बहराइनमा नेपाली श्रमिकसँग दूतावास

दोहा । बहराइनस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको हित र सरोकारका विषयहरु तथा नेपाली दूतावासका गतिविधिहरु, कन्सुलर एवम् कानूनी परामर्श प्रदान गर्ने लगायतका विषयहरुमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बहराइनका लाई नेपाली राजदूत तीर्थराज वाग्लेले दूतावास स्थापना भएको १० वर्ष पुगेको स्मरण गर्दै दूतावाससँगको सहयोग र सहकार्यका निम्ति नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए । राजदूत वाग्लेले दूतावासका गतिविधिहरु बारे उल्लेख गर्दै श्रमिक हित र श्रम कूटनीतिलाई आर्थिक कूटनीतिको एउटा प्रमुख प्राथमिकताको रुपमा लिएको बताएका थिए ।

साथै, आर्थिक कूटनीति कार्यान्वयन तथा नेपाल प्रवर्धनका सन्दर्भमा संस्कृति, पर्यटन, व्यापार, लगानी, प्रविधि, जनशक्ति विकास जस्ता कार्यमा बहराइनमा क्रियाशील विभिन्न नेपाली संघसंस्थासँगको निरन्तर सहयोग र सहकार्य आवश्यक हुने उल्लेख गर्दै नेपाली समुदायको सहभागितामा श्रमिकहरुको हित, सचेतना र दक्षता अभिवृद्धिका लागि राजदूतावास प्रतिवद्ध रहेको बताए ।

अन्तरक्रियाका क्रममा भिजिट भिसामा आउँदा सृजित श्रम समस्या, वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कोषमा आवद्धता, फ्लेक्सी भिसामा पुनःश्रमस्वीकृति प्राप्ति प्रकृया, नेपाल बहराइन सिधा हवाई उडानको आवश्यकता लगायतका विषयमा सहभागीहरुबाट राखिएका प्रश्न तथा जिज्ञासाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा आमन्त्रित श्रम तथा आप्रवासन कानूनविद् तथा वकिल अमानी मोसेनले नेपाली श्रमिकहरुले भोग्नु परेका मुख्य श्रम समस्या र तिनको समाधानमा चाल्न सकिने कदमका बारेमा कानूनी परामर्श प्रदान गरेका थिए । कार्यक्रममा सहभागी संघसंस्थाका प्रमुख, प्रतिनिधिहरु तथा अन्य सहभागीहरुले श्रमिकहरुले भोग्नुपरेका समस्या, अनुभव तथा आफ्ना धारणा राख्दै समस्या सम्वोधनका लागि आग्रह गरेका थिए ।

बहराइनमा श्रमिक सम्बन्धी कानून, प्रकृया स्पष्ट भएको र समस्या सम्वोधनका क्रममा कामदार तथा स्पोन्सर दुवैका सरोकारका बिषय हेरिनेहुँदा आफ्नो श्रम सम्झौताका शर्त तथा सुविधा, भिसा अवधि, कानूनी बसाई, यदि आफ्नो बसाई अनियमित भएको भए नियमित गराउनुपर्ने विषयमा प्रकाश पारेका थिए ।

बहराइनमा कुनै समस्यामा परेको भए सम्वन्धित लोकल एजेन्सी, स्पोन्सर, प्रहरी, दूतावास वा वकीलकहाँ गई समयमै आफ्ना कुरा राख्नुपर्ने र समस्या सम्वोधनका लागि ती निकायमा उजुरी दिनुपर्ने र तत्पश्चात बहराइनको श्रम तथा आप्रवासन कानून बमोजिम प्रक्रिया सुरु हुने बताएका थिए ।

दूतावासका द्वितीय सचिव सुजना अर्यालले श्रम तथा आप्रवासन कानूनविद् अमानी मोसेन सँगको प्रश्नोत्तरका क्रममा सहजीकरण गरेकी थिइन् । श्रम सहचारी जमुना काफ्लेले पुनः श्रम स्वीकृति, अनलाइन फर्म भर्न देखिएका मुख्य समस्या, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा बहराइनमा नेपाली श्रमिकहरुले भोग्ने गरेका समस्या लगायतका विषयमा प्रकाश पार्दै नेपालको श्रम कानून तथा प्रक्रियागत विषयमा जानकारी गराएकी थिइन् ।

दूतावासमा आयोजित कार्यक्रममा राजदूत वाग्ले, द्वितीय सचिव सुजना अर्याल, श्रम सहचारी जमुना काफ्ले, तृतीय सचिव सुनीता लकान्द्री एवं बहराइनको श्रम तथा आप्रवासन कानूनविद् तथा वकील अमानी मोसेन एवम् बहराइनमा कार्यरत नेपाली संघसंस्थाका प्रमुख र प्रतिनिधि तथा बहराइनमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया