मेयर शाहले भोट माग्दा भनेको कुरा

करिब डेढ वर्षअघि स्थानीय चुनावको सरगर्मी बढ्दै जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र शाहको एउटा प्रतिवद्धतालाई धेरैले वाहीवाही गरेका थिए । शाहले भनेका थिए, ‘म मेट्रोरेल र मनोरेल जस्ता ठूला ठूला नारा लगाउँदिनँ, काठमाडौंको फोहोर समुचित व्यवस्थापन मेरो पहिलो प्राथमिकता हुनेछ ।’ फोहोर व्यवस्थापनका लागि शाहले सुझाएको उपाय पनि कम आकर्षित थिएन । उनले भनेका थिए, ‘कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलनका लागि हरेक घरलाई भाँडो प्रदान गर्ने । नकुहिने फोहोरमध्ये संभव भए जति कवाडीका रूपमा बिक्री गर्ने, संभव नभएकोलाई जलाउने । कुहिने फोहोर पेलेर ग्याँस उत्पादन गरी सिलिन्डरमा राखेर बिक्री गर्ने । ग्याँस उत्पादनका क्रममा निस्कने ठोस पदार्थबाट मल निर्माण गर्ने । बिक्री नभएको मल खपतका लागि काडमाडौं महानगरपालिकाले खाली जग्गा भाडामा लिएर अग्र्यानिक तरकारी खेती गर्ने ।’ फोहोर व्यवस्थापन गर्ने शाहको अवधारणालाई काठमाडौंबासीले सारै राम्रो माने । चुनाव जिताइदिए ।

चुनाव जित्नासाथ काठमाडौंको फोहोर व्यवस्थापन गर्ने स्थान सिसडोल तथा बन्चरे डाँडा पुगेका मेयर शाहले भने, ‘काठमाडौंले सिसडोल र बन्चरे डाँडा क्षेत्रका स्थानीयमाथि धेरै ठूलो अन्याय गरेको रहेछ, नरकमै बाँच्नुपर्ने वाध्यतामा पारेको रहेछ ।’ शाहले मेयरका रूपमा काम गर्न थालेको १५ महिना पुगिसकेको छ । कार्यकालको २५ प्रतिशत समय सकिएको छ । तर न काठमाडौंको फोहोर संकलनको दुरावस्थामा परिवर्तन आएको छ, न सिसडोल तथा बञ्चरे डाँडा क्षेत्रका जनताको नारकीय जीवनमा परिवर्तन आउन सकेको छ ।

२०५० सालमा तत्कालिन मेयर पिएल सिंह र स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल फोहोर व्यवस्थापन गर्ने स्थान (ल्यान्डफिल्ड साइट) निर्माणका लागि जग्गाको खोजीमा हेलिकोप्टर चढेर सिसडोल पुग्दा स्थानीय जनताले फूलमाला तथा जलघडा राखेर स्वागत गरेका थिए । त्यो क्षेत्र त्यतिबेला कति दुर्गम रहेछ भन्ने कुरा हेलिकोप्टरद्वारा जानुले नै पुष्टि गर्छ । चक्रपथभित्र मात्रै काठमाडौं सहर सीमित थियो । चक्रपथभित्र पनि सामाखुसी, खुशीभुँ, म्हैपी, अनामनगर, बुद्धनगर, शान्तिनगरलगायत धेरै क्षेत्रका फाँटहरूमा बस्ती थिएन । अधिकांश कुहिने फोहोर खेत तथा करेसाबारीमा प्रयोग हुन्थ्यो । त्यो परिवेशमा सिसडोलबासीले निकै सस्तो मूल्यमा जग्गा उपलव्ध गराएका थिए । ल्यान्डफिल साइट निर्माण हुनुभन्दा अघि पक्की मोटरबाटो बन्छ र आफूले उत्पादन गरेको दूध तथा तरकारी सहरमा लगेर बेच्न पाइन्छ भन्ने अपेक्षा स्थानीय जनताको थियो । तर न गतिलो ल्यान्डफिल्ड साइट बन्यो, न गतिलो सडक बन्यो । उल्टै फोहोरको दुर्गन्धका कारण आफ्नो पुख्र्यौली थातथलो नर्कमा परिणत भयो ।

यति बेला सिसडोल तथा बन्चरे डाँडाका स्थानीय बासिन्दा फेरी आक्रोशित छन् । फोहोर विसर्जनमा फेरी अवरोध खडा गरेका छन् । मागमाथि माग तेस्र्याएका छन् । लगातार थपिँदै जाने माग पूरा गरेर साध्य चल्ने अवस्था छैन । समस्या अर्कै हो । किनकी अहिलेको सिसडोल र बञ्चरे डाँडालाई ३० वर्ष अघिको आँखाले हेरेर समस्या समाधान गर्न सकिन्न । काठमाडौं सहर बिस्तार हुँदैहुँदै सिसडोल नजिकै पुगिसक्यो । ललितपुरको लेले क्षेत्रको जग्गा आनाको २५ लाख रुपैयाँ पुगिसकेको सिसडोलबासीलाई थाहा छ । सिंहदरबारबाट लेलेको दुरीभन्दा सिसडोलको दुरी आधा छोटो छ । काठमाडौं त्रिशुली हाइवेबाट त झन् छोटो छ । सिसडोलबासी अब आफ्नो जग्गा घडेरीको रूपमा महँगो मूल्यमा बेच्न चाहन्छन्, तर ल्यान्डफिल साइडको दुर्गन्धका कारण जग्गाको मूल्य पाउनु त के कुरा बिक्रीकै लागि समस्या छ । चुरो कुरा यही हो । मेयर शाहले भोट माग्दा जे भनेका थिए, त्यही कुरा कार्यान्वयन गर्नु नै स्थायी समाधान हो ।

प्रतिक्रिया