काठमाडौं । चीनमा जारी भएको १९औँ एसियाली खेलकुद पुरुषअन्तर्गत क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । समूह चरणमा मंगोलिया र माल्दिभसलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको नेपाललाई सिधै टेस्ट राष्ट्रको मान्यता पाएको भारतले खेलको सुरुवातमा २०३ रनको लक्ष्य दिएको थियो ।
तर पराजित भयो ।
यो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा टुंगिएको छ । भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । पाँचौं विकेटका रुपमा पेभेलिएन फर्किएका दीपेन्द्रले १५ बलमा ४ छक्का प्रहार गरेका थिए ।
यस्तै, कुशल मल्ल र सन्दीप जोराले समान २९–२९ रन बनाए । २२ बल खेलेका कुशल मल्लले २ छक्का र २ चौका प्रहार गरे। सन्दीप जोराले भने १२ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।
यस्तै, कुशल भर्तेलले २८, करन केसीले १८ र आसिफ शेखले १० रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् । नेपालविरुद्ध भारतका रवि विश्नोइ र अभिस खानले ३–३ विकेट लिए । अर्शदीप सिंहले २ तथा साइ किशोरीले १ विकेट लिए ।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाएका थिए । ४९ बलमा शतक पूरा गरेका जयसवालले ७ छक्का र ७ चौका प्रहार गरे । चौथो विकेटको रुपमा पेभेलियन फर्किएका जैसवाललाई नेपालका अविनाश बोहराले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका थिए ।
यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे । कप्तान ऋतुराज गायकवाडले २५ रन बनाएका थिए । भारतविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहराले १–१ विकेट लिएका थिए । भारतसँगको यो हारसँगै नेपाल क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
प्रतिक्रिया