सुबिन भट्टराई अहिले ‘समर–लभ’ उपन्यासका कारण चर्चामा छन् । तन्नेरीहरूको रोमान्सलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले प्लस–टु पुस्ताको क्षणिक प्रेम, त्यही पुस्ताको मनोविज्ञानबारे लामो कथा भन्छ । भव्य र गह्रौं साहित्यिक मूल्य नबोकेको यस उपन्यासले नेपाली बजारमा ‘चिक–लिट’ साहित्यको प्रवेश गराएको विष्लेषण गरिन्छ । भट्टराईको यसअघि ‘कथाकी पात्र’ कथासंग्रह प्रकाशित छ ।
तपाईंको जीवनका आधारमा भन्दा, मान्छेले किन प्रेम गर्छन्, कष्ट भोग्छन् र अन्तत ट्रेजेडीसम्म पुग्छन् ?
संसारमा हरकोही मान्छेले सबभन्दा बढी प्रेम आफूलाई नै गर्छ । मान्छे आफैँलाई खुसी बनाउन खोज्छ । त्यसको लागि ऊ प्रत्येक पल साधनहरू खोजिरहन्छ । त्यसपछि बिस्तारै त्यो अहम्मा रूपान्तरण हुन्छ । ‘त्यो मलाई चाहिन्छ, त्यो मलाई नभइ हुँदैन’ भन्ने भाव लिन थाल्छ । हो यही भावलाई मान्छे प्रेम भन्छ, जब कि त्यो प्रेम नभइ अहम् हो । र त्यो नपाउँदा आफ्नो अहममा पुग्ने चोटका कारण ऊ दु:खी हुन्छ, ट्रेजिडीको अवस्थासम्म पुग्छ ।
हामीले पाएको यो सुन्दर र अनमोल जीवनमा प्रेम नै किन आवश्यक छ ?
प्रेमले वा अझ भनौँ प्राप्तिले मान्छेको अहम्लाई सिञ्चित गरिदिन्छ । अधिकांश मान्छे मरुभूमिजस्तै छन् । प्रेम तिनीहरूका लागि वर्षातजस्तै छ ।
तपाईंले ‘समर लभ’मा लेख्नुभएको अतीत र सायाको प्रेमकथा सच्चा प्रेम हो कि कोक पिएजस्तो केही छिनको आनन्द ?
त्यो त मैले भन्दा पनि पाठकहरूले मूल्यांकन गर्ने कुरा हो नि † यसमा दुई अलगअलग पात्रको अलगअलग दृष्टिकोण पनि हुनसक्छ ।
धेरै व्यक्ति आफ्ना प्रेमी वा प्रेमिकाप्रति बढी नै लगाव राख्छन् । सेक्स र शरीरप्रति बढी नै लिप्त हुने जोडीहरूका लागि तपाईंको के सुझाव छ ?
मैले सुझाव दिनुभन्दा पनि हरेकले आफ्नो आवश्यकता आफैँले निर्धारण गर्नुपर्छ । यदि दुवै पक्ष आपसी सहमतिमा लिप्त रहिरहन चाहन्छन् भने यसमा नराम्रो नै के छ र ? रमाइलो गर्नुपर्छ । तर, मुख्य कुरा के हो भे त्यसले कसैको पनि हानि हुनुहुँदैन ।
धेरै युवा फेसबुक र ट्विटरमा झुम्मिन्छन् वा पूरा दिन आइफोन वा आइपडमा बिताउँछन् । त्यसैबाट प्रेमसम्बन्ध गाँस्छन् । यी प्राविधिक विकासले मानिसलाई सच्चा प्रेम गर्नबाट रोक्छ भन्ने तपाईंलाई लाग्छ ?
सबभन्दा पहिला सच्चा प्रेमकै अर्थ पो खोज्ने हो कि † त्यो रोमियो जुलियटको जमानाबाट हामी धेरै अगाडि बढिसकेका छौँ । त्योबेला चिठी लेखिन्थ्यो, आजकाल च्याट गरिन्छ । साधन त फरक भाको हो नि । जमानाअनुसार चल्नु पनि त पर्यो ।
इन्टरनेटले पोर्नोग्राफी हेर्न सजिलो पारिदिएको छ, वन–नाइट स्ट्यान्ड पनि सामान्य भइदिएको छ । मानिसका इच्छा असीमित देखिन्छन् र प्रेमबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । किन ?
इन्टरनेटलाई कसरी प्रयोग गरिन्छ भन्नेमा निर्भर रहन्छ यो कुरा । एकथरीका युवा जमात छन् जो रचनात्मक कार्य गरी इन्टरनेटको सक्दो लाभ उठाइरहेका छन् । अर्काथरी पर्नोग्राफी, ह्याकिंग आदिजस्ता कुरामा रमाइरहेका छन् । म कसैलाई अर्ती उपदेश दिने हैसियत राख्दिनँ । रह्यो मान्छेका इच्छा, भौतिक सुखको मोह र प्रतिस्पर्धाले गर्दा होला मान्छे दिनानुदिन तृषित बन्दै गैरहेको छ । अपरिमित इच्छा र आशक्तिको मोहमा मान्छे यसरी लिप्त भएको छ कि त्यसको पूर्ति नहुँदा ऊ आफैँ दु:खी हुन्छ । त्यसैले, प्रेमबाट मात्र होइन, कुनै पनि किसिमको इच्छा राख्ने मान्छे कहिल्यै सन्तुष्ट रहन सक्दैनन् । र सबैको इच्छा सधैँ पूरा हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन ।
‘समर लभ’मा चेतन भगतकै स्टाइल पछ्याउनुभयो भन्ने बजार हल्ला छ । हामी हावा बगेकै दिशातिर बग्ने कि आफ्नै मौलिक स्टाइल बनाउने ?
आम पाठकसम्म पुग्न नसकेका त्योभन्दा अगाडिका लेखकहरूभन्दा भिन्न विषयवस्तु लिएर चेतन भगतले भारतमा एक किसिमको क्रान्ति नै ल्याइदिए । फेरि त्यो मैले उल्लेख गरेको ‘भिन्न विषयवस्तु’ कहिल्यै नलेखिएको पृथक र महान् विष्यवस्तु होइन नि । उनले स्यानो र युवापुस्ताको मामुली कथालाई टिपेर आफ्नो कृतिमा प्रयोग गरेँ । नेपालमा त्यो कसैले गर्न रुचाइरहेको अवस्था थिएन । साहित्य भनेको भोक, दु:ख, शोषण, गरिबी, नारी–उत्पीडन मात्र हो भन्ने धेरै लेखकहरूको सोच छ । ए बाबा † दुईजना केटा र केटी च्याट गरेको विषय पनि त कथा हुनसक्छ । तपार्इं र म बोल्दा बोल्दै अहिले एकैछिनमा नयाँ कथा जन्मन्छ । हो यो खाले कुरालाई खोइ प्राथमिकता दिएको ? कथा भन्यो कि खाली, ‘हर्के खान नपाएर मर्यो, वा सुन्तलीलाई काजीले हातपात गर्यो वा बिर्खेको खेत जमिन्दारले खाइदियो वा नेताले भ्रष्टाचार गरे, देश दुखिरहेछ’ मार्काका विषयवस्तुमा मात्र किन केन्द्रित हुन्छ ? हो, यस अर्थमा चेतन भगतको स्टाइल अंगिकार गरेको भन्न मिल्छ । तर, लेखाइमा विविधता छ । हाम्रो आ–आफ्नै स्टाइल छ ।
फिल्ममा उहिल्यै प्रयोगमा आइसकेको साधारण प्रेमकथा नै उपन्यासको सार रहेछ । फेरि कथामा कुनै उपकथा आउँदैन । नयाँ कथा नभएपछि उपन्यास कसरी पृथक ?
म आफ्नो कथालाई पृथक भन्दै भन्दिनँ । संसारमा प्रेममाथि यति धेरै लेखिइसक्यो कि नयाँ केही लेख्ने ठाउँ नै छैन । अब खाली हामीले प्रस्तुतिमा मात्र ध्यान दिने हो । भाषाशैली र प्रस्तुति बजोड हुनसक्यो भने कृति आफँै राम्रो हुन्छ । नयाँ विषय खोज्दै हिँडिरहनुपर्छ भन्ने जरुरी नै छैन ।
तपाईंको पात्रले जहिल्यै ‘आज ४०० रुपियाँ तिरेँ’, ‘आज २७ रुपियाँ तिरेँ’भनेर पाठकलाई हैरान पार्छ । तपाईं निकै ‘मनी कन्सस’ हुनुहुन्छ, हो ?
सायद हँुदो हँु । परिदृष्यलाई जीवन्त बनाउन यस्तो गरेको हो, तर त्यसले उल्टै मेरै प्रतिबिम्बलाई प्रत्यावर्तन गरिएको हुन सक्छ । अलिअलि मनी कन्सस त हामी सबै हुन्छाँै नै, होइन र ?
यस्ता ‘चिक–लिट’ साहित्यले नेपाली बजारलाई फाइदा के ?
यसले साहित्यक किताब भन्नेबित्तिकै तीन हात पर भाग्ने मान्छेलाई पनि पढ्न उत्प्रेरित गर्दोरहेछ । यसर्थ भन्न सकिन्छ, नेपाली साहित्य क्षेत्रमा आगामी दिनमा धेरै नै नयाँ पाठक भित्रिनेछन् । उसै पनि अहिले नेपाली साहित्यको बजार दिनानुदिन बढ्दो अवस्थामा छ, यसले झन् सहयोग गर्नेछ । दोस्रो कुरा ‘समर लभ’ धेरैजसो पाठकले चारदेखि छ घन्टामा पढिसिक्याएको खबर मैले पाइरहेको छु । बोझिल विषयवस्तु, गहु्रङ्गा दर्शन सबैले बुझ्न सक्दैनन् । तीन घन्टा सिनेमा हेरे बराबरको सन्तुष्टि पाठकले किताब पढेर पनि पाउन सक्दारहेछन् भन्ने मैले महसुस गरँे ।
उपन्यासको अन्त्यतिर साया र अतीतबीच निकै गम्भीर मनमुटाव छ । तर, मनमुटाव किन भन्ने उत्तर दिइएको छैन र रहस्यमै उपन्यास टुंगिन्छ । कथाको अन्त्य कहिले हुन्छ ? के उनीहरूको प्रेम–रथले विश्राम लिएकै हो ? कि सिक्वेल उपन्यास लेख्न पाठकलाई रहस्यमै छोड्नुभएको ?
उपन्यासको अन्त्य मलाई यहीँ नै गर्न मन लाग्यो । भनाँै न मैले पाठककै जिम्मा लगाइदिएँ । उनीहरूलाई न त मिलाइदिन मन लाग्यो न त पुरै बिछोड गराइदिन । केही नयाँ खाले इन्डिङ्का लागि पनि मैले यसो गरेको हुँ । जहाँसम्म सिक्वेलको कुरा छ, त्यो मलाई लाग्छ म लेख्दिनँ । धेरैले यसको सिक्वेल लेख्ने मागसमेत गरेका छन्, तर त्यस विषयमा म अहिले केही बोल्दिनँ पनि । त्यस्तै दिमाग नै रन्थनिने कारण र प्लट सिर्जना भयो नै भने चँै मैले लेखिरहनै पर्दैन, त्यो समयले नै मलाई लेखाइहाल्नेछ ।
प्रस्तुति : दीपक सापकोटा
प्रतिक्रिया