काठमाडौं । एसिया कपमा क्रिकेटअन्तर्गत आज भएको सुरुवातको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पहिलो पटक एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको हो ।
पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो । नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पाएको थियो ।
खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु पनि लामो समय क्रिजमा टिक्न सकेनन् । सोमपाल कामीले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आरिफ शेख २६ र गुलसन झा १३ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेल गोल्डेन डकआउट भए । सन्दीप लामिछाने डक आउट भए । पाकिस्तानविरुद्ध गुलसन झा र कुशल मल्लले समान एक छक्का प्रहार गरे ।
नेपाली टोली दोस्रो ओभरमै ३–१४ को अवस्थामा थियो । चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए । आरिफ २६ रन बनाउँदा हरिश राउफको बलमा बोल्ड आउट भए ।
दोस्रो ओभरमा नै तिन विकेट गुमाएर दबाबमा आएको नेपाल सम्हालिने प्रयासमा थियो । पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो ।
ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए ।
कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए । दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए ।
नेपाललाई कम स्कोरमा रोक्न सदाव खान एक्लैले चार विकेट झारे । शहिन शा अफरिदी, हरिस राउफले समान २ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए ।
त्यसअघि मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३४२ रनको योगफल तयार पारेको थियो ।
पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले १ सय ३१ बलमा २ सय १४ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो। बाबर र अहमदको साझेदारी तोड्न नसक्नु नेपालका लागि हारको मुख्य कारण बन्यो ।
बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९औँ शतक पूरा गरे ।
नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे । अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने । अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन् । अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए ।
तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए । रिजवान २४औँ ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए । सोमपाल कै बलमा सघाव खान ४ रनमा बोल्ड आउट भए । पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई विकेट झारे । करण केसी र सन्दीप लामिछानले समान एक विकेट लिए ।
सन्दीपले २८औँ ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए ।
करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए ।
सोमपालले सातौँ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए । मध्यम सुरुवात गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो । ओडिआइ वरियताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुवात गरे पनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो ।
नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए। सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए ।
गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे । दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे ।
प्रतिक्रिया