साना व्यवसायमा न्यून आकर्षण

Bishwo Budathokiकाठमाडौं, ११ फागुन । सरकारले रोजगारीका विभिन्न योजना सार्वजनिक गरे पनि युवाले त्यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन् । तर, केही युवाले आफ्नै सानो लगानीबाट राम्रो आम्दानी गर्नुका साथै २०/२५ जनालाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएका छन् ।

व्यवसाय गर्न सरकारको सहयोग नभए पनि बैंक र वित्तीय संस्थाले पनि कृषि र साना व्यवसाय गर्न नपत्याउने व्यवसायीको गुनासो छ । घरजग्गा नहुनेसँग धितो मागेपछि साना व्यवसायी मर्कामा परेका छन् ।
दाङमा बसोबास गर्ने चार्टर एकाउन्टेन अर्जुन केसी, वैद्यखानाकी सुना गुरुङ, भक्तपुरमा बस्दै आएका सञ्चारकर्मी विश्व बुढाथोकी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी विनोद गिरीले आफ्नै सानो लगानीमा राम्रो कृषि व्यवसाय सुरुआत गरेका छन् ।
धेरै मुनाफा नभए पनि घाटामा उनीहरू छैनन् । उनीहरूले लगानी उठाउन सुरुसमेत गरिसकेका छन् । राजधानीकै चल्तीको एउटा एफएममा प्राविधिकमा कार्यरत काभ्रेका विश्वास बुढाथोकीले जागिर छाडेर कुखुरा र माछा व्यवसाय अँगालेका हुन् । उनलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी विनोद गिरीले साथ दिएका छन् ।
भक्तपुरको वागेश्वरी वासुकी भन्ने स्थानमा झन्डै साढे दुई रोपनी जग्गा झाडामा लिएर उनीहरूले कुखुरा र माछा फर्म सञ्चालन गरेका हुन् । सानो लगानीबाट सुरु गरेका बुढाथोकी र गिरीले राम्रै आम्दानी पनि आर्जन गर्न थालिसकेका छन् । उनीहरूले एक लट कुखुरा बिक्री गरेर पुन: १५ सय चल्ला फर्ममा राखेका छन् । बिक्री भएको कुखुराबाट मुनाफा भएपछि हौसिएका बुढाथोकी र गिरीले फर्मलाई बढाएर चल्ला थप्ने योजना बनाएका छन् ।
आधुनिक तरिकाबाट कुखुरा र माछा पालन गरेका उनीहरूले सानो लगानी भए पनि आफूहरू सन्तुष्ट रहेको बताए । ‘लगानी थोरै भए पनि व्यवसायबाट सन्तुष्ट छौँ,’ बुढाथोकीले भने, ‘एफएममा काम गर्दा समयमा तलब पनि नपाइने । थोरै पैसाले घरखर्च चलाउनै मुस्किल, अब त सजिलो भएको छ ।’
बुढाथोकीले दुईवटा माछा पोखरी पनि बनाएका छन् । पोखरीमा तीन हजार भुरा छाडेको बुढाथोकीले जानकारी दिए । वित्तीय संस्था वा सरकारी बैंकहरू कतैबाट ऋण सहयोग नपाएका बुढाथोकीले आºना साथी गिरीको साथ भने पाएका छन् । बुढाथोकी र गिरीले संयुक्त लगानीमा व्यवसाय सुरु गरे पनि दुवैले तलब भने तोकेका छन् । तलब र अन्य विविध खर्च काटेर बचेको मुनाफा आफूहरूको लगानीको अनुपातमा बाँडफाँड गर्ने गरिएको बुढाथोकीको भनाइ छ ।
बुढाथोकी र गिरीले कुखुरा र माछापालनमा हालसम्म करिब ६ लाख लगानी गरिसकेका छन् । बुढाथोकी केही समय वैदेशिक रोजगारीका लागि कुबेत पनि गएका थिए । वैदेशिक रोजगारीबाट आर्जित रकम नै उनले कुखुरा र माछापालनमा खर्चेका हुन् । उनले घरबाट व्यवसायमा लगानी भित्र्याएका छैनन् । आफ्नै कमाइले व्यवसाय सञ्चालन गरेको जनाए । विदेशमा गरेको परिश्रमले स्वदेशमै धेरै गर्न सकिने पाठ सिकेका बुढाथोकी अब विदेश नजाने बताउँछन् । उनले आफ्नै व्यवसायलाई बढाउँदै लजाने योजना बनाएको बताए । कुखुरा र माछाका लागि आवश्यक पर्ने दाना र चारो तथा अन्य सामग्री खरिद गर्न बाहिर जानुपर्दैन । उनीहरूलाई व्यवसायीले नै फर्ममा सबै सुविधा पुर्‍याइदिने गरेका छन् ।
उता, बैंकमा मासिक झन्डै डेढ लाख रुपियाँ तलब र आकर्षक सुविधा छाडेर चार्टर एकाउन्टेन्ट अर्जुन केसीले पनि दाङ जिल्लामा गाई पालन सुरु गरेका छन् ।
बैंक वा वित्तीय संस्थाहरूबाट ऋण नलिएका केसीले गाईपालनमा झन्डै तीस लाख रुपियाँ लगानी गरेका छन् । उनी आफ्नैो व्यवसायबाट सन्तुष्ट छन् । ‘जागिरभन्दा मेरै व्यवसाय प्यारो छ,’ उनले भने ।
घोराही नगरपालिकामा आफ्नै घरमा दूधडेरी राखेर दैनिक ७० लिटर दूध आफैंले बिक्री गर्छन् । भारतको केरलाबाट चार्टर एकाउन्ट अध्ययन गरेका केसीले नेपाल एसबिआई बैंक लिमिटेडमा इन्टरनल अडिटर प्रमुख, युनाइटेड फाइनान्स लिमिटेडमा फाइनान्स म्यानेजर, सिएसी एन्ड कम्पनीमा अडिटर म्यानेजरको जिम्मेवारी सम्हालिसकेका छन् ।
‘जागरी गर्दा अरूको तलबमा भर पर्नुपर्छ,’ केसीले भने, ‘आफैंले व्यवसाय गर्दा धेरै कमाइ हुने, १५/२० जनालाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिन सकिने भएकाले व्यवसाय नै राम्रो लाग्यो ।’ केसीले नारायणपुर गाविसको खैरा गाउँमा २५ वटा गाई पालेका छन् । उन्नत खालका गाईले दैनिक सत्तरी लिटर दूध दिने गरेको केसीको भनाइ छ । गाई फर्ममा उनले तीनजनालाई रोजगारी समेत दिएका छन् । गाईलाई आवश्यक पर्ने दाना, सरसफाइलगायत काम उनी आपैँm र मजदुरहरूले मिलेर गर्छन् । गाईपालन सुरु गरेपछि दाना व्यापारीले फार्महाउससम्म दानालगायत सामग्री ल्याइदिने गरेको केसीले बताए । यता, काठमाडौंको अनामनगर, वैद्यखाना डेरा गरेर बस्ने सुना गुरुङले सिलाइकटाइबाट राम्रो आम्दानी गर्छिन् । ६ महिना सिलाइकटाइ सिकेकी गुरुङले दैनिक तीन सय रुपियाँसम्म कमाउछिन् । आफ्नो सिलाइ पसल नभए पनि उनले अरूका पसलमा कालीगढका रूपमा काम गरेर परिवारलाई सहयोग पुर्‍याएकी छन् । एसएलसीसम्म अध्ययन गरेकी गुरुङ आफ्नो पेसाबाट सन्तुष्ट रहेको बताउँछिन् । ‘जागरी पाइँदैन,’ उनले भनिन्, ‘सिलाइ–कटाइबाट राम्रै आम्दानी हुन्छ, खुसी छु ।’ सिलाइ पसल राख्न लगानी गर्न रकम नभएको बताउने गुरुङले बैंक र वित्तीय संस्थाहरूले रकम दिन नपत्याएको गुनासो गरिन् ।

प्रतिक्रिया