नयाँ दिल्ली । भारतीय युवा ब्याटर शुभमन गिल आईसीसी ओडीआई वरीयताको दोस्रो स्थानमा उक्लेका छन् । ओडीआई वरीयतामा गिलको यो करियरको सबैभन्दा उच्च स्थान हो । उनी पाकिस्तानका कप्तान बाबर आजाम भन्दा मात्र पछि छन् ।
जारी एसिया कपमा गरेको प्रदर्शनका आधारमा गिलले एक स्थान सुधार गरेका हुन् । एसिया कपको सुपर फोर अन्तर्गत गिलले पाकिस्तान विरुद्ध पहिलो खेलमा ५८ रन बनाउँदै कप्तान रोहित शर्मासँग १२१ रनको साझेदारी गरेका थिए । श्रीलंका विरुद्ध भने उनी १९ रनमै आउट भए ।
भारतकै विराट कोहली र कप्तान रोहित शर्मा पनि ओडीआई वरीयताको शीर्ष दशमा छन् । एक स्थान सुधार गरेका विराट कोहली आठौं र रोहित नवौं स्थानमा छन् ।
कोहलीले पाकिस्तान विरुद्ध सानदार जितमा नटआउट रहँदै शतक प्रहार गरेका थिए । रोहितले भने समूह चरणमा नेपाल विरुद्ध नटआउट ७४ रन बनाएका थिए भने सुपर फोरमा पाकिस्तान विरुद्ध ५३ र श्रीलंका विरुद्ध ५६ रन बनाएका थिए ।
सन् २०१८ सेप्टेम्बरपछि पहिलो पल्ट भारतका तीन ब्याटर ओडीआई वरीयताको शीर्ष दशमा परेका हुन् । चार वर्षअघि रोहित र कोहलीसँगै शिखर धवन शीर्ष दश वरीयतामा थिए ।
कप्तान बाबरसँगै पाकिस्तानका पनि तीन ब्याटर शीर्ष दशमा छन् । इमाम उल हक पाँचौ र फखर जमान दशौं स्थानमा छन् ।
यस बाहेक रसि भान डेर डुसेन तेस्रो, डेविड वार्नर चौथो, ह्यारी टेक्टर छैटौं र क्विन्टन डे कक सातौं स्थानमा छन् ।
यसैगरी पछिल्ला ८ ओडीआईमा ३ शतक र २ अर्धशतक प्रहार गरेका दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमा २१ स्थान सुधार गर्दै करियरकै उच्च स्थान ११औं स्थानमा उक्लेका छन् ।
बलरतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट जोस हेजलउडसँगै संयुक्त रुपमा दोस्रो स्थानमा छन् । दक्षिण अफ्रिका विरुद्ध दोस्रो ओडीआईमा ४ विकेट लिएका अष्ट्रेलियाका स्पीनर एडम जाम्पा शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
एसिया कपको पछिल्ला दुई खेलमा ९ विकेट लिएका भारतका कुलदीप यादव पाँच स्थान सुधार गर्दै सातौं स्थानमा उक्लेका छन् ।
पाकिस्तानका हरिस राउफ २१औं र भारतका जसप्रित बुमराह २७औं स्थानमा उक्लेका छन् ।
ब्याटरमा नेपालका आसिफ शेख ७४औं र कप्तान रोहित पौडेल ८६औं स्थानमा छन् भने बलरमा सन्दीप लामिछाने ३१औं, दीपेन्द्र सिंह ऐरी ६७औं, करण केसी ८८औं, सोमपाल कामी ९३औं र ललित राजवंशी ९७औं स्थानमा छन् ।
प्रतिक्रिया