अन्तर्राष्ट्रिय रूपमा युद्ध अपराध गरेका व्यक्तिलाई सम्बन्धित मुलुकले दण्ड सजाय नगरेपछि पीडितले उजुरीका आधारमा यसरी पक्राउ पर्न सक्छन् । उदाहरणका लागि अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर बेल्जियम जाँदैनन् । उनका विरुद्ध बेल्जियममा मुद्दा परेकाले त्यहाँको सरकारले बेल्जियम जाँदा पक्राउ गर्न सक्छ । त्यस्तै, अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसका विरुद्ध पनि इराक युद्धका पीडितहरूले स्विट्जरल्यान्डको अदालतमा मुद्दा हालेका छन् । बुस स्विट्जरल्यान्ड गएमा त्यहाँको सरकारले उनलाई पक्राउ गर्नसक्ने भएकाले उनी त्यहाँ जाँदैनन् । सुडानस्थित शान्ति मिसनमा कार्यरत नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ प्रकरण पनि यस्तै हो । हामीकहाँ नेपाल सानो मुलुक भएकाले बेलायत सरकारले हेपेर उनलाई पक्राउ गरिएको भनिँदै छ । यद्यपि, पक्राउ गर्नका लागि केही प्रक्रियागत कमीकमजोरी भएका होलान् । पक्राउ गर्नपूर्व नेपाल सरकार अथवा त्यहाँस्थित दूतावासलाई खबर गर्नुपर्ने लगायत कमजोरी हुन सक्छन् । त्यस्तै, माओवादी सशस्त्र युद्धका बेला युद्ध अपराधमा संलग्नलाई कारबाही र पीडितलाई न्याय दिने विधिहरू हामीले अपनाएनाँै । जिल्ला अदालत, सर्वोच्च अदालतबाट भएका फैसला र आदेश कार्यान्वयन हुन नसकेको अवस्था छ । अब, अन्तर्राष्ट्रिय मान्यताअनुरूप सत्यनिरुपण आयोग बनाएर युद्धअपराधमा संलग्नलाई दण्ड सजाय र पीडितलाई न्याय दिलाउने अग्रसरता राज्यले लिनुपर्छ ।
प्रतिक्रिया