पुराणमा काठमाडौँ उपत्यका र विश्लेषण–२

एक योजन क्षेत्रफलको क्षेत्र सबैतिर समान फलदायक हुन्छ । मूल क्षेत्र भने रुद्र भगवान् (पशुपतिनाथ) रहेको क्षेत्र हो । पशुपतिमा पशुपतिनाथ मन्दिरको पूर्व–उत्तर भागमा नागराज वासुकीको मन्दिर छ । उनी हजारौँ नागसहित सधैँ मेरो ढोकामा बस्ने गर्दछन् । उनले त्यस क्षेत्रमा पुगेका मानिसलाई विभिन्न थरी बाधा दिने गर्दछन् । त्यसैले पहिले उनलाई दर्शन गरेर त्यसपछि मात्र मेरो दर्शन गर्ने गर्नू । यो विधिले दर्शन गर्नाले मानिसलाई बाधाअडचन पर्दैन । पशुहरूलाई इच्छाअनुसार सृष्टि गरी पालन पनि गर्ने र तिनको मालिक भएका कारण शिवलाई पशुपति भनिएको हो ।

मोहनप्रसाद सापकोटा

वराहपुराणमा शिव अगाडि भन्छन्, सूर्यवंशी क्षत्रिय राजाहरूले मलाई सुनसान स्थानमा भेट्टाउनेछन् । त्यसपछि राजाहरूले शिवलिंगको प्रतिष्ठा गरी पूजा गर्न थाल्नेछन् । यसपछि उक्त स्थानमा ठूलो सहर बस्नेछ । उक्त सहरमा ब्राह्मणहरूको बाहुल्यता भएको चारै वर्णको बसोबास हुनेछ । असल स्वभावका लामो आयु भएका राजाहरूले धर्मपूर्वक शासन चलाउन थालेपछि तथा उक्त देश र जनता व्यवस्थित भएर बसेपछि सबैले नित्य मेरो पूजाअर्चना गर्न थाल्नेछन् । जसले एकपटक मात्र पनि मेरो त्यो शिवलिंगलाई श्रद्धापूर्वक दर्शन र आराधना गर्दछ उसले सबै पापबाट मुक्त भई मृत्युपछि शिवलोकमा पुगी मलाई दर्शन गर्न पाउनेछ ।’
गंगाभन्दा उत्तर र अश्विनीमुखभन्दा दक्षिणतिर रहेको १४ योजनको क्षेत्र मेरो क्षेत्र (पाशुपत क्षेत्र) हो भनी जान्नू ।

विश्लेषण ः हिन्दी विश्वकोशले ‘अश्ववदन’ एक प्राचीन देशविशेष हो भनेको छ । केयन स्वामीले हयमुखको अर्थ घोडाको मुखझैँ मुख भएका मानिसहरू बस्ने देशविशेष तथा अश्ववदनको अर्थ प्राचीन एक देश भनेर उल्लेख गरेका छन् । प्राडा वेणीमाधव ढकालले भने अश्ववक्तको अर्थ हिमवत्खण्ड नामक ग्रन्थमा पशुपति भनेर लगाएका छन् । शिवपुराणले तुरंगवदनको अर्थ हिमालयको माथिल्लो भागमा बस्ने किन्नर जाति भनेर अर्थ दिएको छ । स्रोत नखुलाइएको एक लेखमा कैलाश पर्वतको पूर्वी मुखलाई अश्वमुख भनिएको छ । किम्पुरुषको एक पर्यायवाची शब्द तुरंगवदन भनी अमरकोशमा दिइएको छ ।

विष्णुपुराणले जम्बुद्वीपका ९ खण्डमध्ये हिमालय र हेमकुट पर्वतको बीचमा रहेको एक खण्डलाई किम्पुरुष भनेको छ । हयमुखको शाब्दिक अर्थमा शरीर मानिसको जस्तो र टाउको घोडाको जस्तो भएका देवयोनीविशेष पनि भनिएको छ । विभिन्न आधुनिक भारतीय विद्वानका लेखमा हयमुख भारतमै छ भनिएको छ । तर पुराणहरूमा बताइएका अन्य विवरणसमेत अध्ययन गर्दा उच्च हिमाली भेगमा रहेको कुनै प्राचीन देशलाई नै प्रसंगअनुसार हयमुख, अश्विमुख, तुरंगवदन, अश्ववदन आदिजस्ता शब्द प्रयोग भएको हो भन्ने कुरा प्रष्ट हुन्छ ।

योजनको ठिक नापो पाइँदैन । एक योजनमा ३ दशमलव ५ देखि १५ किलोमिटरसम्म हुने बताइएको छ । एक योजनमा करिब १५ किमि हुन्छ भनी मान्दा १४ योजन भनेको २१० किमि हुन पुग्दछ । भारतको मोलानपुरमा रहेको गंगानदीबाट काठमाडौँको दुरी गुगल म्यापले करिब २२६ किमि देखाउँछ । सम्भवतः त्यो समयमा हिमालय शृंखलाबाट हालको शिवपुरी रहेको क्षेत्रसम्म किन्नरहरूको राज्य हुनुपर्दछ । त्यस क्षेत्रभन्दा परतिर जाँदा नापोमा धेरै नै अन्तर आउँछ ।

तुंगशिखर (शिवपुरी) नामक हिमालय पर्वत (वा हिमालयको अग्लो शिखरबाट) बाट निस्किएकी वाग्मती नदीको जल भागीरथी नदीको भन्दा सय गुना पवित्र हुन्छ । यो नदीको जलमा नुहाउने मानिस मृत्युपछि हरिको लोक र इन्द्रलोक हुँदै मेरा (शिवका) लोकमा आउनेछ । पापकर्म गर्ने नै भए पनि उसले पनि यही फल पाउनेछ ।


विश्लेषण : हिरण्यकशिपुलाई मार्न भगवान् विष्णुले लिएको नृसिंह रूप, दानवलाई मारेर पनि शान्त नभई वित्तण्डा मचाउन थालेपछि विशाल चराको रूप लिएर भगवान् शिवले उनलाई पञ्जामा च्यापेर उडाई शिवपुरीको डाँडामा लेराए । भक्त प्रह्लाद विष्णुलाई खोज्दै त्यहाँ आए । प्रसंगवस शिव भगवान् खित्का छाडेर हाँसे । त्यो हाँसोको आवाज (वाक्) ले पहरा फुटी नदी निस्कियो त्यसैले यो नदीको नाम वाक्वती, वाङ्मती रहन गयो । पौराणिक इतिहास यही हो । तर, अहिले मानिसले बाघ (टाइगर) को मुख लगेर उक्त स्थानमा कोच्याएका छन् र बाघद्वार नामकरण गरिदिएका छन् ।

दुर्भाग्य नै भन्नुपर्दछ कि पूण्यशालामा बसेका तथाकथित दक्षिणी विद्वानहरूले ‘भागीरथ्याः शतगुणं पवित्रं तज्जलं स्मृतम्’ जस्ता अनेकौँ श्लोकको सही अर्थ लेख्न हिचकिचाएका छन् र आफ्नै देशमा भएका कुरालाई मात्र जथाभावी बढाइचढाइ लेखेका छन् । म तिनका भाषा यहाँ उद्धरण गर्न चाहन्न ।


उत्तम पर्वतबाट निस्केकी अति पूण्यदायक वाग्मती वा भागीरथी वा वेगवती नदीले मानिसका पापलाई ढडाउँदछिन् । उनको नाम लिनाले मानिस शुद्ध हुन्छ, उनको दर्शन गर्नाले ऐश्वर्य प्राप्त हुन्छ ।

उक्त पवित्र नदीको जल पिउनेले अथवा नदीको जलमा डुबुल्की लगाउनेले आफ्ना सात कुलको उद्धार गर्दछ । यो तीर्थको महिमा लोकपालले गाउने गर्दछन् अर्थात् यहाँ लोकपालहरूसमेत घुमिरहने गर्दछन् । त्यहाँ स्नान गर्नेले स्वर्ग पाउँदछ, तिनले मृत्युपछि पुनः जन्म लिनु पर्दैन । जसले त्यहाँ नित्य नुहाएर शिवको पूजाआराधना गर्दछ शिव प्रसन्न भई तिनलाई संसारको भवसागरबाट उद्धार गर्नेछन् । जसले पवित्र र ईष्र्यारहित भई श्रद्धापूर्वक उक्त नदीबाट एक घल्चा मात्र जल लेराई शिवलाई अभिषेक गर्दछ उसले वेद र वेदांग जान्ने श्रोत्रियले गरेको यज्ञको जति फल हुन्छ त्यति फल प्राप्त गर्दछ ।

पुराणमा वाग्मतीको तीरमा पानीलाई छेडेर निस्केको मृगशृंगोदक नामक एक तीर्थ हुनेछ जुन नित्य मुनिजनका लागि प्रिय हुनेछ भनिएको छ ।

विश्लेषण : मृगशृंगोदक शब्दको ‘मृगको सिङको स्पर्श भएर निस्कने जल’ भनी अर्थ लगाउँदा मृगरूपी शिवको सिङ स्थापना गरिएको स्थान अर्थात् गोकर्ण भन्ने अर्थ लाग्दछ । शान्त चित्तले त्यहाँको जल छोई अभिषेक (वा स्नान) गर्नाले जीवले जीवनभरी गरेका पाप तुरुन्त नाश हुन्छ । त्यहाँ रहेको अर्को ब्रह्मर्षिहरूले सेवा गरी रहिएको पञ्चनद नामक तीर्थमा गई स्नान गर्नाले अग्निष्टोम नामक यज्ञ गरेजति फल पाइन्छ । (यो तीर्थका बारेमा ठोस जानकारी पाउन सकिएन) ।

६० हजार गाई, जसले बाग्मती नदीको रक्षा गर्दछन् । यस्तो नदीको फललाई पापी र बैगुनी मानिसले कहिल्यै पाउन सक्दैनन् । जो मानिस पवित्र छन्, श्रद्धा राख्दछन् र सत्यमा बसेका छन् तिनले बाग्मती नदीमा स्नान गर्नाले मोक्ष प्राप्त गर्दछन् । रोगले वा अन्य कारणले दुःखी, भयभित र पीडित भएका ती मानिस जो वाग्मती नदीमा नुहाएर पशुपतिनाथलाई विधिपूर्वक दर्शन गर्दछन् तिनलाई निश्यय नै सधैँ शान्ति मिल्नेछ । नदीहरूमा श्रेष्ठ वाग्मती नदीमा जहाँ जहाँ डुबुल्की लगाएर नुहाए पनि राजसूय र अश्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ ।

एक योजन क्षेत्रफलको क्षेत्र सबैतिर समान फलदायक हुन्छ । मूल क्षेत्र भने रुद्र भगवान् (पशुपतिनाथ) रहेको क्षेत्र हो । पशुपतिमा पशुपतिनाथ मन्दिरको पूर्व–उत्तर भागमा नागराज वासुकीको मन्दिर छ । उनी हजारौँ नागसहित सधैँ मेरो ढोकामा बस्ने गर्दछन् । उनले त्यस क्षेत्रमा पुगेका मानिसलाई विभिन्न थरी बाधा दिने गर्दछन् । त्यसैले पहिले उनलाई दर्शन गरेर त्यसपछि मात्र मेरो दर्शन गर्ने गर्नू । यो विधिले दर्शन गर्नाले मानिसलाई बाधाअडचन पर्दैन । पशुहरूलाई इच्छाअनुसार सृष्टि गरी पालन पनि गर्ने र तिनको मालिक भएका कारण शिवलाई पशुपति भनिएको हो । (पशुको अर्थ जीवात्मा पनि हुन्छ, जीवात्मा भनेको त्यस्तो शक्ति हो जसले गर्दा जीव क्रियाशील हुने गर्दछ । यस अर्थमा मानव पनि पशु नै हो) ।

नोट ः धर्मलाई व्यापार बनाउनेहरूले पशुपति क्षेत्रको महिमा गान गरिएको अध्यायको व्याख्या गर्दै पशुपतिलाई भन्दा पहिले दर्शन गर्नुपर्ने भनिएको वासुकी नागको मन्दिर वैद्यनाथ धामभन्दा ८० मिल पर भारतमा छ समेत भन्न भ्याएका रहेछन् । माथि उल्लेख गरिएको शैलेश्वर मूर्तिको बारेमा शास्त्र भन्दछ । परमगति (मोक्ष) प्रदायक शैलेश्वर अति गुप्त स्थानमा छ । शैलेश्वरभन्दा ठूलो क्षेत्र पृथ्वीमा अरू छैन । ब्राह्मणको हत्या गर्ने, गुरुको हत्या गर्ने, गाई मार्ने आदिजस्ता सबै पापले निर्लिप्त भएको मानिस पनि यो क्षेत्रमा पुगेपछि शुद्ध र निर्मल हुनेछ ।

वाग्मती र मनोहराको दोभान (शंखमूल)मा ऋषिहरू बसोबास गर्दछन् । बुद्धिमान मानिसले काम, क्रोध नगरी विधिपूर्वक त्यहाँ गएर नुहाउँदछ भने उसलाई गंगाद्वार (हरिद्वार) मा गएर नुहाउँदा जति फल प्राप्त हुन्छ अवश्य नै त्यसको १० गुना बढी फल प्राप्त हुन्छ । जहाँका मानिस आफूलाई रक्षा गर्ने नदी, वन आदिको रक्षा गर्दैनन्, त्यहाँका मानिसको कहिल्यै पनि राम्रो हुँदैन । अत्यन्त समृद्ध र घना वस्ति भएका देशमा पनि नदीलाई नाली बनाइँदैन । यहाँ भने आफ्नो अन्नको भकारी मासी अर्काको तलुवा चाटेर खान जान्नुलाई नै पुरुषार्थ मान्ने गरिन्छ ।

सिङको स्थापना

शिवलाई खोज्दै आएका देवताले मृगरूपी शिवको सिङ समाउँदा भाँचिएको सिङको टुप्पोतिरको भागलाई इन्द्रले एक स्थानमा विधिवत् स्थापना गरे । ब्रह्माले सिङको बीच भागलाई विधिपूर्वक त्यहीँ स्थापना गरेँ । यसपछि देवताहरू, देवर्षिहरू, सिद्धजन र ब्रह्मर्षिहरूले त्यो स्थानलाई गोकर्ण भनी प्रतिष्ठित पारे । विष्णुका हातमा रहेको सिङको फेदतिरको टुक्रालाई उनले देवतीर्थमा लगेर स्थापना गरे । त्यो स्थानको नाम शृंगश्वर भनी प्रसिद्ध भयो ।

व्याख्या : स्कन्द महापुराणको हिमवत्खण्डमा र स्वस्थानीमा भने ती सिङका टुक्रा पृथ्वी (गोकर्ण), स्वर्ग र पातालमा लगेर स्थापना गरेको प्रसंग पाइन्छ । उल्लिखित वाराहपुराणको कथा प्रसंगमा सुरुमा इन्द्रले स्थापना गरेको पहिलो शिवलिंगलाई भने रावणले लंका लैजान खोजेको तर नसकी भारतस्थित दक्षिणगोकर्णमा छाडेर लंंका गएको प्रसंग पाइन्छ । अहिले जुन् शिवलिंग गोकर्णमा छ त्यो ब्रह्माजीले स्थापना गरेको मृगरूपी शिवका सिङको मध्यभागको टुक्राको शिवलिंग हो । विष्णुबाट नेपालमै स्थापना गरिएको भनिएको शिवलिंग त्यसभन्दा उत्तरतिर रहेको र त्यसलाई उत्तरगोकर्ण वा शृंगेश्वर नाम दिइएको पाइन्छ । यसका बारेमा थप कुरा पाइएको छैन । यसरी उत्तर, मध्य र दक्षिण गरी तीन वटा गोकर्णका कुरा पुराणमा पाइन्छ ।

शिवको प्रभावले गर्दा वाग्मती नदीमा नुहाएका व्यक्तिको सबै पाप नाश हुनेछ । जसले बाग्मती नदीमा नुहाएर शिवको विधिपूर्वक दर्शन गर्ने गर्दछन् उसका सबै खालका इति–भय शान्त हुनेछन् । व्याख्या ः अति पानी पर्नु, खँडेरी पर्नु, सलह आदि कीराले बालीनाली सखाप पार्नु, मुसाले दुःख दिनु, सुँगा आदि चराले दुःख दिनु र राजा आदि शाषककले कर आदि अनेक निहुँमा दुःख दिनु : कृषकलाई सधैँ डर हुने यी ६ कुरालाई इति भनिन्छ । यसबाट पैदा हुने डरलाई इति–भय भनिन्छ । यस क्षेत्रको हकमा भगवान् पशुपतिनाथ, गोरखनाथ, मत्स्येन्द्रनाथ, वासुकी आदि नाग र वर्षाका बीचमा अत्यन्त गहिरो सम्बन्ध छ । हामी भने पानी परेन भने भ्यागुताको बिहे गराउनतिर बढी ध्यान दिन थालेका छौँ ।

प्रतिक्रिया