एमाले नेताका वैचारिक विचलन

एमालेकै पहलमा नेपाली १०० रुपैयाँको नोटमा पश्चिम नेपालको चु्च्चे नक्सा समावेश हुन सकेको हो जस्ता अनेकौँ विषय ज्ञवाली र सुब्बाले चस्मा सहितका ४ आँखाले नदेख्नु भारी अचम्म हो । यसैगरी पालैपालो सरकारको नेतृत्व गर्ने सहमति बीचमा उल्लंघन हुँदैन भन्ने के ग्यारेन्टी छ भनी सोधिएको प्रश्नको उत्तरमा पनि केही भन्न सकिन्न भनेर सुब्बाले परोक्ष रूपमा एमाले र पार्टी अध्यक्षलाई सहमति उल्लंघन गर्ने पात्र र प्रवृत्तिका रूपमा परोक्ष रूपमा उल्लेख गरेको देख्दा लाज नै लजायो ।

प्राडा बद्रीविशाल पोखरेल

एमाले उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उच्च तहका नेता हुनुहुन्छ । उहाँहरू जस्ता नेताका सार्वजनिक अभिव्यक्ति सुनेर विचलन मात्र होइन स्खलन भन्नुपर्ने हो । ज्ञवाली माओवादीसितको गठबन्धन टिकाएर जानुपर्ने कुरामा एक अन्तर्वार्तामा अड्डी लिँदै हुनुहुन्थ्यो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनयुद्ध दिवसलाई सिरानी हाल्ने, गठबन्धनको सामान्य अनुशासन र मर्म विपरीत एकलौटी ढंगले सरकार सञ्चालन गर्ने र नेकासित मिलेर राष्ट्रिय सरकार बनाउने गोप्य र छली काम गरेको देखीदेखी सत्यतथ्य विपरीत बोल्नु धेरै नजाती कुरा हो ।

पार्टीले आफूलाई औपचारिक रूपमा जानकारी दिएको छैन भन्ने ज्ञवालीको गुनासो सही होला । तर, ज्ञवालीले नेकासित एमालेले गर्न खोजेको गठबन्धनबाट प्रतिगमनको सम्भावना हुनसक्ने सम्मको कुरा गर्नु लज्जास्पद देखिन्छ । राष्ट्रिय राजनीतिका सूक्ष्म अतिसूक्ष्म सूचना नलिई सतही धारणा बनाउनु उच्च तहका नेताको गम्भीर कमजोरी हो । पार्टी अध्यक्षले समग्र परिस्थितिलाई राम्ररी नियालेर अग्रगमनका खातिर र मिसन ८४ लाई ध्यान दिएर परिस्थिति अनुकूल निर्णय गर्न चाहनुभएको स्पष्ट हुन्छ ।

त्यसैगरी २०८१ असार २० गते एक मिडियामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अन्तर्वार्ताका क्रममा बोलेका केही कुरा धेरै झस्काउने खालको देखियो । पत्रकारका प्रश्नको जवाफमा सुब्बा स्वतन्त्रजस्तो भएर बोल्दै हुनुहुन्थ्यो । अहिले एमाले र नेका बीचको नयाँ सहमतिका बारेमा सुब्बा आफैँ अलमल्ल परेको बुझियो । अहिले हुन लागेको गठबधनले देशमा केही आशा पलाउला कि भन्ने प्रश्नको उत्तरमा उहाँ अनुमान गरौँ मात्र भनेर तर्किनु भयो । जहाँ जहिले पनि एकल होस् वा संयुक्त सरकारमा हुँदा एमालेले देश र जनताका हितमा अनेकौँ ठोस गरेको देखीदेखी अन्यथा बोल्नु कुन इमान हो ?

एमालेकै पहलमा नेपाली १०० रुपैयाँको नोटमा पश्चिम नेपालको चु्च्चे नक्सा समावेश हुन सकेको होजस्ता अनेकौँ विषय ज्ञवाली र सुब्बाले चस्मा सहितका ४ आँखाले नदेख्नु भारी अचम्म हो । यसैगरी पालैपालो सरकारको नेतृत्व गर्ने सहमति बीचमा उल्लंघन हुँदैन भन्ने के ग्यारेन्टी छ भनी सोधिएको प्रश्नको उत्तरमा पनि केही भन्न सकिन्न भनेर सुब्बाले परोक्ष रूपमा एमाले र पार्टी अध्यक्षलाई सहमति उल्लंघन गर्ने पात्र र प्रवृत्तिका रूपमा परोक्ष रूपमा उल्लेख गरेको देख्दा लाज नै लजायो ।

सुब्बाले संविधान सशोधनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा प्रमुख दलका नेताले बुझेको कुरा हो भन्दै आफ्नू खास सरोकार नभएको जस्तो वा अबुझपना सुब्बाले प्रस्तुत गर्नुभयो । अनि हाल चालु समावेशी र समानुपातिक प्रतिनिधित्वलाई राष्ट्रिय सभामा रूपान्तर गर्ने कुरा नाजायज होइन । संघ र प्रदेशको सभासद् संख्या घटाउने कुरा सही हो । यस्ता विषयमा अन्यथा बोल्न उपल्ला तहका नेतालाई किमार्थ सुहाउँदैन ।

एमाले र नेकाको गठबन्धनबाट राजनीतिक स्थायित्व होला भन्ने विषयमा एमाले उच्च नेता सुब्बाले जिब्रो मात्र चबाए । एमाले पार्टी र ओली प्रधानमन्त्री हुँदा मुलुक अस्थिरतातिर उन्मु्ख भएको एउटा उदाहरण दिनसक्नुहुन्छ ? अहिलेजस्तो पहिले जनतामा चरम निराशा पहिले थियो ? उतिबेला देशमा ४ प्रतिशत महँगी थियो । अहिलेजस्तो महँगी अक्कासिएको थियो ? उतिबेला देशको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा बढी थियो । अहिले दिनानुदिन देशको आर्थिक अवस्था गिर्दो छ । उतिबेला दक्षिण छिमेकीले थिचोमिचो गर्दा सरकार र सरकार प्रमुखबाट कूटनीतिक रूपमा असहमति व्यक्त गरिन्थ्यो । अहिले जतिसुकै थिचोमिचो गरे पनि साष्टांग दण्डवत् गरिन्छ । यस खालका तमाम यथार्थ र वास्तविकतालाई एक होइन अनेक ज्ञानेन्द्रियले अनुभूत गरेर सुब्बालाई सही सत्य बोल्न केले किन रोकेको होला ?

अहिले हुन लागेको गठबन्धन भुटानी र गिरिबन्धु प्रकरणलाई दबाउनका लागि हो भनेर पत्रकारले प्रश्न गर्दा आँआँ उँउँ गर्दै पन्छिने हो र ? जबजअनुसार देशमा उद्योगधन्दा खोल्न चाहने शक्ति र व्यक्तिलाई उनकै चलअचल सम्पत्ति सदुपयोग गर्न सहुलियत दिनु जायज हो । कृषि र अन्य विभिन्न उपार्जन र उत्पादन गर्ने खालको उद्योग खोल्ने वातावरण बनाएर देशमै रोजगार उपलब्ध गराई युवालाई देशमै आकर्षित गर्नुपर्छ । कुराचाहिँ गर्ने तर कामचाहिँ पटक्कै नगर्ने आलतका दासहरू एमाले भित्रै पनि छन् कि ? न्यायालयले के कस्तासम्म फैसला गरेको छ हामीलाई थाहा छैन र ? तर उपर्युक्त खालका विषय केही नेता पटक्क उठाउँदैनन् ।

सुब्बाजी अधिकांश नेताको जीवन र व्यवहारमा नआएको गणतान्त्रिक चेत सेनामा आजको भालि आउँछ र ? सुब्बा गुरुङले भनेझैँ सेनालाई जतिसुकै आधुनिक र अत्याधुनिक बनाए पनि यसको शक्ति र सामथ्र्यले मात्र बाह्य शक्तिका विरुद्ध प्रतिस्पर्धा गर्न सक्तैन । बरु पार्टी अध्यक्ष ओलीले बाह्य शक्तिका थिचोमिचोका विरुद्ध नेपालीले लड्नु पर्दैन अड्दा वा एक ढिक्का हुँदा हुन्छ भन्नुभएको सुब्बाले थाहा नै नपाएको हो ? त्यसैले नेपाली सेनालाई विशिष्ट र गम्भीर खालका विकास निर्माण र उद्धारमा लगाउनु अपरिहार्य देखिन्छ । त्यसै खाली बस्नु र बसाउनुभन्दा देशको बहुआयामिक सुरक्षा र विकासमा सेनालाई परिचालन गर्नु नजाती होइन । अहिले कतिपय निर्माणका काममा ज्युज्यान हत्केलामा राखेर सेनाका जवानले गरेका कामका क्रममा केही कमजोरी देखिए भनेर खिल्ली उडाउनु हुँदैन ।

आर्थिक इमानका लागि त बारबार हजारबार प्रशिक्षित गर्नुपर्छ । यसमा सबैभन्दा पहिलो नेता नै उदाहरणीय हुनुपर्छ । अरूलाई आरोप लगाउँदा गण्डकीको मुख्यमन्त्री हुँदा गरेका कामहरू पनि सम्झिनु जाती हुन्छ । सुब्बाले सम्पन्न लिटलेचर फेस्टेबलमा प्रगतिशील लेखनका सौन्दर्य चेत र चिन्तनको विषय थोपोसुको उठान गर्नु भएन । आफूलाई कट्टर वर्ग पक्षधर मान्ने कथित माक्र्सवादीहरू वर्गीय हकहितका कुरा चण्डीसरह अहोरात्र जप र पाठ गर्छन् तर कला साहित्य र संस्कृतिका क्षेत्रको वर्ग पक्षधरता तिनले फिटिक्कै बुझ्दैनन् । यो रोग महासंघ सम्बद्ध र प्रलेसका उपल्ला स्रष्टाहरूमा पर्याप्त देखिन्छ । त्यसैले कला, साहित्य, संस्कति तथा सांस्कृतिक रूपान्तरणजस्तो अत्यन्त गहन विषयमा स्थायी समिति सदस्यहरूका बीच एक कार्यशाला गोष्ठी गर्नु अपरिहार्य देखिन्छ । यसमा संस्कृति विभागका जिम्मेवार पदाधिकारीलाई पनि गर्नु अपरिहार्य देखिन्छ । मैला मनले राम्रा र सुकिला काम गरेको कसैले देखेको छ ? मन मस्तिष्क पूरै ड्यामेज भए पछि जबज बुझिन्न र बुझे पनि सही काम हुँदैन । जब आफैँ रूपान्तरित भइन्न तबसम्म घर, टोल, वार्ड र समाजलाई रूपान्तरण गर्ने कुरा बकबास मात्र हो ।

मैले अरूहरू नेतालाई झैँ एमाले उपसचिव पृथ्वीसुब्बा गुरुङलाई अध्ययन गरिरहेको छु । उहाँ एक समय चरम जातीय संकीर्णताले अति ग्रस्त हुनुहुन्थ्यो । उहाँसित यस विषयमा उहाँसित खरो टेलिफोन संवाद गरेको थिएँ । नेताहरूलाई ठीक ठाउँमा उभ्याउने हो भने कार्यकर्ताले कुनै न कुनै रूप र मात्रामा सवालजवाफमार्फत् सक्थेराफी गर्नै पर्छ र मैले धेरै उपल्ला नेताहरूलाई यसरी नै संवाद गरेको हुँदा मदेखि धेरै नेता रिसाएको थाहा पाएको छु । सुब्बाले माओवादी कम्युनिस्ट भएकाले उससित गठबन्धन जाती भन्नुभयो तर उक्त पार्टी रूपमा कम्युनिस्ट भए पनि सारमा चरम अवसरवादी र चरम अस्थिर हो भन्ने कुरा जगजाहेर भएको छ । जननेता मदन भण्डारीले हँसिया हथौडा झण्डा र माक्र्सवादी नारा भट्याउँदैमा जोसुकै कम्युनिस्ट पार्टी हुँदैनन् भन्नुभएको छ ।

माओवादी नेकपा नामको एस पार्टी कम्युनिस्टको आवरणमा कम्युनिस्टविरुद्ध ज्यान फालेर लागेको देखी देखी किन पेन्डुलम कुरा बोल्नुपरेको होला, अचम्म लाग्छ । एमाले नेताले कम्तीमा पनि आफ्नो पार्टीका सही नीति र देश र जनताका पक्षमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन विशिष्ट काम गरेको विषयमा प्रभावकारी रूपमा बोल्न नस्क्नुजस्तो नामर्दगी के हुन्छ ? नेता त नेता जस्तो राप, ताप र प्रताप भएको हुनुपर्छ र न जनताले पत्याउँछन् । यस्ता नियतले गतिलो नियति प्राप्त हुँदैन । जननेता मदन भण्डारी र पार्टी अध्यक्ष ओली आफैँ प्रतिभावान् भएकाले प्रतिभाको उचित कदर गर्नुहुन्थ्यो र हुन्छ । अरू धेरैजसोचाहिँ प्रतिभा र क्षमतालाई प्रोत्साहित गर्दा आफू भुइँमा पछारिने डरका मारे तिनलाई छेउ पर्नै दिँदैनन् । यसको तीतो अनुभव प्रतिभाशाली नेता, कार्यकर्ता, लेखक र स्रष्टाले भोगेका छन् ।

अनाडीहरू नादान, कमजोर र समालोचनात्मक चेत शून्यको भीड अघिपछि लगाएर बडप्पन देखाउँछन् तर जब तिनले आफ्नो गहन जिम्मेवारीअनुसार पटक्क काम गर्न जान्दैनन् र बोल्दा पनि विचार सिद्धान्त, संगठन र सिर्जनाका दृष्टिले तीन ठाउँ भाँचिन्छन् र त्यसबाट आफू आफँैसित रिसाउँछन् । छातीमा हात राखेर जब आफ्नो निर्धो र निकम्बा चरित्र थाहा पाउँछन् तब जननेता मदन भण्डारीले आफ्नो नियत बांगिएकाहरू शीर्षकको एक कवितामा उल्लेख गरेझैँ आफैँसित रिसाउँछन् । जबज अनुसार प्राज्ञिक स्वतन्त्रताको उपयोग गरेर बेलैमा सबै खालका विकृति र विसंगतिविरुद्ध सुधारात्मक लेख लेखेको थियो भने विकृति छिमल्न सहज हुन्थ्यो ।
यसरी बेलैमा लागेको भए टोपबहादुर बन्ने अवस्थै आउने थिएन तर एक समालोचनात्मक लेख लेख्दा अमुक नेताबाट खप्की खानुपर्ने अवस्था रहेसम्म विकृति घट्ने र हट्ने होइन बरु अरू बढ्नेछ । अझ पार्टी अध्यक्षले बारबार सुझाउँदा पनि अटेर गर्ने लबस्तार र थेत्तराहरूको बेलैमा राम्रो ओखती गर्नैपर्छ । यसो नगरे मिसन चौरासी होइन मिसन चौलानी हुनेछ । चामल पनि बेच्न नजान्ने दब्बु नेताबाट धेरै आश नगरे हुन्छ । जनता, सिद्धान्त र नेतृत्वप्रति विश्वास गर्ने नेता के नेता ?

प्रतिक्रिया