याचक शैलीमा नेताहरू

anandaramसंविधान सभा निर्वाचनपश्चात् नेपालको राजनीतिक परिदृश्यमा झन्डै दुईतिहाइ संख्यामा वामपन्थीको उपस्थिति देखिएपछि राष्ट्रिय राजनीतिका गाँठागुँठी फुक्दै जानेछन्, राष्ट्रले कोल्टे फेर्नेछ र छाप्राझुप्रामा घामको उज्यालो छिर्नेछ भनेर सबैले भर, विश्वास गरेका थिए । आफैँले उठाएका मुद्दाअगाडि बढाउन नसक्ने, आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न नसक्ने, अझै प्रष्टसँग भन्नुपर्दा होमटास्क नगर्ने विद्यार्थीकारूपमा देख्नुपर्ला भनेर जनताले सोचेका थिएनन् । वामपन्थीहरूले साविकदेखि जनतन्त्र, जनजीविका, राष्ट्रियता, सामाजिक न्याय र सीमान्तिकृत वर्गको उत्थानलाई आफ्नो एजेन्डा र नारा बनाएका थिए । राष्ट्रिय राजनीतिमा वामपन्थीहरूको भव्य उपस्थिति रहे पनि आर्थिक परिवर्तनमा उनीहरू भूमिकाहीन देखिए । राजनीतिक एजेन्डामा साविकको व्यवस्थालाई फाल्न सफल भए पनि नयाँ व्यवस्था स्थापना गर्न सकेनन् । चार वर्ष लगाएर एउटा संविधानसमेत बनाउन सकेनन् । उन्नत र वैज्ञानिक संस्कृति निर्माण गर्ने र राष्ट्रिय चरित्र उत्थान गर्ने, कार्यसूचिको अभाव पाइयो । लोकतन्त्रलाई ओठे शब्द, नारा, भाषण र हल्लाको विषय मात्र बनाए । जे गरेर भए पनि चुनाव जित्नु, संसद्मा बहुमत पुर्‍याउनु, सत्ता हत्याउनु र आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्ने तैयारी सुरु गर्नुमात्र लोकतन्त्र होइन, लोकतन्त्र त संस्कृति, संस्कार र जीवनपद्धति हो भनेर जनतालाई प्रशिक्षित गर्नुपर्नेमा नेताहरूको दिमागमै त्यस्तो सोच देखिएन ।
आन्दोलन र संघर्षलाई लगानी भनेर त्यसको प्रतिफलको दाबी गरिरहेका नेतृत्वको मनोविज्ञान अध्ययन गर्दा सत्ता हत्याउनेबाहेक उनीहरूको भित्री मनसाय भेटिँदैन । सत्तामा बसेर त्यसले धेरै खाइसक्यो, हामी वञ्चितीमा परिरहेछौँ भन्ने ईष्र्या र प्रतिशोधले ग्रस्त भएर संघर्ष, आन्दोलन वा क्रान्ति गरेका रहेछन् भनेर अनुमान गर्नुपर्ने हुन्छ । नेपालमा आजसम्म भएका क्रान्ति र आन्दोलनहरू कुनै पनि ‘प्रोएक्टिभ’ छैनन्, सबै ‘रिएक्टिभ’ छन् । ०७ सालको क्रान्ति राणाशासनविरुद्ध थियो । ०४६ सालको आन्दोलन पञ्चायतविरुद्ध थियो । ०६२/६३ को आन्दोलन राजतन्त्रविरुद्ध थियो । कसैका विरुद्ध गरिएको क्रान्ति, त्यसलाई ढालेपछि अन्तिम बिसौनीमा आइपुग्छ । कसैको विरुद्ध नभएर लोकतान्त्रिक राज्यसंरचना निर्माण गर्नका लागि तथा लोकतान्त्रिक संस्कृति प्रस्तावित गर्न र लोकतान्त्रिक संस्कारलाई जीवनपद्धति बनाउनका लागि हुन्थ्यो भने राणाशासन, पञ्चायत वा राजतन्त्र ढलेपछि अभियानले बल्ल मेलो पक्रिथ्यो र गति लिन्थ्यो । लोकतान्त्रिक संस्कृति निर्माण गर्ने, संस्कार बसाउने र यसलाई जीवनपद्धति बनाउने अभियानमा सँगै राष्ट्र एकजुट भएर लाग्थ्यो ।
०३२ साल अघिको स्कुलमा नागरिकशास्त्र पढ्नुपथ्र्यो । त्यसमा अधिकारसँगै कर्तव्य गाँसिएर आउँछ र त्यो भनेको एउटै सिक्काका दुईवटा पाटा जस्तै अपरिहार्य हुन् भनिन्थ्यो । तर, अहिले हाम्रा नेताहरूले अधिकार मात्र भट्याउन लगाएका छन् र कर्तव्यलाई ‘डिलिट’ गरिदिएका छन् । अधिकार सँगसँगै कर्तव्य र जवाफदेहीताको जिम्मेवारी काँधमा आइसक्छ भन्ने सामान्य ज्ञानलाई बिर्सिदिएकाले राज्यका पदमा डुक्राइरहेका साँढेहरू ढसमस्स विराजमान भएका देखिन्छन् ।
वामपन्थीहरूमा आस्थाको स्खलन हिम पहिरोभन्दा डरलाग्दो छ । विचार, सिद्धान्त र दर्शनलाई थान्कोमुन्को लाएपछि बाटो, दिशा र गन्तव्य हराएको बटुवा बन्न पुग्दोरहेछ । विगतमा एमालेले लोकेन्द्रबहादुर चन्दलाई शिरमा बोकेर सरकार चलाएको, प्रतिगमन आधा सच्चियो भन्दै शेरबहादुरलाई बोकेको, माओवादी पार्टीले वर्ग संघर्ष छाडेर जातीय र साम्प्रदायिक राजनीति गरेका दृष्यहरू यसैका परिणाम हुन् । वर्ग संघर्ष छाडेकैले अहिले पनि उत्पादनका सम्बन्धहरूमा गर्न सकिने परिवर्तनका सामान्य पाइलासमेत नचालेका हुन् । वर्ग संघर्ष छाडेकाले नेतृत्वको सम्बन्ध पनि अन्यत्रै विस्तार भैइसक्यो । उनीहरूको बसउठ र दिनरातको सहवास अर्कैसँग गाढा बन्यो । रहनसहन र जीवनशैली फेरिएर आनकोतान भइसक्यो । सोझा कार्यकर्तालाई भ्रममा राख्न शब्दजाल बुन्न थालिसके । दु:खद विडम्बनाचाहिँ के भयो भने सोझा कार्यकर्ताहरू ती शब्दजालको चास्नीमा अझै लट्ठिएकै छन् ।
०६३ सालमा गौरमा माओवादी पार्टीले आमसभा राखेको थियो । फोरमले एक्कासि हमला गरेर माओवादीका २८ जना होनहार कार्यकर्तालाई एउटै चिहान बनायो । सात किलोमिटरसम्म लखेटी–लखेटी मारे । युवतीलाई बलात्कार गरे । बलात्कार सम्पन्न भएपछि स्तन काटे, योनीमा लौरोले घोचे र तड्पाई–तड्पाई मारे । भयंकर, कहालिलाग्दो विभत्स हत्या थियो । तर, दु:खद विडम्बना के भयो भने प्रचण्ड प्रधानमन्त्री हुनासाथ सर्वप्रथम ती हत्यारामाथि असीम कृपा गरेर मुद्दा फिर्ता लिइदिए । कपिलवस्तुमा त दर्जनौंको हत्या मात्र थिएन, सँगसँगै आगजनी पनि थियो । त्यहाँ पनि कृपादृष्टि राखिदिए । निर्वाचनको पूर्वसन्ध्यामा दाङमा माओवादीका ७ जना होनहार युवाहरू एकै ठाउँमा भुटिएका थिए । भुटभाट सकिएपछि खुमबहादुरजी भारततिर गएर बसे । तर, प्रचण्डले ती हत्यारालाई पनि अभयदान दिए । डा. बाबुराम भट्टराईजीले पनि त्यही गर्नुभयो । कृष्णसेन इच्छुकलाई यातना दिएर मार्ने विक्रमसिंह थापा नै हो भनेर सबैले किटान गरे । त्यसो भए यसलाई प्रमोसन गरिदिनु भनेर एसपी बनाएर नेपालगञ्ज पठाइदिए । भैरवनाथ गणमा माओवादीका ४९ जना युवाहरूलाई चरम यातना दिएर जंगलमा गाड्ने बस्नेत थरका कर्णेल हुन् भनेर कसैले बाबुरामजीलाई सुनायो ।
त्यो सुन्नासाथ रिटायर्ड भएकाले त्यसलाई करारमा भए पनि जर्नेलमा नियक्त गरेर जंगी अड्डाको आर्थिक कारोबार गर्ने जिम्मेवारी दिनु भनेर आदेश गरिदिए । माओवादी कार्यकर्तालाई चरम यातना दिएका हुनाले जर्नेल कुमार लामाप्रति र आइजिपी कुवेरसिंह रानाप्रति पनि बाबुरामजी मेहरवान बने । आर्मीले दुई अरब माग्दा तीन अरब दिने भए । जसरी पनि चुनाव जित्ने महान् योजना भएकाले, त्यसबेलाका लागि चाहिन्छ भनेर खुङ्खार अपराधीहरूका मुद्दा धमाधम फिर्ता लिए । तराईका सन्डमुसन्डहरूले आँखा तरेका हुनाले भूमिसुधार योजनालाई दराजमा थन्क्याइदिए । युएनडिपीको मानव विकास प्रतिवेदन र मानव विकास सूचकांक हेर्दा पहाडे बाहुन–क्षेत्रीको हैसियत निकै तल छ । आर्थिक, शैक्षिकलगायत हरहिसाबले पहाडे बाहुन–क्षेत्रीभन्दा नेवार, थकाली, मनाङे, तराईका फर्वार्ड कास्ट (राजपूत, कायस्थ, भूमिहार र ब्राह्मण) र गुरुङ अगाडि छन् । तर, हाम्रा वामपन्थी नेताहरूको उठबस र सहवास अभिजात्य वर्गसँग भएकाले यिनैलाई आरक्षणलगायत सबै अवसर र सुविधा दिने तथा पहाडे बाहुन, क्षेत्री र दशनामीलाई ‘अन्य’मा खाँदिदिने निर्णय गरे । स्थानीय निकायलाई काम, कर्तव्य, जिम्मेवारी र अधिकार थप गर्दा सर्वसाधारण जनताको राज्यमा पहुँच बढ्ने भएकाले अहिले अभ्यास गरिरहेको अधिकारसमेत कटौती गर्ने गरी संविधान मस्यौदा गरे ।
भित्रभित्रै अभिजात्य वर्गको लागि काम गर्ने, तर कार्यकर्तालाई अल्मल्याउन क्रान्तिकारी भाषण र नारा भट्याउनुपर्ने भएकाले डबल स्ट्यान्डर्ड, ढोँग र पाखण्डको दुर्गन्ध छोप्दै र ढाक्दैमा फजिती भयो । सोझा कार्यकर्ताको लागि भ्रम र भ्रान्तिको खेती हौसिएर मौलायो । यस्तो खेतीमा लागेकाले ‘जुन सिद्धान्तले राज्यको धर्म हुँदैन भन्छ, त्यही सिद्धान्तले राज्यको जात पनि हुँदैन भन्छ,’ भन्दाभन्दै पनि जातीय–साम्प्रदायिक राजनीति (साम्प्रदायिक राजनीतिलाई पहिचानको राजनीति भनिदिनु’ रे) र जातीय राज्यको सुरुङमा राष्ट्रलाई धकेलिदिए । अझै पनि यिनीहरू चेत्दैनन् । आत्म समीक्षा गर्दैनन ्। गल्ती स्वीकार गर्दैनन् । मलिन अनुहार लिएर गौँडा उतादिर्नुहोस् न भन्दै याचक शैलीमा प्रधानन्यायाधीश खिलराज रेग्मीकहाँ धाइरहेका छन् ।

 

प्रतिक्रिया