जनताको सेवा गर्न पाउँदा धेरै खुसी छु – पुण्यप्रताप यादव, वडाध्यक्ष जउनपा–१४
जनकपुरधाम उपमहानगरपालिका–१४ ले ग्रामीण र सहरी दुबै क्षेत्र समेटेको छ । विभिन्न खालका चुनौतीका बीच दोस्रोपटक निर्वाचित हुन सफल भएका चर्चित वडा अध्यक्ष मध्ये एक हुन पुण्यप्रताप यादव । आफ्नो पहिलो कार्यकालमा वडामा उल्लेखनीय काम गरेकोले नै दोस्रोपटक पनि जित्न सफल भएको ठान्छन् उनी । यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सबै वडामध्ये वडा–१४ निकै नै फोहोर वडा मध्ये एक थियो । तर आफू पहिलोपटक निर्वाचित हुँदा फोहोर व्यवस्थापनमा बढी केन्द्रित भएकोले अहिले सुन्दर वडामा परिणत गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्दछन् । जनताको काम गर्न पाउँदा आफूलाई निकै खुसी लाग्ने बताउँदै उनले फोहोर व्यवस्थापनका लागि ट्रयाक्टरदेखि फोहोर राख्ने डस्टबिनहरूको व्यवस्था गरेको उनले बताए ।
आफनो वडामा रहेको कुटी र मन्दिरहरूमा दर्शनार्थीहरूको चाप बढने गरेकोले डिलक्स शौचालयको निर्माणदेखि धर्मशालाको निर्माण पनि गराएको उनी बताउँछन् । आफ्नो ७ वर्षे कार्याकालमा शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकता दिएर जीर्ण विद्यालय, स्वास्थ्यचौकीहरूको पुनःनिर्माण गरेको यादवले बताए । प्रहरीचौकी निर्माणदेखि लिएर वडाका सम्पूर्ण सडकलाई अहिले ढलान गर्न सफल भएको उनको भनाइ छ । राजनीतिक कारणले काम गर्दा चुनौती थपिने उनको अनुभव छ । आफू जनता समाजवादी पार्टीबाट जितेकोले अन्य पार्टीका कार्यकर्ताहरूले विभिन्न अवरोध पुर्याउँदा काम गर्न अलि असहज हुने गरेको उनको अनुभव छ ।
———————————————————–
वडालाई पनि छुट्टै बजेट भए विकास गर्न सकिन्छ – उपेन्द्र सहनी, अध्यक्ष, जउनपा–२४
जनकपुरधाम उपमहानगरपालिकाको प्रसिद्ध तथा पौराणिक नदी दूधमती नदी बग्ने वडाको रूपमा वडा–२४ रहेको छ । यसको धेरैजसो भाग ग्रामीण क्षेत्रमा पर्दछ । यस वडाका अध्यक्ष उपेन्द्र सहनी बजेट अभावमा आफूले सोचेजस्तो जनतालाई सेवा दिन नसकेको बताउँछन् । उनका अनुसार वडालाई चाहिने जति बजेट उपमहानगरपालिका कार्यालयले नदिँदा जनताले चाहेजस्तो विकास गर्न कठिन भएको छ । उनले भने, ‘सरकारले बजेट सिलिङ गर्दा वडाका लागि पनि छुट्याएर पठाइदिएको भए विकास सोचेजस्तो हुने थियो ।’ उपमहानगरपालिकाले छुट्याएको बजेटमा पनि काम गर्दा उपभोक्ता समिति निर्माण गर्नुपर्ने र उपभोक्ता समितिमा राजनीति हावी भएर काम गर्न निकै नै असहज हुने गरेको अध्यक्ष सहनीको अुनभव छ । उपभोक्ता समितिले काम गर्दा पाएको बजेटको पनि पूर्णरूपमा काम हुन नसकेको अवस्था छ भने बजेटको आधा हिस्सा त्यसै खेर जाने भएकोले यस विषयमा सरकारलाई सोच्नुपर्ने उनको भनाइ रहेको छ । आफ्नो वडामा रहेको मिथिला क्षेत्रकै प्रसिद्ध दूधमती नदीमा सहरभरिकै फोहोरहरूको नाला झारीदिँदा पौराणिक नदी अहिले फोहोर भएकोले फोहोर व्यवस्थापनका लागि सोच्नुपर्ने आवश्यकता रहेको बताए । जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन नहुुनुमा मेयरकै कमजोरी रहेको आरोप पनि अध्यक्ष सहनीको छ । उनले आफू निर्वाचित भएदेखि किसानहरूको सहजताका लागि वडामै बगिरहेको मोती नदीमा बाँध बाँधेर सिँचाइको व्यवस्था गर्न सफल भएको बताए । सडकमा नालाको व्यवस्थापन नहुँदा हिलो हुने र विद्यार्थीहरूलाई विद्यालय जान असहज हुँदै आएकोले नाला सहितको सडक निर्माण गर्न लगाएको उनी बताउँछन् ।
——————————————
पर्यटनको विकास भए अयोध्याभन्दा पर्यटक आउँछन् — दिनेश कुमार सिंह, अध्यक्ष, जउनपा–८
जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत सबैभन्दा बढी पर्यटकीय क्षेत्रहरू रहेको वडा हो वडा–८ । यस वडाका अध्यक्ष दिनेश कुमार सिंह जनताको सहजताका लागि सरकारले तोकेकै समयमा कार्यालय पुगी छिटो र छरितो काम गरिरहेको बताउँछन् । आफू निर्वाचित हँुदाखेरि आफ्नो वडामा विभिन्न समस्या रहेको बताउँदै उनले आफ्नो २ वर्षे कार्यकाल अवधिमा वडामा बाटो, पानी र बिजुलीको समस्या समाधान गर्न सफल भएको बताए । जनकपुरधामको विकासका लागि भिजन भएको मेयर जित्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । उनका अनुसार पार्टीको नेता भएर जितेपछि जनकपुरधामको कुनै पनि हालतमा विकास गर्न सम्भव छैन । आफ्नो वडा पर्यटकीय क्षेत्रले भरिपूर्ण रहेको बताउँदै उनले राम्रो व्यवस्थापन गर्नसके पर्यटकहरूलाई घुम्न एक दिन लाग्ने बताए । बजेट अभावमा जानेर र बुझेर पनि केही गर्न नसकिएको उनी बताउँछन् । पर्यटन विकासका लागि पर्याप्त बजेट नपाएको उनको गुनासो छ । वडाध्यक्ष सिंहको अनुसार पर्यटनको विषयमा इमानदारीका साथ लागे अयोध्याभन्दा बढी पर्यटकहरूको भिड जनकपुरधाममा लाग्ने उनले बताए । उनी भन्छन्, ‘यसका लागि परिवर्तन गर्ने साहस हुनुपर्यो ।’
———————————————
जनकपुरधामको विकासका लागि सरकार इमानदार हुनुपर्छ – अर्जुन चौधरी, अध्यक्ष, जउनपा–११
जनकपुरधाम उपमहानगरपालिका–११ का वडा अध्यक्ष अर्जुन चौधरीसँग जनताको काम गर्न निकै नै चुनौतीको सामना गर्नुपरेको अनुभव छ । सरकारले गर्न नभनेको कुराहरूमा पनि जनताले गर्नुपर्ने भनेर दबाब सिर्जना गर्ने गरेको र घेराउजस्ता काम पनि गरेपछि समस्या हँुदै आएको उनले बताए । जे जस्ता समस्या र अफ्ठ्यारा भए पनि जनताको सेवा गर्नका लागि दिनरात एक भएर काम गरिरहेको उनी बताउँछन् । यस वडामा पोखरी र मठ मन्दिर रहेको तर वडामा सीमित बजेट रहेकै कारण सोचेजस्तो विकास गर्न नसकिएको अध्यक्ष चौधरीले बताए । आफ्नो वडामा रहेको हनुमान मन्दिरको विकासका लागि वडाको बजेट अपुग भएपछि आफूले मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्न लगाएको बताए । जनकपुरधामको विकासका लागि सम्पूर्ण वडाको विकास हुनु अति आवश्यक रहेको उनी बताउँछन् । जनकपुरधामको विकासका लागि सरकार पनि इमानदार हुनु आवश्यक रहेको बताउँदै उनले पर्यटकीय नगर जनकपुरधामका मठमन्दिरलाई व्यवस्थापन गरिए जनकपुरधामको मुहार मात्र फेरिने होइन, मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने बताए ।
प्रतिक्रिया