अयोग्यता नै माओवादीको योग्यता

anil_yogiमाओवादीका नेताहरूको योग्यता भनेको लाटागाँडा जनतालाई बेवकुफ बनाउने, बेरोजगार अचेत युवाहरूलाई पूरा गर्न नसकिले कुराको आश देखाएर देशभित्र उपलब्धिविहीन आन्दोलन गरेर उफार्ने मात्र रहेछ भन्ने कुरा दिनको घामझैँ छर्लंग भयो । बाबुराम र प्रचण्डहरूले कुनै अलौकिक शक्ति ल्याएर आएका भए राष्ट्र र जनताका जीवनमा परिवर्तन गर्न असजिलो अवस्था थिएन । शासक हुन रहर गर्नेहरूले सत्ता खोज्नु नराम्रो कुरा हो भन्न सकिँदैन तर माओवादीलाई सत्ता देश विकाश गर्न र जनताको जीवनशैली परिवर्तन गर्नका लागि होइन संसद्वादी राजनीतिक दललाई दबाउनका लागि आवश्यक भएको देखिन्छ ।

हामी नेपालीहरू आफ्नो राष्ट्र भैकन पनि राजनीति गर्न स्वाधिन हुन नसकेकाले यो अवस्था सिर्जना भएको हो भन्ने कुराको हेक्का कसैले राखेका छैनन् । नेपाली जनताको तागत र नेताका आफ्नै विवेकमा राजनीति गरेको भए यो प्रकारको समस्या आउने थिएन । नेपालका दिग्गज भनिनेहरू बिचरा राष्ट्रपति, संविधानबिनाको देशका सर्वोच्चका न्यायाधीशहरू र कानुनविद्का दिमाखमा समाधान खोजिरहेका छन् त्यो सम्भव देखिँदैन । दलका नेताहरूको यो हावादारी बितन्डालाई राजनीति हो भनेर मान्न सकिँदैन । दलका नेताहरूबीच सहमति भयो भने पनि त्यो तीन महिनाका लागि हुन सक्छ । सहमति भए पनि दलहरू त्यो सहमतिमा अडिन सक्ने होइनन् ।
दलका नेताहरू र राष्ट्रपतिका प्रयासले मात्र वर्तमान संकट समाधान हुने अवस्था देखिँदैन, विदेशीहरूले राष्ट्रपति र नेपाली सेनालाई एकपटक प्रयोग गर्ने योजना बनाएका हुन सक्छन् । त्यो योजना नेपाललाई झनै अस्थिर बनाउन र नेपाली जनतालाई आपसमै भिडाउनका लागि आउने हो, संकट समाधानका लागि आउने होइन । त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्वादी दलका नेतालाई आतंककारी मात्र भन्दै छैनन् सिद्धाइदिने उद्घोष गर्दैछन् । को सकिन्छ र को चिरञ्नजीवी भएर बाँच्न सक्छ हामीले देख्न र हेर्न सकेनौँ भने भावी पुष्ताले देख्नेछ । विगत हिंसात्मक युद्धका बेला गाउँमा प्रजातन्त्रको गफ गर्न संसद्वादी दलका नेता र कार्यकर्तालाई माओवादीले अनुमति दिएको थिएन यो सत्य हो । त्यतिबेलाको माओवादी जस्तै विभिन्न समूहहरू तयार गरेर फेरि देशभित्र त्यही अवस्थाको पुनरावृत्ति गर्न खोजिँदै छ । नेपालको राजनीति कतातर्फ मोडिन खोज्दै छ भन्ने कुरा सबैले जानिराख्दा राम्रो हुनेछ । सत्ता हाथमा नहुने हो भने माओवादीका नेताहरू मानवता विरोधी अपराधमा नेदरल्यान्ड स्थित अन्तर्राष्ट्रिय अदालतमा तानिने खतरा उनीहरूलाई स्वयम् महसुस भएको देखिन्छ ।
माओवादीलाई नेपालको शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउन संसद्वादीहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए । संसद्वादीहरूले त्यो भूमिका नखेलेका भए माओवादी आज यसरी सबैलाई धाक लाउन सक्ने गरी राजनीतिमा बाँच्न सक्ने थिएन, यस्तो घटिया राजनीतिमा धोखाधडी हुनु स्वाभाविक हो । दिल्लीबाट सबै कुराको सहयोग भए पनि माओवादी नेतृत्वलाई हिंसात्मक आन्दोलन सञ्चालन गरिराख्न सजिलो थिएन । उसले बिसाउने अवस्थाको खोजिगरिरहेको थियो त्यही अवस्थामा नेपालबाटै त्यो वातावरण बन्दै जानुले माओवादीहरू उत्साहित हुनु स्वाभाविक थियो । जसले आफ्ना टाउकाका मूल्य तोकेका थिए उनीहरू नै रातो कार्पेट बिछाएर भारतमा लिन आउने भएपछि माओवादीका लागि त्यतिबेला त्योभन्दा ठूलो जितको विषय अरू केही थिएन ।
विदेशीहरूले क्रान्तिकारीहरूलाई आफ्नो अन्डरमा राखेकै थिए । संसद्वादी दलका नेताहरू र राजाको एकताले नेपालको राजनीतिमा विदेशीहरूलाई आजको जसरी चम्केर ठालु पल्टिन दिएका थिएनन् । विदेशीहरूले गाह्रो महसुस गरिरहेका थिए । राजालाई हटाएर नेपालको राजनीतिमा विदेशीहरूले महत्त्वपूर्ण भूमिका खोजेका थिए । राजा पनि जनताको चाहना बुझ्न नसक्ने र विश्व राजनीतिक अवस्था कतातिर जाँदै छ भनेर महसुस गर्न नसक्ने भएकाले उनलाई आफू बाँच्न र दरबार छोड्न त सजिलो भयो होला तर राष्ट्र भने असहज अवस्थामा पुग्यो । यो हिसाबले मूल्यांकन गर्दा नेपालको राजनीतिमा सबै राजनीतिक नेतृत्व नालायक हुन भन्न कसैले अफ्ठेरो मान्नुपर्दैन । दलका नेताहरू नेपालीले आपसमै लडेर मर्नुपर्ने पुरानै अराजनीतिक सभ्यताका पक्षमा जोडतोडले लाग्न खोज्दै छन् । आफँैले दिल्लीबाट काँध थापेर ल्याएको माओवादीले संसद्वादीलाई सत्तामा हिस्सा नदिएको झोकमा आन्दोलनमा छन् । माओवादी उनीहरूलाई सत्तामा सहभागी गराएर लैजाने पक्षमा छैनन् । आन्दोलन सत्ताधारीले पनि गर्ने विपक्षीहरूले पनि गर्ने हो भने मुठभेडको अवस्था निकै चाँडो आउने अड्कल हुन थालेको छ । अपराधीहरूउपर कार्बाही हुनुपर्छभन्दा पत्रकारले आफ्नो कार्यक्षेत्रबाट भाग्नुपर्छ भने त्यो राज्य व्यवस्था लोकतान्त्रिक हो भन्न सकिँदैन ।
पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारर्बाही गरिनुपर्छ भन्ने पत्रकारहरू दैलेखबाट भाग्नुपर्‍यो । जिउँदै गाडिएका पत्रकार हुन वा अरू कुनै नागरिक हुन् उनीहरूका परिवारले न्याय पाउनुपर्छ भन्न नपाइने हो भने यो त निरंकुशताको पराकाष्ठा हो भन्दा हुन्छ । संसद्वादी दलका नेताहरू र माओवादी नेताहरूलाई काँध थापिरहेका कार्यकर्ताले आफैँलाई अब नसमाल्ने हो भने फेरि देश भीषण लडाइँमा जाने खतरा बड्दै गएको छ ।
नेपालको राजनीतिमा विदेशीहरू हामीभन्दा निर्णयक भएको अवस्थामा भोलि के हुन्छ आजै भन्न सकिँदैन । देश सजिलो बाटोतर्फ पक्कै पनि जाने छैन यो त ठोकुवा गर्न सकिन्छ । दलका नेताहरूका चरित्र राजनीतिक चिन्तन र उनीहरूका कार्यशैली हेर्दा नेपाल र नेपालीको आगत उज्यालो र सुखद् छ भन्न सकिँदैन । राष्ट्र र जनताको भविश्यका बारेमा चिन्ता नगर्ने आफ्ना परिवार र शाखासन्तानहरूलाई पोस्नका लागि राजनीतिमा लागेकाहरूबाट आज देश थला परेको छ । यो दु:खको कुरा सुनाउने सुरक्षित ठाउँ कतै छैन, सीधासाधा जनताले राजनीतिक चालबाजी बुझ्न सकेका छैनन् यो पनि आजको अर्को विडम्बना हो ।
राजनीतिमा मात्र होइन सत्तामा समेत अपराधीको सहभागिता सहज भएको छ । नैतिकता र मानवीय मूल्य, मान्यता के हो भन्ने विषय आउने पुस्ताले बुझ्न आवश्यक हुने छैन । लुटेर होस् वा आफ्नै नेपाली दाजुभाइलाई कुटेर होस् बलियाले मात्र बाँच्न पाउने संस्कार सिकेको छ अब आउने पुस्ताले । लोकतन्त्रको नाममा पाखण्डवादले नेपालीलाई सिखाएको राजनीतिक संस्कार र सभ्यता यस्तै छ । हुनेले ठाँटले आरामको जीवन बाँच्ने आधाले सत्ता नजिकका ठालुहरूको दास बन्नुपर्ने कि त सडक जाम गरेर चिच्याउन पाउने व्यवस्थालाई हामीहरू लोकतन्त्र भनिरहेका छौँ ।
राष्ट्रियता मात्र होइन जनताको जीवनसमेत धरापमा परेको छ । अब के हुन्छ कसैले भन्न सक्दैन । भूगोलको सिमाना दिनदिनै खुम्चिँदो अवस्थामा छ । नेपाली जनतासँग नागरिकता छ बस्ने बास र खाने गाँसको व्यवस्था छैन । विदेशमा रोजगारी गर्न जानेको जीवन सुरक्षित छैन । हाम्रो राष्ट्रिय सुरक्षा कस्तो छ कसैलाई मतलव छैन । अनि यो राष्ट्र कसरी सार्वभौम, सुरक्षित र स्वाधीन छ भनेर मान्ने ? यस्ता राष्ट्रिय महत्त्वका विषयमा दलका नेताहरूलाई छलफल र बहस गर्ने फुर्सद छैन । फरकफरक विषयमा दिनमा एक दर्जन जति भाषण गर्न जानेका छन्, हाम्रा नेताहरूले राष्ट्रको अवस्था के हुँदैछ दलका नेताले अझै बुझेका छैनन् । दलका नेताहरूबीचको सहमतिमा राष्ट्रको भविश्य सुन्दर देख्नेहरू पनि छन् । तिनीहरू आफ्ना नेताका भाषणमा ताली बजाउनु आफ्नो धर्म ठान्छन् ।

प्रतिक्रिया