आज–भोलि अमेरिकामा आउने नेपालीहरूको संख्या दिनदिनै बढ्दै छ । अमेरिका आएर केही वर्ष बसेर नेपाल पुगेपछि ती नेपालीहरूको गफ सुन्दा अमेरिकामा तिनलाई चिन्ने जान्नेहरू ‘ए’ फलानोको हैसियत यो पो रहेछ भनेर उल्टो छक्क पर्छन् । धेरै वर्षअघि अमेरिकाबाट नेपाल पुगेर रसेन्द्र भट्टराई नामक एक व्यक्तिले कान्तिपुर दैनिकमार्फत दिएका गफ सायद धेरै नेपाली पत्रकारहरूले बिर्सिसकेका होलान् । त्यसो त ती भट्टराईको निधन भएकै निकै वर्ष बितिसकेको छ । त्यही भएर होला आजभोलि फेरि त्यही प्रवृत्तिका मानिसहरूको गफले नेपालका पत्रपत्रिका तथा नेपाली अनलाइन, टेलिभिजनहरू भरिन थालेका छन् । जो अमेरिकामा सामान्य मजदुरी गरेर जीवनयापन गरिरहेको हुन्छ, उसलाई नेपाल पुगेर आफू अमेरिकामा रहेको नेपालीमध्येकै उत्कृष्ट हुँ भन्ने देखाउन रहर चल्छ । र, उसले नेपालका सञ्चारमाध्यमहरूलाई प्रयोग गरिरहेको देखिन्छ ।
अमेरिकामा केही वर्ष बसेका र आफूलाई कोही अमेरिकी नेसनल एरोनिटकस एन्ड स्पेस एडमिस्ट्रेसन (नासा) को उपल्लोस्तरको इन्जिनियरको गफ लगाउँछन् । कोही साइनटिस्ट अनि कोही अमेरिकाको उपल्लो राजनीतिक कार्यकर्ता त कोही अमेरिकाको सरकारी जागिरमा यति तह र उति तहको हुँ भन्ने गफ लगाउँदै नेपालका सञ्चारमाध्यममा छाएका देखिन्छन् । लाग्छ अमेरिकामा तिनलाई चिन्ने नेपालीहरू भने “लाटो देशमा गााडो तन्देरी” हुन सजिलो रहेछ भन्ने उखान सम्झन्छन् । जे भए पनि ऊ त्यस्ता संस्थामा काम गर्ने एउटा सामान्य कर्मचारीसमेत हुन्छ हुँदैन त्यो कसैलाई थाहा हुन्न । कुनै जमानामा एक नेपालीले अमेरिकाको विश्व बैंकमा काम गर्छु भन्दै नेपाल पुगेर सोही हैसियतकी श्रीमती बिहे गरेर अमेरिका आएको र बिहे गरेर आएको तीन/चार महिनापछि आफ्नो लोग्नेको हैसियत कन्ट्याक्टरमार्फत विश्व बैंकको गार्ड भएको थाहा भएपछि श्रीमती लोग्ने छाडेर नेपाल गएको रोचक कहानी डिसी क्षेत्रमा बस्ने पुराना नेपालीहरू धेरैलाई थाहा छ । अमेरिकामा जस्तोसुकै काम गरोस् कसैले मतलव राख्ने कुरा भएन किनकि कामको सबैले सम्मान गर्नुपर्छ र गर्छन् पनि । तर, नेपालीहरूले काम सानै गरे पनि नेपालीबीच ढाँट्न सकेसम्म ढाँट्ने परम्परा नेपालीमाझ व्याप्त भएकै कारण उसले आखिर आफ्नो पारिवारिक छुटानाम हुन पुगेको हो ।
त्यसो त अमेरिकाका त्यस्ता सम्मानित क्षेत्रमा नेपालीमूलका अमेरिकीहरू नपुगेका भने होइनन् । तर, तिनीहरू सायदै सञ्चारमाध्यमहरूमा देखा पर्छन् । उनीहरूलाई सञ्चारमाध्यममा ल्याउन कसरत नै गर्नुपर्छ । उनीहरूलाई कसैलाई गफ लगाउने फुर्सद छैन । तर, फुर्सद त्यस्ता केही नेपालीहरूलाई छ जसले सञ्चारमाध्यम बुझेका छन् र तिनलाई नेपालमा आफू के हुँ भन्ने चिनाउनु छ । त्यस्ता कतिपय नेपालीहरूले त आजभोलि आफ्नो समाचार आफैँ तयार गर्छन् । अनि, अनलाइनहरूदेखि नेपालका दैनिक, साप्ताहिक सबैतिर चारो छरेजस्तो आफ्नो समाचार छर्छन् । अनलाइनहरूको कुरै छाडौँ, नेपालका आफूलाई प्रतिष्ठित भनाउने सञ्चारगृहहरूलाई पनि समाचारको विश्वसनीयता र समाचारसँग सम्बन्धित व्यक्ति वा संस्थाबारे कुनै ज्ञान हुनुपर्दैन । उनीहरूजस्तो समाचार आउँछ त्यस्तो समाचार कपिपेस्ट गरेर समाचार प्रवाहित गरिदिएको पाइन्छ । बोल्नेको पीठो बिक्छ भनेझँै जसले आफ्नो समाचार आफैँ बनाउँछन् । अनि, पशुपतिमा परेवालाई चारो छरे झैँ इमेलमार्फत भएभरका अनलाइन, दैनिक, साप्ताहिक, पाक्षिक, रेडियो, एफएम सबैतिर आफ्ना समाचार प्रवाहित गरिरहेका हुन्छन् । आधाभन्दा बढी सञ्चारमाध्यमले ती समाचारहरूलाई प्रवासको त्यो पनि अमेरिकाको समाचार भनेर स्थान दिएको देखिन्छ । समाचारमाथिको विश्वसनीयताप्रति खोजी खबरी कसैले गर्दैनन् । समाचार कसले पहिले अनलाइनमा अपलोड गर्ने भन्ने ध्याउन्नमा नेपालका ठूला मिडिया भनाउनेहरूलेसमेत हानथाप गरेको देख्दा भने नेपाली अनलाइन पत्रकारिताप्रति टिठ लागेर आउँछ ।
त्यसो त कान्तिपुर दैनिक वा अन्य केही दैनिकसँग सम्बन्धित आफ्नै प्रतिनिधिहरूसमेत अमेरिकामा नभएका होइनन् । तर, तिनीहरू हुँदाहुँदै पनि कतिपय अवस्थामा अमेरिकाका समाचार भनेपछि ती सञ्चारगृह समेतले आफ्नो प्रतिनिधिलाई समेत थाहै नदिई समाचारहरू अपलोड गरेपछि यहाँ रहेका तिनका प्रतिनिधिहरूसमेत छक्क परेका घटना छन् ।
प्रतिक्रिया