्ने समस्याको रोकथाम, उपचारसम्बन्धी कार्यविधि निर्देशिका–२०६५ दोस्रो संशोधन २०६८ बनाएको छ । जसको परिच्छेद २ मा सेवा सुविधासम्बन्धी व्यवस्था गरेको छ । जसमा आङ खस्ने समस्याको रोकथाम, उपचार र शल्यक्रियाका लागि सेवा सुविधा प्रदान गरिने प्रष्ट लेखिएको छ ।
साथै शल्यक्रिया सेवाका लागि प्रेषण भई आएका वा आफैँ आएका सेवाग्राहीलाई स्वास्थ्य संस्थामा वा शिविरमा निःशुल्क शल्यक्रिया, शल्यक्रिया पछिको अनिवार्य फलोअप सेवा प्रदान गरिनुका साथै सेवाग्राही महिलालाई शल्यक्रियाका लागि स्वास्थ्य संस्था तथा शिविरसम्म आउँदा र घर फर्कदा लाग्ने यातायात खर्चसमेत सरकारले प्रदान गर्ने भन्ने उल्लेख गरिएको छ ।
तर, सहरी क्षेत्रका महिलाको तुलनामा ग्रामीण भेगका महिलाहरू अहिले पनि प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न लजाउँछन् । जसका कारण पनि आङ खस्ने समस्या पहिचानमा समस्या एकतर्फ छँदै छ । अर्कोतर्फ आङ खस्ने समस्या भएका महिला उपचारका लागि कहाँ कसरी जाने भन्ने जानकारी अभावमा तथा उपचार आवश्यक परेका स्थानमा सेवा नै नपुग्दा ग्रामीण क्षेत्रका महिलाले आङ खस्ने समस्याजस्तो कष्टकर स्वास्थ्य समस्या लिएर जीवन बिताउन बाध्य छन् ।
जिल्लामा आङ खस्ने सवाल बेलाबखत उठ्ने गरेको भए पनि सम्बन्धित निकाय मौनजस्तै छन् । जिल्लामा रहेको एक गैरसरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुले जिल्लामा लामो समयदेखि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा जनचेतना जोगाउँदै आएकोे छ । तर, अझै यौन प्रजनन स्वास्थ्य अधिकारका बारेमा सबैले जानकारी पाउन सकिरहेका छैनन् ।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले छायानाथ रारा नगरपालिका भित्रका युवा, महिला, बालबालिका समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, आङ खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा जानकारी दिने गरेको सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।
उनका अनुसार सामाजिक मूल्य मान्यता डर त्रास भएकाले यहाँ महिलाहरू खुलेर बोल्नुको सट्टा लाजले लुकाउने, आफ्नो समस्या नदर्शाउने गरेकाले मुगुमा आङ खस्ने समस्यालगायत स्वास्थ्य समस्या विकराल रहेकोले सम्बन्धित निकाय स्थानीयतहहरूले यसका बारेमा सोच्नुपर्ने बेला भएको बताए । स्थानीयतहले निर्माण गर्ने पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, आङ खस्ने समस्याका बारेमा पाठ्यक्रममा समावेश गरी जनचेतनामा जोड दिनसके केही सुधार हुने देखिन्छ ।
मुगु
प्रतिक्रिया