‘वास्तवमा इतिहासले कहिले ‘सधैँको लागि बिदा’ भएँ भन्दैन,बरु ‘तपाइँसँग फेरि भटौला’भन्छ’ भनेर एडवर्डो गोलिआनोले भनेका कुरा ठीकै रहेछ भनेर अचेल लाग्न थालेको छ । उहिले सानु छँदाका कुराहरुले फेरि भेट गर्न थालेका छन् मलाई । दाजुहरु डा.ऋषिराज–नवराज–गोविन्दले सानो ५ बर्ष हुँदा पछाडी बर्को बाँधेर मलाई बोकेको अचेल सम्झन थालेको छु । ६ बर्षको उमेरमा दाहिने पिँडुलाको पछाडी पुरै खटीरा निस्केर ५ महिनासम्म पनि घरेलु उपचारले निको नभएपछि खुर्कोट नजिकको हाम्रो गाँऊ घोकशिलाबाट सुनकोशीको हर्दीनीघाटमा डुँगाबाट तरेर एकदिन भरि लगाउँदै रामेछाप अस्पताल पुगेर पत्तीले चिरेको जस्तो गरी खोप लाएपछि निकोभएको संझना हुन थालेको छ ।
त्यसको खत चाहिँ १५ बर्षपछिमात्र मेटीएको पनि सम्झना हुन थालेको छ । केटाकटीलाई मावल जान भनेपछि सबै भन्दा जाँगर तथा रमाइलो लाग्ने कुरा अहिले सम्झना हुन्छ । मावली दुम्जाली कोइराला सिन्धुली बसाई सरेपछि ५–६ बर्षको उमेरमा खन्ने खर्कको उकालो चढ्दा नथाककेको र हालको वीपी राजमार्गमा पर्ने भद्रकालीबाट सोझै चियाबारीमा झर्ने छोटो पैदल बाटोको बिचमा पर्ने देउरालीमा आमाहरु भन्दा अगाडि गएर हत्तपत्त ढुङ्गा तथा सेउला पातिहरु राखेको मात्र हैन दुम्जा क्षेत्रतिर जाँदा रिठ्ठे गगतेको त्यो अक्करमा हिँडेको सम्झना पनि आउन थालेको छ ।
सिन्धुलीमा जनकपुर चल्ने जिप देखेपछि देउरालटार सुनकोशी माथी खन्ने खर्कको उत्तरपूर्वि हाल पाखाभरी डोजरले तिथोरेको जस्ता पाता टल्कने गाँऊ घोकशिलामा गएर बारीमा भ्वाँ भ्वाँ घ्यार घ्यार भन्दै ढुङ्गा ठेलेर मोटर गुडाएको मात्र हैन साथीहरुसँग खेत कुले बनाएर अनी कलिला काँचा आँटी–सरिफा भेटनु समेत तोडेर बावियोको डोरीले बाँधेर गोठमा गाईबस्तु बाँधेको भन्दै खेलेको र खेल्दै जाँदा साथीहरुसँग झगडा परे ‘पर्सी हाम्रो घरमा पूजा छ,सेल रोटी खान दिन्न के’भन्दै ठुस्स्एिको पनि सम्झना गर्न थालेको छु ।
राष्ट्रिय उद्यमीहरु उत्पादन गर्ने विराटनगरको सत्यनारायण माध्यमिक बिद्यालयमा कक्षा ८ मा भर्ना गर्न जीवनमा पहिलो पल्ट खिचेको तस्वीर देखी भखैरै केही दिन अगाडी सामाजिक सञ्जालको प्रोफइलमा राखेको तस्वीर हेरेर “कहाँ गयो होला मेरो मिठो बैँश आज,नसुहाउने भएँ भन्छन् तन्नेरिको माझ” गीत गुनगुनाउँदै रचना गर्ने कवि हरिभक्त कटुवाललाई पनि सम्झदै हरिबंश आचार्यलाई झैँ म पनि ‘न उमेरलाई ब्याक गर्नु न त प्याक गर्नु’ जस्तै दोधारमा परेर तलको केही काव्य कथाका पंक्तिहरु समेत कोर्न पुगेँछु । ‘बुढो त हुन मन लाग्दैन,तैपनि बुढो हुनुपर्दो रहेछ । वीवीसीले भने झैं जब हामी वितेका कुराहरु सम्झन लाग्छौँ, तब बुढेशकाल लागेको बुझ्नु पर्दछ । अग्रज गायक प्रेम प्रकाश उप्रेतीले भन्नु भएँझैँ– ‘बिहानै आँखा खुल्दछन् मनमा कुरा खेल्दछन्,छुटी सकेछ माया जाल,अव मेरो बुढेसकाल लागि सक्यो क्यार हजूर ।’
जिन्दगीले धेरै उकालो ओरालो गर्दै बाधा अवरोध खेप्यो । मेरो स्वभीमानी जागीरे जीवनमा मेरा खुट्टाकसरी तान्ने भनेर ककटेल पार्टी चलेको,अर्कोतिर जागीरे तथा अरु केही शुभ चिन्तकहरु मेरो न्यायको लागि चिन्तित भएका भन्ने पनि सुनाएका थिए । मेरा पाइलाहरु लरवराएनन् । उमेर ढल्कदै जाँदा नेपालको वर्तमान राजनीति र त्यसका सम्बद्ध नेताहरुको चर्तिकला हेर्दा जनप्रतिनिधि मूलक राजनीति र संख्यामूलक संसदीय राजनीति फरक कुरा पो रहेछन, ती भीडको संख्याले हाँकेको बैचारिक तथा व्यवहारिक पतन भैसकेको दलाल राजनीति त जनघाती राष्ट्रघाती पनी पो हुँदो रहेछ भन्ने मनले गुन्न थालेको छ ।
आफूखुशी पुस्तकका पानाहरु पल्टाउँदै,पढ्दा पढ्दै उङन पो थालेको छु मान्छेहरु ठीकै भन्छन,अब म बुढो हुन थालेको छु । पहिलेको जस्तो जिऊमा फुर्ति पनि छैन,दुई पाईला सार्ने वित्तिकै फतक गल्न थालेको छु । गनेर राखेको केही साशहरु बाँकी छन्,तीनलाई एक–एक गरेर तान्दै लिन थालेको छु । आँखा पनि धमिलिएर तिरमिराउन थालेछन्,कानले पनि अचेल ठूलो स्वरमात्र सुन्न थालेछन् । भोक पनि त्यति लाग्दैन,खुट्टा त टेक्नै प¥यो भनेर सिता केलाउन थालेको छु ।
मेरा मानवीय स्वभावले राखेका समान्य इच्छाहरु–केही पुरा भए,केही अधुरा रहे । सोच बदलेको छु तर,स्वभीमान–नैतिकता–चरित्र–व्यवहार–मिलनसारिता बदलेको छैन । ‘आखिरी श्रीकृष्ण रहेछ एक’, हैनन् छैनन् केही जातपात छुवाछुत अनेक भनेर ब्यवहारको दृढ लिन थालेको छु । तापनि आफैँले नै नेपाली दलितहूँ भनेर व्यवहार देखाउनेहरुको सामाजिक परिवारिक संस्कारमा नै यो त्यो उ त तल्लो भनेर भेदभाव गरेको थाहा पाएकाले ‘हिन्दु समाजमा तल्लो भन्दा तल्लो जातको मानिसले पनि आफुभन्दा अर्को तल्लो जातको खोजी गर्छ’ भनेर भारतका स्रष्ठा हजारी प्रसाद द्विवेदीले दिनु भएको विचार सम्झदै चित्त बुझाउन थालेको छु । केही बाध्यताहरुको कारण केही पक्षमा बाध्य भएको छु । तनले भन्छ अव म बुढो भएको छु ।
जीदगीको यो मोडमा आईपुग्दा अवकाश पछि छोडेका साथीहरुको म प्रति हेर्ने–माया गर्ने दृष्टिकोणमा केही कमी भएको महसुश गरेको छु । म बाट समेत यस्तै भएको उहाँहरुले अनुभव गर्नु भएको हुन सक्छ,यो उमेर तथा सामाजिक व्यवहारको स्वभाविक पक्ष पनि हो । जिन्दगीको भिडको ठेलमठेलमा शायद म कतै हराउन थालेको छु । मनले पनि भन्न थाल्यो अव म बुढो हुन लागेको छु । धेरै गर्न सकिन्थो–धेरै उपलब्धी हासिल हुन्थ्यो होला जीवनमा । तर,जे छ त्यसैमा चित्त बुझाउन थालेको छु । ‘हाम्रा बाबाको भन्दा साना सरकारी जागीर भएका साथीका बाबाहरुले अकूत मनग्गे कमाए,हाम्रो बाबा त लाटो सोझो भनेर केटाकेटीले साथीहरुसँग कुरा गरेका चाहिँ अहिलेसम्म नसुनेकाले ढुक्क छु ।
ओहो ! कति छिटो सानो देखी तन्नेरी बैँशले माया मारेर ती खुशिका क्षणहरु कर्कलाको पानी जस्तै सलक्क पातबाट खुस्किएर झरे भन्ने सोच्दै यस्तो लाग्न थालेको छ की अव त म आफैँ नै आफैँबाट टाढा हुन लागेको छु । ‘बूढो म¥यो त के भयो,’भनेर भिमनिधि तिवारीले उहले भन्नु भएको सम्झदै खुईलिएको तालु सुमसुम्याउदै गनगन गर्न थालेको छु । बुढा पाकाले भन्ने गरेका,‘हेर भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अड्दैन,हामीले त आफ्नो बल बुताले भ्याएसम्म आफ्ना सपनाहरु पुरा गर्न सकिन्छ की भनेर लाग्यौँ, अब डाँडाको अस्ताउँदो सूर्य जस्तै भयौँ , तिमीहरु आफ्ना सपनाहरु पूरा गर्नतिर लाग्नु, सधैँ देखेको मात्र पनि हुन्न, लेखेको पनि हुन्छ’जस्ता कुराहरु अहिलेका पिढीसँग गर्न थालेको छु । अब म बुढो हुन लागेको छु ।
आफ्ना मनका व्यथाहरु मनमै लुकाएर हाँस्दै ठट्टा गर्ने गरेको छु । कहिले सूर्य विनायक चित्रपुरका फाल्चामा बसेका बुढा बाहरुको बिचमा त कहिले बिराटनगर तीनटोलीयाको पीपल चौकका बुढा दाजुहरुको छेउमा घुस्रिन अनि कहिले केटाकटीसँग भकुण्डो–आशपास लुकामारी खेल्ने रहर जागेको छ । हो,अचेल निस्फिक्रि एक्लै हावामा पो उड्न मन लागेको छ । ल हजुरहरुले नै छिनोफानो गरिदिनुस हो की हैन मलाई बुढेश काल लागेको ? ! मैले बुढेशकाल बारे थोरैमात्र लेखेँ जस्तो लाग्छ । भन्न बाँकी कुराहरु देहायका कविताहरुमा समेटिएका छन् । ‘क्षितिज’ र ‘अब मैँ बुढा होने लगा हूँ’ काव्य–संग्रह पुस्तककी प्रसिद्ध भारतीय साहित्य लेखिका पारुल चर्तुवेदीले आफ्नो हजुरबालाई बुढो भएको देखेपछि दुखी भएर लेख्नु भएको (काव्य सन्ध्यामा प्रदिपसँग साक्षात्कारमा बताउनु भएकी–सेप्टेम्बर १०,ई.सं.२०२३ । कुबेत ।) तल प्रस्तुत कविता निकै चर्चामा आएको थियो,हिन्दीबाट भावानुबाद गरेको छु ।
‘आफूखुशी पुस्तकका पानाहरु पल्टाउँदै,पढ्दा पढ्दै उङन पो थालेको छु मान्छेहरु ठीकै भन्छन,अब म बुढो हुन थालेको छु । पहिलेको जस्तो जिऊमा फुर्ति पनि छैन,दुई पाईला सार्ने वित्तिकै फतक गल्न थालेको छु । गनेर राखेको केही साशहरु बाँकी छन्,तीनलाई एक–एक गरेर तान्दै लिन थालेको छु । आँखा पनि धमिलिएर तिरमिराउन थालेछन्,कानले पनि अचेल ठूलो स्वरमात्र सुन्न थालेछन् । भोक पनि त्यति लाग्दैन, खुट्टा त टेक्नै प¥यो भनेर सिता केलाउन थालेको छु । जुन कुराले पहिले रिस उठ्ने गथ्र्यो,अब त्यस्ता कुरालाई वास्ता गर्दिन । हुर्कीसकेका सन्तानको अगाडि,आफ्नै रीष देखि डराउन थालेको छु । माया त सवैलाई पहिले देखि नै गर्थेँ,अव त झन प्रकट नै गर्न थालेको छु ।
भन्नलाई फेरि समय पाइने हो की हैन भन्ने लागेर,सवै कुरा एकैचोटी भन्ने गरेको छु । मनमा गुम्सिएर बसेका जति कुराहरु थिए,अचेल आँखाबाट बाहिर निकाल्ने गरेको छु ।बरबर आँखाबाट आँशुहरु झर्छन,आँखा नै रोगी कमजोर भएकाले यस्तो भएको भन्न थालेको छु । शरीरले पनि त्यती साथ दिन छोड्यो,मनोवलले त्यसलाई बोक्न थालेको छु । बाहिर हेर्दा त्यस्तो नलागेपनि,भित्र देखि कमजोर हुन हुन थालेको छु ।
उमेर पनि ढल्कदैँ गएको छ,आफ्ना गल्तीहरु गन्न थालेको छु । माफ त माँग्न सक्तिन गल्तीहरुसँग,बरु पश्चताप गर्न थालेको छु । मेरा सबै आफन्तहरु अव मसँग नै बसुन,यस्तो पो कामना गर्न थालेको छु । समय पनि त अब मेरो कहाँ धेरै बाँकी छ र,सबैलाई हेरेर मन बुझाउने गरेको छु । एक दिन त सवैले जानु नै छ,तैपनि ओछ्यानमा पल्टन डरलाग्छ । हिँड्दा हिँड्दै प्राण गएपनि हुन्थयो बरु,भगवानसँग यही प्रार्थन गर्न थालेको छु ।’
अर्थ मन्त्रालय र सो अन्तर्गत लामो अवधिसम्म कार्यरत भएर हाल निवृत जीवन विताईरहनु भएका सहसचिव यज्ञबल्क उपाध्यायले असोज १५ गते २०८० मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको तपशिल बमोजिमको कवितापनि रमाइलो नै छ । ‘जमघटको निम्तोमा अचेल,जान मन लाग्न छाड्यो । अब चाहिँ बुझेँ मैले,बुढेसकालले छोप्न थाल्यो ।। कपडा पुराना हुँदै जाँदा नि,नयाँ लिन मन लाग्न छाड्यो ।अब चाहिँ बुझेँ मैल,बुढेसकालले छोप्न थाल्यो ।। तीनवटा कुरा किन्न जाँदा,दिमागले एउटा बिर्सन थाल्यो । अब चाहिँ बुझेँ मैले,बुढेसकालले छोप्न थाल्यो ।। एकै पेगमा सीमित भई,बढी खान मन लाग्न छाड्यो । अब चाहिँ बुझेँ मैले,बुढेसकालले छोप्न थाल्यो ।। साथै पढेकीको मिस्डकल देख्दा नि,कलबेक गर्न मन लाग्न छाड्यो । अब चाहिँ बुझेँ मैले,बुढेसकालले छोप्न थाल्याे (बुढेसकाल) ।।’
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत वरिष्ठ अनुसन्धान सहायक अर्जुन खतिवडाले २८ असोज २०८० मा आफ्नो सञ्जालको भित्तामा साझा गर्नु भएको निम्नानुसारको कवितामा दशैँ तिहार आएपछि आफु बुढो भए नभएकोे आभाश हुने संकेत छ । ‘दशै तिहार आउदा उम्लिने ती रहरहरु,आजकल खोइ किन सेलाए झै लाग्दैछ । मन त ठ्याक्कै उस्तै छ नि हजुर,ज्यान मात्र बूढो भए झ लाग्दैछ ।। ढिकिमा च्युराको लट्टासङ्गै उफ्रिने बालापन, लिङ्गे र रोटे पिङमा मच्चिने त्यो जवानी फिका–फिका हुँदै गए झैँ लाग्दैछ । मन साच्चै अझै उस्तै छ,तन बूढो भए झैँ लाग्दैछ, बुढो भए झैँ लाग्दैछ ।।’
भारतीय चलचित्र बागवान हेर्ने रहर अझै पुगेको छैन । मसँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतको भोपालबाट प्रकाशित ‘दैनिक अक्षर सम्राट’ का सम्पादक सलीम तन्हाले ०९ डिसेम्बर ई.सं.२०२१ मा सामाजिक सञ्जालमा साझा गर्नु भएको ‘खोजीरहनु भएको छ बाबाले’ शीर्षकको एउटा हिन्दी कविताले जागीरे जीवन निवृत हुँदाको पक्षलाई उजागर गरेको छ । त्यसको भावानुबाद देहाय अनुशार गरेको छु ।।
‘आफ्ना खाट आफ्ना बिछ्यौना, खोजिरहनु भएको छ बाबाले ।। आफ्नै घरमा स्वयं आफ्नै शीर,खोजिरहनु भएको छ बाबाले ।। सबैको आफुखुशी चल्ने गर्छ,यस्तोमा एकछिन सुखको ।
यता–उती, भित्र बाहि,खोजिरहनु भएको छ बाबाले । घरमै बसेका उहाँका छोराछोरीहरु,पेन्सनमा ङ्यार ङुर गर्ने हुन । अब आफ्नै लागि काम,दिनभरी,खोजिरहनु भएको छ बाबाले ।। जागीरमा हुँदा कार्यालयमा विताएका दिन,त्यो तलव,केटाकेटीका ती खुशीहरु । प्रश्नहरुका पहिलेको–जस्तै ‘उत्तर’, खोजिरहनु भएको छ बाबाले । सोध्दै नसोधी बेची पो दिएछन,जसलाई उहिले छोराछारीले । उही पुरानो आफ्नो ‘एउटा घर’,खोजिरहनु भएको छ बाबाले ।। दिन बित्दै गए,केही क्षणको लागि भएपनि शायद,फेरि भेटीन्छ की । मुटु माथी ढुंगा राखी,खोजिरहनु भएको छ बाबाले ।। आफ्ना वितेका दिनको सम्झना गर्दै,अहिले यस युगको मेला–जात्रामा ढाई अक्षर ‘प्रीति–स्नेह’को खोजिरहनु भएको छ बाबाले (खोजिरहनु भएको छ बाबा ले) ।।”
प्रतिक्रिया