हिजो जसले सत्ता चलाए, तिनले सही तरिकाले योजना र कार्यक्रम ल्याउन तथा कार्यवन्यन गर्न नसक्दा जलविद्युत् क्षेत्रको विकास हुन नसकेको हो । यसमा बढी जिम्मेवारी राजनीतिक हस्तक्षेप नै हो । त्यो हस्तक्षेप अहिले पनि जारी छ । जलविद्युत् क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त नगरेसम्म जलविद्युत् क्षेत्रको विकास असम्भव छ । पछिल्लो हस्तक्षेपको नमुनाको रूपमा ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजनालाई ९० मेगावाट बनाउन कोसिस गर्नुलाई पनि लिन सकिन्छ । ४/५ वर्षअघि सरकार चलाउनेले ल्याएको गलत कार्यक्रमले अहिले लोडसेडिङ समस्या बढेको छ भने अहिलेको सरकारले गरेको गलत कार्यले अबको ४/५ वर्षपछि जलविद्युत् प्रत्यक्ष असर देखिन्छ । हुन त अहिले बूढीगण्डकी, पश्चिमसेतीलगायतका जलविद्युत् आयोजना अहिले अघि बढाइएको छ, यसले पनि जलविद्युत् उत्पादनमा सहयोग गर्छ । तर, पनि स्थिर राजनीति, नीति नभएसम्म स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित हुँदैनन् । नेपालमा ठूल्ठूला आयोजना बनाउनका लागि पुँजी नेपालसँग छैन, विदेशीको मुख ताक्नुपर्ने अवस्था छ तर पनि चिलिमे जलविद्युत् आयोजनाको निर्माणले नेपालीले पनि जलविद्युत् आयोजना बनाउन सक्छन् भन्ने देखिएको छ । यसका लागि उचित वातावरण भएमा घरघरबाट जलविद्युत् आयोजनामा लगानी हुन सक्ने सम्भावना छ ।
प्रतिक्रिया