रामायण, महाभारत जस्ता ग्रन्थहरूमा अन्य कुराका साथै युद्धका कुरा छन् । युद्धका नियम, आचरण संवाद, विजय–पराजय र शान्तिको विषय छन् । योद्धाहरूका आफन्त र मान्यजनले दिइने आशीर्वचनमा आयुष्मान भव, कृतिश्च भव, विजय भव भन्ने हुन्थ्यो । महाभारतका युद्धका पक्षधर कौरव र पाण्डवका क्रमश: आमाहरू गान्धारी र कुन्तीले जहाँसम्म लाग्छ विजय भव भन्ने आशीर्वाद दिन हिचकिचाए वा दिँदै दिएनन् । प्रतिस्पर्धी युद्धका पक्षधरहरूले विजयी भव भनेर एक अर्कोलाई कामना दिने कुरो थिएन, दिएनन् । राजनीतिमा जे पनि जायज हुन्छ भन्ने सुनिएको हो, त्यसैले आफ्नै प्रतिस्पर्धी दल एमाओवादीको २१आँं महाधिवेशनमा पारित प्रस्ताव प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनमा कांग्रेस–एमाले सहमत भए । उनीहरू सहमत हुनुले एमाओवादीले विजय भव, तथास्तुको वचन पाउनु हो । राजनीतिमा धन्यवाद, साधुवाद दिने प्रचलन छ वा छैन ? त्यो पंक्तिकारलाई थाहा छैन तर आफ्नो महाधिवेशनबाट पारित प्रस्तावलाई अनुमोदन गरेवापत कांग्रेस एमालेलाई साधुवाद, धन्यवाद जस्ता कृतज्ञता व्यक्त गर्ने शब्दको औपचारिक निर्वाह माओवादीले गरे नयाँ राजनीतिक संस्कार नै बस्छ । एमाओवादीले बसाल्छ वा बसाल्दैन हेर्नुछ ।
‘वीरभोग्या वसुन्धरा’ भनेर नीति शास्त्रले भन्छ । साहसी वीरहरू नै पृथ्वीको उपभोग गर्ने असली हकदार हुन् भन्ने नीतिलाई प्रतिपक्षी कांग्रेस एमाले जस्ता दलहरूले आत्मसात गरेका छन् वा छैनन् ? कायरहरूको लागि नीतिले ठाउँ राखे जस्तो पनि लाग्दैन । अर्को दलको राजनीतिक एजेन्डासँग सहमत भएर आत्मसमर्पण गर्नुलाई नीतिले वीरको कोटिमा राख्छ जस्तो पनि लाग्दैन । लोकतन्त्रका मूलभूत मान्यता र आदर्शलाई तिलाञ्जली दिएर आफू लोकतन्त्र पक्षधर भएको दाबा गर्ने हक बाँकी छ वा छैन ? त्यसको हेक्का सम्बद्ध पक्षले नै राख्ने हो । यो राजनीतिक नियन्त्रण र सन्तुलनको अवस्था भएन भन्ने आम चिन्ताको विषय मात्र हो ।
३० वर्षसम्म दलीय स्वतन्त्रताको लागि संघर्ष गरेका दलहरूले आफ्नो अस्तित्व र आफैँलाई समाप्त गर्ने मृत्युपत्रमा अन्तत: हस्ताक्षर गर्न पुगे । दाहसंस्कार मात्र बाँकी छ । इटालीका सामाजिक विचारक बिलफेडो परेटो (सन् १८४८–१९२३) ले सामाजिक परिभ्रमणको व्याख्या गरेका थिए । सामाजिक परिवर्तनको चक्रीय सिद्धान्त कसरी पूर्ववत् ठाउँमा आइपुग्छ उनले सूक्ष्म रूपले व्याख्या गरेका छन् । उनको सामाजिक चिन्तनको सार्थकता अहिलेको अभ्यासले भएको पनि छ । विश्वको उत्कृष्ट संविधानमध्ये एक मानिएको २०४७ को संविधान अरूले लेखेका होइनन् । दलहरूको आफ्नै सहभागितामा लेखिएको थियो, त्यसलाई जोगाउन सकेनन् । आफ्नो अस्तित्वसम्म राखेका थिए । आत्मदाहद्वारा त्यसको पनि समाप्ति गरेर आफ्नो राजनीतिक भविष्य कहाँ, कसरी अब सुरक्षित रहन्छ भन्ने ठानेका छन् ? थाहा भएन ।
डा. बाबुराम भट्टराईको सरकारलाई विस्थापन गर्ने योभन्दा अर्को उपाय भएन भनेर आफ्नो बचाउको तर्क दिएको पाइन्छ । एमाओवादीको महाधिवेशनद्वारा पारित प्रस्तावलाई अनुमोदन गरेर उसैद्वारा प्रस्तावित व्यक्तिलाई प्रधानमन्त्रीमा सहमत गर्नुको अर्थ भट्टराई सरकारको विस्थापन हो कि निरन्तरता ? त्यसैले भट्टराई सरकारको विस्थापन गर्न सफल भयौँ भनेर आत्मरतिमा रमाउनुबाहेक थप उपलब्धि प्रतिपक्षले प्राप्त गरे जस्तो पनि लाग्दैन ।
अर्को दलको राजनीतिक एजेन्डासँग सहमत भएर आत्मसमर्पण गर्नलाई बेर नगरेका दलको व्यवहारले पञ्चायत व्यवस्थाको सम्झना पनि भएको छ । कुनै बेला ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनिने गरेको निर्दलीयताको अभ्यास नै अबको दलको गन्तव्य हुनेछ । आगामी दिनको राजनीतिक स्लोगन ‘सबै नेपाली माओवादी, सबै माओवादी नेपाली’ नहोला भन्न सकिँदैन । निर्दलीय पञ्चायत व्यवस्थाभित्र पनि व्यवस्था समर्थकबाट नै बेला मौकामा विरोध हुने गर्दथ्यो । सूर्यबहादुर थापाले भूपूप्रधानमन्त्री तुलसी गिरीलाई सुरक्षा कानुनअन्तर्गत थुनेपछि विश्वबन्धु थापाले राजनीतिक बन्दीको रिहाइ, पञ्चायतको निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्ने माग राख्दै राष्ट्रिय पञ्चायतबाट राजीनामा गरेका थिए । २०२९ साल वैशाखमा सूर्यबहादुर थापाले पञ्चायतको कार्य र गतिको विरोध गरे । १३ सूत्रीय माग प्रस्तुत गरे । द्वैध शासन अन्तको कुरा पनि राखे । थापालगायत डा.केआई सिंह, कृष्णप्रसाद भण्डारी, डा. प्रकाशचन्द्र लोहनी र आरपी खरेलले पत्रकार सम्मेलनमार्फत माग राखेका थिए । माग प्रस्तोता थापा, लोहनी, भण्डारी तथा खरेल हिरासतमा समेत परेका थिए । स्मरणीय छ, थापाबाहेक अन्य तीनजना तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य थिए । पञ्चायत समर्थक थापाले हिरासतबाटै अनसन गरेका थिए । विगतको यो प्रसंग कोट्याउनुको अर्थ अबको कांग्रेस, एमालेद्वारा गरिने विरोध पञ्चायतभित्र पञ्चले नै गरेको विरोधको झिनो स्वर हुनेछ । भिन्न हुने छैन भन्न खोजिएको मात्र हो ।
३० वर्षसम्म शासनको हकदार हामी हौँ, तिमीहरू होइनौ । सत्ताको आस नगरे हुन्छ भनेर प्रस्ट रूपमा भन्दै आएको माओवादीको एजेन्डासँग आत्मसमर्पण गरेपछि उभन्दा हामी भिन्न छौँ भन्ने दाबीको आधार के छ ? कानुनी सर्वोच्चता, न्यायिक स्वतन्त्रता, सीमित सरकार भन्ने आदर्श बाँकी रहेन । त्यतिमात्र होइन, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार एकै व्यक्तिमा केन्द्रित गरेर
शक्तिपृथकीकरणको सिद्धान्तलाई मृत अवस्थामा पुर्याइँदै छ ।
ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने नीति अख्तियार गर्दै आएको एमाओवादीले अन्तत: पश्चिमी आधुनिक चिन्तनका जनक मेकियावेली (सन् १४६९–१५२७) ले आफ्नो प्रसिद्ध कृति ‘प्रिन्स’मा सिकाएको शासन कलालाई पनि माथ गर्यो । इटालीका ती चिन्तकले कलात्मक रूपले फकाउनुलाई पनि एउटा कला भनेका छन् । एमाओवादीको मोहनी कलामा कांग्रेस–एमाले फसेर ‘विजयी भव, त्वं शरणं मम: ।’ भन्न पुगे । यसले आशुतोष भनिने शिवजीले भष्मासुरलाई दिएको बरदान आफ्नै लागि घातक भएकै जस्तोनहोला भन्न सकिँदैन । त्यसका साथसाथै राजा महेन्द्रलाई गाली गर्ने नैतिक आधार दलसँग बाँकी छ वा छैन ? त्यसको जवाफ उनीहरू आफैसँग नै छ ।
प्रतिक्रिया