(जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ । यस कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दु:खान्त र क्रूरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन् । यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु ।) आमाबारे यसरी एउटा रहस्य खुल्यो । अब सकियो । केही छैन । आज सत्ताईस वर्षपछि पनि त्यही विगत चलचित्रको रिलजस्तै आँखावरिपरि फनफनी घुमिरहेको छ ।
हाम्रो आँगनको पूर्वपट्टि एउटा नारानपातीको रूख थियो । त्यसमुनि ओरालो–ओरालो कुलेसोमा बन्चराका धारजस्ता धारिला केही ढुंगा थिए । नारानपातीको बोटमा हामी सैसाला खेल्थ्यौँ । यो, त्यस्तो खेल हुन्थ्यो जसमा लत्रने रूखको टुप्पामा बसेर बेस्सरी तलमाथि गर्दै सैसाला बन्दुकमाला भनिन्थ्यो । त्यस क्रममा एकपल्ट म ठाडो खुट्टै नराम्ररी लडेँ । बन्चराको धारजस्ता धारिला ढुंगामा मेरो टाउको बजारियो । त्यसको खत मेरो टाउकाको दायाँपट्टि अझै पनि छ । म बाँच्छु भन्ने आशा कमैले मात्र गरेका थिए । रुँदै–चिच्याउँदै पूरा चार घन्टा हिँडेर आमाले अस्पताल पुर्याउनुभएछ । सात दिनसम्म म बेहोस थिएँ रे । होस् खुलेपछि डाक्टरले अब कुनै खतरा छैन भन्दा खुसीले रुँदारुँदा आमा मुर्छा पर्नुभएको थियो रे ।
अस्पतालबाट घर फर्केको केही दिनपछि हाम्रो करेसाबारीमा एउटा दृश्य देखियो । एउटा कुकुुर बिरालाको बच्चालाई चाटिरहेको थियो । आमाले भन्नुभयो, बाबु, तिमीले पनि सबैलाई यसैगरी माया गर्नू ।
आमा सबै केटाकेटीलाई कति माया गर्नुहुन्थ्यो † खानेबेला कोही आइपुगे आफू नखाई खुवाउनुहुन्थ्यो । छिमेकमा कोही बिरामी पर्दा वा कसैलाई केही आपत पर्दा बाका आँखा छलीछली सहयोग गर्नुहुन्थ्यो । सहयोग गर्न पाउँदा उहाँका आँखामा असीम सन्तुष्टिका किरणहरू देखापर्थे ।
हाम्रो समाजमा ‘उँचो’ जातिका मानिसहरू थिए । मेरी आमा हीरादेवी घर्तीको जात उँचो थिएन । बा–आमा दुवै अपठित हुनुहुन्थ्यो । तर, जातिभेदमा उहाँहरूको कुनै विश्वास थिएन । बाले प्रेम गरेर आमालाई बिहे गर्नुभएको थियो र उहाँहरूको प्रेमको चिनोस्वरूप हामी जन्मेका थियौँ । आमाको के दोष थियो ? आमाकै कारण सामाजिक रीतिथितिमा हामी बहिष्कृत थियौँ । समाजले त्यसको चरम रूप उहाँको मृत्युमा देखायो ।
सबैलाई माया गर्नुपर्छ भनेर
प्रेरणा दिने र सबैलाई सहयोग गर्ने मेरी आमाको मृत्युमा गाउँलेहरू तमासे बनेका थिए । बाका तेह्रदिने दाजुभाइले समेत लास छुन अस्वीकार गरेका थिए । आमाको लासमाथि छि:छि: दुरदुर गर्नेमा तिनीहरू पनि थिए जो आमाका ऋणी थिए र त्यसबारे बालाई कुनै सूचना नदिई आमा बित्नुभएको थियो । कतैबाट सहयोग नपाएपछि बा र दिदीले निष्पट्ट राति एउटा डोकामा आमाको लास र अर्कोमा बकैनाको चिसो दाउरा पालैपालो बोकेर झन्डै एक कोस टाढा चिहान पुर्याउनुभएको थियो । हाम्रो समाजमा छोरीले बाबुआमाको लास जलाएको हेर्नुहुन्न भन्छन् । १३ वर्षको उमेरमा दिदीले त्यतिसम्म
गर्नुपरेको थियो । लास जलाउन दाउरा नपुग्दा बा घर फर्कनुपरेको थियो । परिस्थितिले दिदी कति साहसी भएकी थिइन् भने बा नफर्कुन्जेल जलिरहेको आमाको लासअगाडि चिहानमा एक्लै उभिइरहेकी थिइन् ।
आमाको मृत्युको दु:खद् दृश्य सम्झँदा अहिले पनि करुणा र आक्रोशले मुटुमा गाँठो पर्छ र आँसुको समुद्र बग्न थाल्छ । म समाजसँग कसरी बदला लिउँm ? आमाको सन्देश छ, म सबैलाई माया गरूँ । म कसरी आमालाई धोका दिनसक्छु ? समाजले आमालाई चिन्न सकेन त के गर्न सकिन्छ †
आमाको निधनको सत्ताईस वर्षपछि गतवर्ष एक दिन अचम्मको दृश्य देखेँ । मैले सम्झेसम्म त्यो, संसारकै सबैभन्दा सुन्दर दृश्य थियो । हाम्रो बिरालाका टुहुरो बच्चालाई एउटी कुकुर्नी दूध चुसाइरहेकी थिई । बिरालाकी माउलाई चितुवाले खाइदिएको थियो । कुकुर्नी भनेर हुन्छ र, त्यसमा मैँले मेरै ममतामयी आमाको दीप्तिमय अनुहार देखेँ † कुनै दिन मेरी आमाले मलाई यस्तै दृश्य देखाउनुभएको थियो । मेरा आँखा त्यसैत्यसै भरिएर आए ।
आमालाई निको होस् भनेर मैले कति देवीदेवता भाकेँ । व्यर्थ भयो । उल्टै, मृत्युपछि आमाको त्यो दुर्गति देख्नुपर्यो । टुहुरो बिरालाप्रति कुकुर्नीको त्यो असीम ममता देखेपछि मानौं मलाई बोधिसत्व प्राप्त भएको थियो । प्रेमजति ठूलो सत्य र सत्यजति ठूलो ईश्वर संसारमा केही छैन । आमाको सन्देशमा कति ठूलो सत्य थियो † सोचेको थिएँ, मेरा पुर्खाले थपना गरेको सारा देवी–देवताका मूर्ति फाल्छु र त्यही ममतामयी कुकुर्नीको सन्देश संसारभरि फिजाउँछु ।
भोलिपल्ट हेर्दा कुकुर्नी गायब थिई । मैले धेरैधेरै खोजी गरेँ । कुकुर्नी कतै फेला परिनँ । आज पनि म त्यसकै खोजीमा छु, त्यसकै कथा संसारलाई सुनाउन चाहन्छु ।
मलाई डर छ, त्यसलाई कसैले मारिदिएको नहोस् । सम्झन्छु, अहिंसावादी गान्धी आफ्नै समुदायबाट कति क्रूरतापूर्वक मारिए † प्रस्ट छ– संसारमै असल अर्थात् सत्य खतरामा छ । म त्यस दृश्यबारे बताउन चाहन्छु, जसले कुकुर्नी गायब भएपछि बारम्बार मलाई सताइरहेको छ ।
अक्सर म आफूलाई एक्लो पाउँछु र आमालाई सम्झेर पागलजस्तै रुँदै खेतैखेत, जंगलैजंगल, बगरैबगर, खोलैखोला दौडिरहेको हुन्छु । केटाकेटीहरू ढुंगाले हान्दै मलाई लखेटिरहेका हुन्छन् । खप्परमा एउटा ढुंगा जोडले बज्रिन्छ र भुक्लुक्क लड्छु । निधारबाट नाक, मुख र गाला हुँदै रगतका धारा बग्न थाल्छन् । म आफूलाई नितान्त असहाय पाउँछु र सासै छुट्लाझैँ रुँदै, हिक्का छाड्दै जोडले बगिरहेको खोलातिर दौडन्छु । किनाराको धमिलो पानीमा रगत पखाल्छु अनि धमिलो प्रवाह एकनास हेरिरहन्छु । मलाई फेरि आमाको सम्झना हुन्छ र बेसरी चिच्याउँदै रुन थाल्छु । मेरो रुवाइले सारा पाखा–पखेरा प्रतिध्वनित हुन्छन् । खोलापारि पखेरामा नुहाइरहेकी भर्खरकी युवती सायद म खोलामा फाल हाल्न लागेँ भन्ठान्छे । शरीरमा चपक्क टाँसिएको चिसो पेटीकोट नफेरी दौडदै ऊ खोलापारि रूखनिर आइपुग्छे र मलाई फाल नहान भन्दै हातले इसारा गर्छे । उसका आँखामा कस्तो प्रेममय याचना †
एउटा बिरालाको बच्चा र कुकुर्नी दौडदै–खेल्दै मकहाँ आउँछन् र मायाले मेरो हात चाट्न थाल्छन् । मलाई एकाएक जीवनको मोह लागेर आउँछ । मलाई पखेरामा नुहाइरहेकी युवतीसँग बिहे गर्ने रहर जाग्छ जो अघिमात्र मलाई खोलामा फाल नहाल भनेर अनौठो प्रेमले याचना गरिरहेकी थिई । त्यो, मेरो सामु कस्तो–कस्तो पाइनसक्नुको मायालु मुस्कान छर्दै उभिन्छे । रोक्न खोज्दाखोज्दै मुस्कान पोखिएजस्तो, अलिकति आँखाले चेतावनी दिएजस्तो, अलिकति मायाले लहसिएजस्तो, आधा मतिर हेर्दै, आधा भर्खर नुहाएर लुगा फेर्न बाँकी आफ्नै चिसो शरीरतिर हेरेर लजाउँदै, कस्तोकस्तो मायालु आँखाले ऊ मलाई हेर्छे । उसका आँखामा म संसारकै सबैभन्दा मीठो मोहनी भेट्छु । पक्कै त्यसले मलाई खरायोको बच्चालाई जस्तै माया गरेर राख्छे होला ।
मेरो सुन्दर कल्पना एकाएक टुट्छ । अब त्यहाँ त्यो, भुतुक्कै पार्ने मायालु युवती छैन । बन्दुक, भाला, छड र हातमा ढुंगा लिएर आएको उद्दण्ड भिड मेरो सामु उभिन्छ । भिडमा ती गुन्डाहरू पनि हुन्छन् जसले आन्दोलनमा लागेको आरोपमा बागबजारको गल्लीमा ममाथि निर्घात कुटपिट गरेका थिए र त्यो कुनै समाचार बन्नसकेको थिएन । म भयभीत हुन्छु । भिड एक्कासि कुकुर्नीमाथि आक्रमण गर्छ । क्षणभरमै रगतपच्छे भएर कुकुर्नी भुइँमा ढल्छे । त्यसका गालाका हड्डी भाँच्चिएर बाहिर निस्कन्छन् । अहो † त्यो कस्तो मुटु नै छियाछिया पार्ने दृश्य † प्राण छाड्ने बेला त्यसले मेरी आमाले जस्तै कस्तो मायालाग्दो गरी मलाई हेरेकी † यो के हो ? अब त्यहाा कुकुर्नी छैन, मेरै आमा रगताम्मे भएर पछारिनुभएको छ । छिनमै दृश्य फेरिन्छ । अब आमाको ठाउँमा म आफैँ घाइते भएर पछारिएको छु र आफू मरिरहेको दृश्य आफैँ हेरिरहेछु ।
के मलाई सिजोफ्रेनिया छ ? म विश्वासपूर्वक भन्छु, छैन । त्यसो भए, म सोध्न चाहन्छु– त्यो कुकुर्नी कहाँ छे जसले बिरालाको बच्चालाई दूध खुवाएर हुर्काएकी थिई ? म त्यसैको खोजीमा छु ।
(चन्दन श्रीको डायरीबाट) / (प्रकाशोन्मुख लामा कथाहरूको संग्रह ‘प्रियदर्शन’ बाट)
प्रतिक्रिया