सांस्कृतिक आन्दोलनका सन्दर्भमा चलचित्र क्षेत्र साँच्चै नै महत्त्वपूर्ण र विशिष्ट क्षेत्र हो । कलाका विभिन्न रूपका विशेषताहरू चलचित्रमा एकै ठाउँमा मिलेका हुन्छन् । अन्य कलारूप भन्दा यो यस अर्थमा विशिष्ट छ र यसले अधिकांश कलारूपका विशेषतालाई आत्मसात् गरेको छ । चलचित्रकर्मीहरू, जो चलचित्रकर्ममै लाग्नुभएको छ, उहाँहरूलाई आफ्नो कर्मक्षेत्र कति महत्त्वपूर्ण र प्रभावकारी छ भन्ने विषयमा कति हेक्का छ मलाई थाहा छैन । चलचित्र अहिलेको सांस्कृतिक क्षेत्रको सबैभन्दा प्रभावकारी, महत्त्वपूर्ण र अति संवेदनशील क्षेत्र हो । साहित्य र संस्कृतिका विविध विधाहरू त्यसमा संयोजित भएका छन् । त्यसकारण लाखौँलाख जनताहरूलाई एकैचोटि प्रभाव पार्न सक्ने क्षमता चलचित्रले राख्छ ।
नेपालमा चलचित्रकर्मीहरू प्रतिबद्ध आन्दोलनमा लागेको र खासगरी एमाओवादीमा आबद्ध भएको घटनालाई यस क्षेत्रमा एउटा ठूलो झड्का आएको महसुस गरिएको छ । कहिलेकाहीँ झड्का सानातिना कुराहरूमा पनि आउने गर्छन् । एक/डेढ वर्षअघि म दिल्ली पुगेको थिएँ । त्यहाँ झन्डै डेढ सय जना संस्कृतिकर्मीहरूका बीचमा नेपालका बारेमा एउटा सार्वजनिक छलफल कार्यक्रम भएको थियो । छलफलको अन्त्यमा भएको प्रश्नोत्तरको कार्यक्रममा एकजना भारतीय मित्रले मलाई सोध्नुभएको थियो, ‘तपाईंहरू कस्तो खालको संस्कृतिको निर्माण गर्दै हुनुहुन्छ ? तपार्ईंको अध्यक्ष र एकजना सिने नायिका त सँगसँगै नाचिरहेका छन् नि ?’ सांस्कृतिक रूपान्तरण र सांस्कृतिक क्रान्तिको पक्षमा उभिएको एकजना शीर्ष नेताले त्यतिखेरकी प्रतिध्रुवकी चलचित्र क्षेत्रको ग्लामरस अभिनेत्रीसित सडकमा नाच्नुले कस्तो खालको संस्कृतिलाई बढावा दिन्छ भन्ने उनको आशय थियो । वास्तवमा यो चिन्ताको विषय पनि हो । त्यो प्रश्न सुनेर म एकछिन अकमकाएको पनि थिएँ । मैले यस बारेमा ठोस उत्तर दिनुको सट्टा विषयबाट पलायन गर्ने उपाय गरेको थिएँ । कुरा के मात्र हो भने हाम्रा क्रियाकलापबाट के कस्तो अर्थ निस्कन्छन् भनेर सबै सजग हुन आवश्यक हुन्छ । सानातिना कुराहरूले पनि कहिलेकाहीँं ठूलो अर्थ राख्छन् । हाम्रो पार्टीले के गरिरहेको छ ? हाम्रो पार्टीप्रति जनताको आकर्षण कस्तो छ ? सांंस्कृतिक रूपमा हाम्रा गतिविधिहरू कस्ता छन् ? त्यसलाई मसिनोसँग केलाएर देशभित्रका मात्र होइन बाहिरका मानिसहरू र शक्तिहरू समेत बसेका छन् ।
दश वर्षको महान् जनयुद्ध र त्यसैको जगमा भएको जनआन्दोलनको क्रममा सामन्तवादको अजंगको पहाड भनिएको राजतन्त्र ढलेको छ । हामीले फोड्नुपर्ने र भत्काउनुपर्ने सामन्तवाद र साम्राज्यवाद नामक दुई ठूला पहाडमध्ये अहिले हामीविरुद्ध उभिएको पहाड एउटैजस्तो मात्रै भएको छ । संस्कृतिको क्षेत्रमा सामन्ती संस्कृति अझै कमजोर भएको छैन तापनि सामन्तवादको किल्ला राजतन्त्रको अन्तले सामन्तवादी संस्कृतिका जराहरू उखेल्न धेरै सहयोग पुग्ने म देख्तछु । तर, साम्राज्यवादी सांस्कृतिक शोषण उत्पीडनलाई कमजोर बनाउन हामी त्यति सक्षम भएका छैनौँ । त्यसो त साम्राज्यवादी आर्थिक तथा राजनीतिक प्रभुत्व र शोषण–उत्पीडन पनि नेपालमा यथावत् नै छ र अझ बढ्ने क्रम जारी छ । यस अर्थमा हाम्रो राष्ट्रिय स्वाधीनताको पाटो अहिले धेरै कमजोर बनेको छ । चलचित्रकर्मीहरूले पनि राष्ट्रियताको यस सवाललाई बढीभन्दा बढी ध्यान दिनुपर्ने र आफ्नो क्षेत्रबाट उठाउनु पर्ने विषय हो । देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नुलाई मात्रै राष्ट्रियता ठान्ने वा राष्ट्रियताको संरक्षण गरेको मान्ने संकुचित दृष्टिकोण पनि हामी कतिपय मानिसहरूमा छ । निश्चय नै नेपालमाथि भइरहेका विभिन्न किसिमका विदेशी हस्तक्षेप, भूमि नियन्त्रण, सीमा अतिक्रमणका विषयलाई पनि हाम्रा चलचित्रहरूले पर्याप्त मात्रामा
उतारेका छन् भन्ने मलाई लाग्दैन । तैपनि, यस सन्दर्भलाई अलि व्यापक रूपमा हेर्नुपर्ने हुन्छ र सम्पूर्ण सचेत र प्रतिबद्ध चलचित्रकर्मीहरू यसमा प्रष्ट हुनु जरुरी छ ।
वास्तवमा चलचित्रको वा कलाकै राष्ट्रिय चरित्र भनेको के हो ? यस सम्बन्धमा हामीकहाँ सही रूपले आवश्यक मात्रामा छलफल भएको छैन । त्यसैले यस विषयमा अलिकति घोत्लिन आवश्यक छ र घोत्लिऔँ भन्ने मेरो अनुरोध छ । यो हामीले मनन गर्नै पर्ने विषयभित्र पर्दछ । देशभक्तिपूर्ण चलचित्रहरूको निर्माण गर्नु वा कलाहरूको सिर्जना गर्नु राष्ट्रियताको एउटा पाटो हो र त्यो बाह्य पाटो मात्रै हो । यसभित्र विदेशी शक्तिहरूबाट भएका सबै किसिमका शोषण–उत्पीडन र अन्यायका क्रियाकलापको प्रतिरोध गर्नु जस्ता विषय पर्दछन् । यसको आन्तरिक पाटो त्योभन्दा धेरै व्यापक र बलियो छ । अन्य कलारूपहरूको चरित्र जस्तै चलचित्रको राष्ट्रिय चरित्रको निर्धारण मूलत: पाँच कुराका आधारमा हुने गर्छ । पहिलो, जनतालाई कलाको विषयका रूपमा ग्रहण गर्नु, दोस्रो, जनताको आकांक्षा र हितको चित्रण गर्नु, तेस्रो, कलाको विषयका रूपमा मात्र होइन जनतालाई कलाको कर्ताका रूपमा स्वीकार गर्नु, चौथो, जनतालाई भाषा र संस्कृतिका स्रष्टा, संवाहक र संरक्षकका रूपमा मान्नु र अन्तिम कुरो, कलाले सम्बोधन गर्ने जनता नै हो र जनता नै यसका उपभोक्ता हुन् । यसका बारेमा चलचित्रकर्मीहरू अन्य संस्कृतिकर्मीहरू भन्दा अझ बढी सचेत र सजग हुनुपर्ने हुन्छ । तर, चलचित्रकर्मलाई आफ्नो राष्ट्रिय चरित्रबाट च्यूत गर्न, चलचित्रकर्मलाई भित्रैदेखि बिगार्नका लागि सांस्कृतिक साम्राज्यवादले धेरै प्रयत्न पनि गरिरहेको छ । त्यसका विरुद्ध जुध्नका लागि संस्कृतिककर्मीहरूले मूलत: आफ्नो क्षेत्रबाटै ध्यान दिनु जरुरी छ ।
एकाधिकारी पुँजीपति वर्गको हितलाई पक्षपोषण एवं संरक्षण गर्न बनाइएको विचार र संस्कृति संसारभरि फैलाउनु र अरूमाथि थोपर्नु सांस्कृतिक साम्राज्यवादको मुख्य उद्देश्य हो । यसका राजनीतिक विचारकहरूले इतिहासको अन्तको नाममा कम्युनिज्मको विरोध गर्ने र नव–उपनिवेशवाद, राष्ट्रवाद, अन्धराष्ट्रवादमाथि अतिशय जोड दिने, दार्शनिकहरूले विभिन्न किसिमका प्रत्ययवादी सिद्धान्त, रहस्यवाद र धार्मिकताको बखान गर्ने, लेखकहरूले भ्रष्ट बुर्जुवा व्यवस्थाको प्रशंसा गर्ने, व्यक्तिवादको र मानिसको ‘शाश्वत नीचता’को विचार फैलाउने काम गर्दै छन् । पुँजीवादको प्रारम्भिक चरणमा मानवको महिमा गाइन्थ्यो । संसारका प्राणीमध्ये मानिस सर्वश्रेष्ठ हो, आफ्ना अप्ठेराहरूलाई समाधान गर्दै, नयाँनयाँ इतिहास रच्तै प्रगतिको दिशामा अघि बढ्न मानिस सक्षम छ भन्ने धारणा त्यतिखेर थियो । अब मानिस सधैँ नीच थियो र रहनेछ भन्ने कथित शाश्वत नीचताको कुरो गरिन्छ । मानिस पशुजस्तै निकृष्ट र तुच्छ हो भनेर मानिसलाई पशुका रूपमा चित्रण गर्ने प्रयत्न गरिन्छ । सबै प्रसंगमा आफ्ना निजी विषयहरूमा मात्र केन्द्रित रहने, सामाजिकता विरोधी व्यक्ति बन्न जोड दिइन्छ । लेखकहरू पहिलेजस्तो यथार्थको चित्रणमा होइन यथार्थबाट भागेर भ्रमात्मक स्वप्नलोक र मानिसको अध्याँरो अन्तर्जगत्मा अलमलिन्छन् । चित्रकारहरू यथार्थको चित्रणको सट्टा रूपलाई मात्र महत्त्व दिने रूपवादी जालझेल, अमूर्त लिपापोती र घिनलाग्दा व्यवहार–वैचित्र्यलाई कलामा उतार्दछन् । यसरी साम्राज्यवादी संस्कृतिमा मानवतावादी अन्तर्वस्तु हराएर जान्छ । अमानवीयपन यसको विशेषता बन्न पुग्छ । साम्राज्यवादी संस्कृतिले सबैभन्दा बढी मानिसले आफ्ना आदिम वृत्तिमाथि पाएको विजयलाई उल्ट्याएर आदिम प्रवृत्ति र पशुतातिर फर्काउने काम गर्दछ । संस्कृतिको काम मानिसलाई अझ बढी मानवीय बनाउनु, परिष्कृत गर्नु, उन्नत अवस्थातिर लैजानु र नयाँ मान्छेको निर्माण गर्नु थियो र हो । तर, साम्राज्यवादले मानिस पशुभन्दा माथि उठ्न सक्तैन भन्ने धारणालाई अधिकतम प्रश्रय दिने काम गर्दछ । कामोत्तेजना एवं क्षुधातृप्तिमा मात्र मानिसलाई सीमित बनाउने, क्रूरता, हिंसा, हत्यालगायतका जंगली व्यवहारलाई प्रश्रय दिने अपसंस्कृतिको निर्माणमा नै यसको विशेष ध्यान केन्द्रित भएको पाइन्छ । उपभोगलाई जीवनको उद्देश्य बनाउनु, मानिसलगायत सबै वस्तुलाई बिक्रीको सामान वा माल ठान्ने र मालका निम्ति मरिमेट्ने प्रवृत्ति उपभोक्तावाद हो र अहिले सांस्कृतिक साम्राज्यवादले बढीभन्दा बढी यसलाई नै मानिस बिगार्ने हतियारका रूपमा उपयोग गर्दै छ ।
अहिले साम्राज्यवादी चिन्तकहरूले वस्तुगतता, तार्किकता, प्रगति, मानवता, स्वतन्त्रता, समानता, सार्वभौम मूल्य, सत्य, विचारधारा, कार्य–कारणता, पूर्णता, एकता आदिको विरोध र निराशा, अनिश्चितता, विषमता, अनियमितता, विशृंखलता, अराजकता, अनिरन्तरता, आकस्मिकता, संयोग, नियमहीनता, खण्डितताको पक्षमा वकालत गर्दै हिँडेका छन् । यसरी यो मानवतावादी संस्कृतिकै विरुद्ध रहेको हुन्छ । मानिसलाई चरम व्यक्तिवादी र उपभोक्तावादी बनाउने, यौन–वासना, कामुकता एवं अश्लीलता र पशुवृत्ति बढाउने, हिंसा, हत्यालाई प्रश्रय दिने, जीवनको उद्देश्यपरकतालाई उद्देश्यहीनतामा बदल्ने, सामाजिक समस्याप्रति उदासिनता बढाउने, सामाजिक सरोकारका विषयप्रति विमुख बनाउने वा त्यस्ता विषयलाई विकृत रूपले प्रस्तुत गर्ने, व्यक्तिलाई चरम रूपबाट आत्मकेन्द्रित बनाउने, जीवनका हरेक पक्ष, मानिस, उसको शरीर, मानवतासहित संस्कृति, साहित्य, संगीत र सबै कुराहरूलाई उपभोग्य वस्तु वा माल ठान्ने साम्राज्यवादी सांस्कृतिक पक्षप्रति दृढताका साथ संघर्ष गर्नु आवश्यक हुन्छ । सारमा वर्गसंघर्ष र क्रान्तिका सामाजिक नियमहरूको विरोध गर्नु, तिनलाई बंग्याएर प्रस्तुत गर्नु, जसरी पनि जनतालाई न्यायोचित संघर्षबाट भागेर निजी जीवनका तुच्छ स्वार्थमा लाग्न प्रेरित गर्नु, शोषण–उत्पीडन हटाउन सामूहिक प्रयास व्यर्थ छ भन्ने भावना फैलाउनु यसको उद्देश्य हो । यी सबका विरुद्ध चलचित्रका क्षेत्रबाट क्रियाशील हुन सकेको खण्डमा मात्र राष्ट्रियताको पक्षलाई संरक्षण र संबद्र्धन गर्न सकिन्छ ।
चलचित्रकर्मीहरूले चलचित्रको राष्ट्रिय स्वरूपका बारेमा मनन गर्दा जनतालाई अर्काे शब्दमा नेपालको आम विपन्न जनतालाई, श्रमरत र नेपाललाई भरण–पोषण र संरक्षण गर्ने महान् कार्यमा संलग्न जनतालाई सही रूपले चलचित्रमा प्रस्तुत गरिएको छ कि छैन ? वा कुन रूपमा गरिएको छ भनेर हेर्नुपर्ने हुन्छ । जनता अमूर्त कुरा होइन । जनता भन्ने बित्तिकै शोषणबाट मुक्त हुन, श्रमलाई स्वतन्त्र बनाउन क्रियाशील श्रमजीवी जनता हो भन्ने हामीले बुझ्न आवश्यक छ । तिनलाई हामीले वास्तवमा सही रूपमा चलचित्रमा प्रस्तुत गर्यौँ कि गरेनौँ ? चलचित्रको राष्ट्रिय चरित्रलाई निर्धारित गर्ने एउटा मूल बुँदा हो यो । तर, सधैँभरि तलका किसानहरू, मजदुरहरू र प्रगतिशील बुद्धिजीवीहरू नायक/नायिका हुनु मात्रैले राष्ट्रिय चरित्रको निर्धारण गर्दैन । त्यसको निर्धारण सबभन्दा बढी जनताको इतिहासमा प्रकट भएका अति महत्त्वपूर्ण विषय त्यसमा उठाएको छ कि छैन र जनजीवनका मुख्य आयामहरूमा केन्द्रित भएर चलचित्र निर्माण भएको छ कि छैन भन्ने कुराले गर्दछ । यो निकै महत्त्वको विषय हो । यही परिप्रेक्ष्यमा चलचित्रमा महान् राष्ट्रिय विचारलाई प्रतिनिधित्व गर्ने पात्र/पात्राहरूको सिर्जना गरिनु पर्दछ । तर, कलाको राष्ट्रिय भावनाको मुख्य मानदण्ड विषय मात्र भने हुन सक्तैन । कलाको वा चलचित्रको राष्ट्रिय चरित्रलाई देखाउने सारभूत सर्त भनेको जनताको स्वार्थ र हितलाई यसमा प्रतिविम्बन गर्नु हो । यसकै आधारमा कुनै पनि कला वा चलचित्र राष्ट्रिय चरित्रको छ कि छैन भनेर किटान गर्न वा दाबी गर्न सकिन्छ । कला वा चलचित्रमा जनतासित प्रत्यक्ष सरोकार नभएको विषयलाई पनि प्रस्तुत गर्न नसकिने होइन । तर, राष्ट्रिय चरित्रका दृष्टिले त्यस विषयलाई जनताको आँखाबाट हेरिनु आवश्यक हुन्छ र जनताका आवश्यकतालाई तिनले परिपूर्ति गर्नुपर्ने हुन्छ । सबभन्दा ठूलो कुरो हो यो । जनताभन्दा धेरै टाढाको विषय पनि चलचित्रमा आउन सक्तछन्, त्यस्ता विषयलाई चलचित्र बनाउन सकिन्छ । तर ती जनताका आँखाबाट प्रस्तुत हुन्छन् कि हुँदैनन् ? र तिनले जनताका आवश्यकता र आकांक्षालाई पूर्ति गर्छन् कि गर्दैनन् ? यो धेरै महत्त्वपूर्ण कुरो हो । वास्तवमा जनताको स्वार्थले नै कलाकार र उसको जीवन स्थितिलाई निर्धारित गरको हुन्छ र यसले नै उसको सौन्दर्यपरक आदर्शको जगलाई निर्माण गरेको हुन्छ । विषयलाई हेर्ने राष्ट्रिय तरिकाले पनि चलचित्र वा कलाको राष्ट्रिय चरित्रलाई अभिव्यक्त गर्दछ । नेपालका अधिकांश चलचित्रमा देखा पर्ने सबैभन्दा ठूलो कमजोरी यहीँनेर हुने गरेको छ र हामीले आक्रमण गर्ने ठाउँ पनि यही नै हो । चलचित्र विधाका विशेषज्ञ चलचित्रकर्मी स्वयं आपैँm हुन् । बढी घोत्लिनुपर्ने पनि चलचित्रकर्मीहरूले नै हो ।
संस्कृतिको निर्माता जनताहरू हुन् र जनताले निर्माण गरेका चिजलाई हामीले अझ परिष्कार गरेर प्रस्तुत गर्नुपर्छ भन्ने धारणा चलचित्रकर्मीहरूले लिने कि नलिने ? जनताको मनोदशालाई कलासित जोड्ने यो महत्त्वपूर्ण कडी हो । यससित गाँसिएको महत्त्वपूर्ण कुरो, जनताको मानसिकता र मनोदशालाई हाम्रो चलचित्रले कति ध्यान दिएको वा चित्रण गरेको छ ? यसको सशक्तता, प्रभावकारिता र लोकप्रियता यसमा नै निर्भर गर्दछ । लोकप्रियता कलाको आवश्यक गुण हो । लोकप्रियता हासिल गर्न सरल हुनु मात्र पर्याप्त हुँदैन, यसका निम्ति कला जनतासित गाँसिन पनि सक्नु पर्दछ । जनतासित गाँसिनु भनेको जनताको अग्रगामी मानसिकतालाई प्रतिविम्बन गर्नु हो । जति जनताको मनोदशालाई चलचित्रबाट सशक्त रूपमा व्यक्त गर्न सकिन्छ, त्यो त्यति नै लोकप्रिय हुन्छ । यसको अर्थ जनताको पछिपछि चलचित्र निर्माताहरू हिँड्ने होइन, जनताको रुचिलाई परिष्कार गर्नसमेत उनीहरूले भूमिका खेल्न सक्नुपर्छ । यो नै मूल कुरो हो । जनताको पछिपछि गएर मात्रै लोकप्रियता हासिल हुन सक्दैन । लोकप्रियता हासिल गर्नका निमित्त जनताको रुचि उकास्न प्रयत्न पनि हुनुपर्छ । जनता इतिहासका निर्माता र संस्कृतिका निर्माता हुन् भन्ने कुरालाई आत्मसात् गरियो भने मात्र हामीले वास्तवमा राष्ट्रिय चरित्र भएका चलचित्रको निर्माण गर्न सक्छौ ।
चलचित्रको मुख्य कुरो अन्तर्वस्तु हो र त्यसले समाजको हितलाई प्रतिविम्बन गर्न आवश्यक हुन्छ । हिजोआज व्यावसायिक चलचित्रले यस विषयलाई अत्यधिक रूपमा उपेक्षा गर्ने वा विकृत पार्ने काम गरेको छ । व्यावसायिक हुनु भनेको पैसा मात्र कमाउने उद्देश्य लिनु हो । त्यसलाई महत्त्व दिनासाथ यथार्थलाई विकृत बनाउने, कथित लोकप्रियताका पछि दगुर्ने र नाफा कसरी कमाउन सकिन्छ भनेर सामाजिक दायित्वबाट पर पन्छने प्रवृत्ति विकसित हुने गर्दछ । यसबाट हाम्रा चलचित्रकर्मीहरू माथि उठ्नै पर्दछ । हाम्रो उद्देश्य कलाको माध्यमबाट समाजलाई बदल्ने र समुन्नत बनाउने, सांस्कृतिक रूपले समृद्ध मान्छे निर्माण गर्ने हो । यसलाई प्राथमिकतामा राखेर लाभ कसरी लिन सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान जानु आवश्यक छ । अन्यथा हामी र अन्य चलचित्रकर्मीहरूमा खासै भिन्नता रहने छैन ।
प्रतिक्रिया