टी–२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा स्थान बनाएकाे छ । कुशल मल्लको आक्रामक ब्याटिङमा नेपालले फाइनलको सेमिफाइनलमा स्थान बनाएको हो ।

आज समुह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको छ । मलेसियाले दिएको १६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो । दोस्रो विकेटका लागि कुशल मल्ल र आशिफ शेखले ६७ रनको साझेदारी गरे ।

मल्ल १७औँ ओभरको पाँचौं बलमा मुहम्मद अमिरको बलमा क्याच आउट भए । ३४ बलको सामना गरेका कुशलले २ चौका र ७ छक्का हाने । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा नटआउट रहे ।

ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा क्याच आउट भए । २५ बलको सामना गरेका कुशलले ४ चौका र ४ छक्का प्रहार गरे ।

आशिफ शेख ३२ रनमा क्याच आउट नै भए । २३ बलमा १ चौका र २ छक्का हानेका आशिफ मुहम्मद अमिरको बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल २ रन बनाउँदा क्याच आउट भए । मलेसियाका लागि मुहम्मद अमिरले तिन तथा पवनदिप सिंहले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ ।

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे । १५औँ ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए ।

जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए । सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए ।

पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । विजय उन्नी १३ रनमा नटआउट रहे ।

मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके । नेपालका लागि अविनास बोहोरा एक्लैले चार विकेट लिए । अविनासले आफ्नो स्पेलमा २७ रन खर्चे । सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया