आउटसाइडरको आत्मस्वीकृति्

तपाईं साहित्यकार कि पत्रकार ?
म हृदयले साहित्यकार अनि पेसाले मात्र पत्रकार हुँ । पत्रकारिता र साहित्यको उद्देश्य खासै फरक छैन । भारतीय पत्रकार तथा कवि रघुवीर सहायले भनेजस्तै यी दुवै मानिसका नयाँ सम्बन्ध देखाउन चाहन्छन्  । पत्रकारिताका लागि भइसकेको घटना यथार्थ हो भने साहित्यकारका लागि हुनेवाला घटना । पत्रकारितामा मेरो प्रवेश संयोग मात्र थियो । ०४९ सालमा स्नातक भएपछि कुन्यूमा सियो खोजेजस्तै लामोसमय म जागिरको खोजीमा भाँैतारिएँ । असफल भएँ । लेख्नबाहेक केही जानेको थिइनँ । संयोगवश मेरो कहालिलाग्दो समय पत्रकारका रूपमा अवतरित भएको थियो । त्यो बेला साहित्यभन्दा पत्रकारिता सत्यको गन्तव्य पुग्ने छोटो मार्ग हो भन्ठान्थेँ । त्यसमा अझै विश्वस्त छु । तर, केही समयपछि नै लाग्न थाल्यो, आधुनिक युगमा पत्रकार हुने कुनै पनि ‘योग्यता’ मसँग छैन ।
किन यस्तो निराशा ?
म निराशावादी होइन । म हरेक निमेष मानसिक रूपमा केही न केही नयाँ कुराको खोजीमा भौँतारिरहेको हुन्छु । सदैव आत्मनिर्वासनको खोजीमा हुन्छु । पत्रकारिताचाहिँ हाम्रो सन्दर्भमा पाँच सय प्रतिशत परनिर्वासन हो ।
कतिपय कथामा पीडित पत्रकारबारे लेख्नुहुन्छ । आफ्नै कथा लेख्नुभएको हो ?
नेपाली पत्रकारितामा खोतलेर हेर्ने हो भने हल्ला र पाखन्डबाहेक केही भेटिन्न । म आफ्ना कथामा तिनै कुरा खोतलेर देखाउन चाहन्छु । बाहिरबाट देख्दा पत्रकारहरू जति सानदार देखिन्छन्, भित्र अर्कै हुन्छ । यस्ता कथाका साछी म आपैँm भएकाले त्यसमा मेरै भोगाइका केही छाप अवश्य छन् । जस्तो : ‘खबर, कहर र जहर’ ।
तपाइं आफूलाई किन आउटसाइडर ठान्नुहुन्छ ?
म पत्रकारबीच साहित्यकार र साहित्यकारबीच पत्रकार । गाउँलेबीच सहरको हावा लागेको पठित पटमूर्ख र सहरिया सम्भ्रान्तबीच असामाजिक मूर्ख । साहित्यकार र लेखकका रूपमा सानोतिनो परिचय बनाइसक्दा पनि विचार र वर्ग नमिल्ने सहकर्मीबीच म सधैँ आउटसाइडर छु । रुसी आख्यानकार भासिलेई सुक्सिनको जस्तै नियति जो विख्यात कथाकार र कलाकार थिए, तर कतै स्वीकृत थिएनन् ।
जीवनमा कति अपराध गर्नुभएको छ ?
करिब ६/७ वर्षको हुँदा मैले कागका दुई बचेरा पछारेर अत्यन्त क्रूरतापूर्वक मारेको थिएँ । मार्नेबित्तिकै मलाई कति पश्चात्ताप भयो भने तीन दिनसम्म म निस्लोट ज्वरोले थलिएँ । त्यसयता भिँmगा र लामखुट्टेबाहेक जानाजानी कुनै पनि जीवको हत्या गरेको छैन । यसको नरम प्रतिविम्ब मेरो लामो कथा ‘अ.त.को सत्याग्रह’मा छ । दोस्रो, किशोरवयमा म ज–जसलाई प्रेम गर्थें, उच्चजातीय ती युवतीले मलाई मान्छे गनिनन् । जसले मलाई प्रेम गर्थी, त्यसलाई मैले गनिनँ । म निरास भइनँ । मलाई प्रेम गर्ने केटी निरास भई । तुरुन्तै अर्कोसँग ‘प्रेमविवाह’ गरी । चाँडै नै त्यसको पतिपरमेश्वरले मान्छेको आदिम रूप देखायो । हिन्दू संस्कारी आइमाई न हो, लोग्ने हुँदाहुँदै उसले फुस्री राँडको जीवन बिताउनुपर्‍यो । त्यसको एउटा अप्रत्यक्ष कारण मेरै उपेक्षा हो । यी घटनाका लागि आज पनि म आत्मदण्ड भोगिरहेको छु । कानुनले नछोए पनि यी दुई आपैँmले माफ गर्न नसकेका मेरा अपराधहरू हुन् ।
त्यसो भए विवाहप्रति तपाईंको धारणा के हो ?
हिन्दू समाजमा विवाह संस्था विघटनको संघारमा छ । यो, जालीको बाँध बाँधेर पानी थुन्न खोजेजस्तो भइरहेछ । लोग्ने स्वास्नीमाथि अत्याचार गर्छ तैपनि त्यसलाई पतिपरमेश्वरका रूपमा समाजमा चिनाएर ऊ सुरक्षित रहेको देखाउँछे र भित्रभित्र भाग्यलाई सरापिरहन्छे । पीडित लोग्नेको हालत पनि त्यस्तै छ । यसको पुन:संरचनाको एउटा माध्यम ‘लिभिङ टुगेदर बिफोर म्यारिज’ हुनसक्छ । यो सबैभन्दा कम जोखिमपूर्ण उपाय हो । एक–अर्कालाई राम्ररी बुझ्न पाइन्छ । जिन्दगी चल्छ जस्तो लागे बिहे गर्ने, वा नगरी सँगै बस्ने । नलागे ‘भाग भैरे’ भन्दै आ–आफ्नो बाटो लाग्ने ।
तपाईं हाम्रो समाज पाखन्डी छ भन्नुहुन्छ । तपाईंचाहिँ हुनुहुन्न ?
मान्छे जन्मजात पाखन्डी हो । नभए मानवीय समाजबाट उसको सदस्यता खोसिन्छ । यो, हाम्रो समाजको श्रीसम्पत्ति हो । म नाफाघाटाको हिसाब गरेर कसैसँग सम्बन्ध बनाउँदिनँ । यदाकदा अरूसँग झुटो बोले पनि आफूलाई ढाँट्दिनँ । जतिसुकै सानो स्तरमा होस्, सामाजिक न्याय र परोपकारमा केही गरिरहेकै हुन्छु । तैपनि, यही समाजको सदस्य म मात्र अपवाद होइन । मान्छेबाट पशुमा च्युत भइएला भनेर पनि हामीले पाखन्डलाई श्रीखण्डजस्तै चोखो मानेर जोगाइराख्नुपर्छ ।
प्रसंग बदलौँ, तपाईंका कवितामा राजनीति ह्वास्स गन्हाउँछ नि .
आफूलाई विचारको बन्दी होइन भन्नेहरूले पनि कुनै न कुनै राजनीति गरिरहेकै हुन्छन् । म सम्बन्धहरू न्यायपूर्ण, समतामूलक र मानवीय हुनुपर्छ भन्ने विचार बोकेर हिँडेको मान्छे । बरु, मेरा कवितामा राजनीति नआए अचम्म मान्नुपर्छ । तथापि, म विचारका नाममा कविताकै हत्याको विरोधी हुँ ।
तपाईं कुन दर्जाको लेखक ?
म नेपाली साहित्यमा गान्धी डिभिजनको पछिल्लो पंक्तिबाट अघिल्लो पंक्तिमा आउन संघर्षरत लेखक । अन्तर्राष्ट्रिय स्तरमा चाहिँ म सान्त्वना श्रेणीको लेखक जुन आपैँmमा कुनै श्रेणी होइन । यसको अर्थ हो, नेपाली अधिकांश लेखक कुनै पनि श्रेणीमा पर्दैनन् ।
माक्र्सवादीहरू साहित्यमा प्रयोगलाई किन स्विकार्दैनन् ?
अरूको जिम्मा लिन सक्दिनँ, म कुनै पनि कलाकृतिमा सुन्दर प्रयोग रुचाउँछु । जस्तो : पूर्णविरामका कविता ।
लेखकहरूको आ–आफ्नै गुट र समूह छन् । तपाईंको गुट कुन हो ?
मेरा साथी धेरै छन् । मनपेट मिल्ने कोही छैनन् । अत: म एक्लै गुट हुँ, समूह हुँ । तिनका सबै पदाधिकारी मै हुँ ।
नेपाली साहित्यमा ओभररेटेड र अन्डररेटेड कृति कतिका छन् ?
पानीको फोकाजति आयु भएका किताबहरूको कुरा नगर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाका पद्य कविता अनि उनकै गद्य कविता र गीत ओभररेटेड र अन्डररेटेड कृति हुन् । उनका गद्य कविता र गीत अनुपम छन् । सायद, मेरो पाठकीय चेतना अत्यन्त कमजोर छ । अधिकांश महान् लेखकका प्रिय धनुषचन्द्र गौतमको उपन्यास ‘घामका पाइलाहरू’मा म कृत्रिमताको समुदै्र भेट्छु । शंकर लामिछानेको ‘एब्स्ट्राक्ट चिन्तन प्याज’का निबन्धमा पनि असाधारण केही भेट्दिनँ । बरु, उनका ‘विम्ब–प्रतिविम्ब’ बढी रुचिकर कृति हो ।
शास्त्रीयताबाट मुक्त मोहन कोइरालाका क्लिष्ट कविता कस्ता लाग्छन् ? कस्ता कविता मन पर्छन् ?
सायद म कोइरालाका कविता बुझ्दिनँ । एउटा लय त हुन्छ, त्यतिले मात्र छुँदैन । देवकोटाको ‘पागल’ र ‘यात्री’, गोपालप्रसाद रिमालको ‘तिमी को ?,’ ‘दन्त्यकथा’, ‘मेरो प्रेमको कथा’, भूपी शेरचनको ‘हामी’, ‘सधैँ–सधैँ सपनामा,’ ‘दुई सेता हत्केलाको परेवा : तिम्रो नमस्ते’, वासु शशीको ‘देश अर्थात् देश खोइ ?’ मीनबहादुर विष्टको ‘साला पहाड मे क्या है ?’, ‘गाउँको पाठशाला’, विमल निभाको ‘हत्यातन्त्र’, ‘चप्पल’, श्यामलको ‘छाला’, ‘पावरहाउस’, अविनाश श्रेष्ठको ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’, आहुतिको ‘गहुँगोरो अफ्रिका’, गोविन्द वर्तमानको ‘अस्तित्व सोच’, श्रवण मुकारुङको ‘पुरानो मानिस’ आदि मलाई प्रिय लाग्छन् ।
प्रिय अन्तर्राष्ट्रिय कृति ?
म्याक्सिम गोर्की, मिखाइल सोलोखोब, दोस्तोएब्स्की, टाल्सटाय, लुसुन, मार्खेज र मिलान कुन्देरा अत्यधिक मन पर्छन् । गोर्कीका आत्मकथात्मक तीनै उपन्यास र आमा, सोलोखोबका रुसी गृहयुद्धकालीन कथाहरू, टाल्सटायको रिसरेक्सन र आन्ना कारेनिना, दोस्तोएब्स्कीका क्राइम एन्ड पनिसमेन्ट र इडियट, लुसुनका लामा कथाहरू मलाई खुबै मन परेका कृति हुन् । मार्खेजको सबैभन्दा चर्चित कृति ‘वन हन्ड्रेड इयर्स अफ सलिच्युड’ आजसम्म छिचोल्न सकिनँ । उनका ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’ र ‘मेमोरी अफ माई मिलनकली होर्स’ अत्यन्त मार्मिक छन् । ‘जोक’, ‘लाइफ इज एल्सह्वेर’ मा व्यवस्थाको धज्जी उडाउने कुन्देराको अनुपम वर्णनशैलीबाट म प्रभावित छु ।
नेपालीका पाँच उत्कृष्ट कथा ?
गुरुप्रसाद मैनालीको ‘सहिद’, भवानी भिक्षुको ‘हारजित’, गोविन्द गोठालेको ‘त्यो क्रान्तिको प्रतीक’, रमेश विकलको ‘मधुमालतीको कथा’, मनु ब्राजाकीको ‘भविष्ययात्रा’ ।
कविहरूको संख्यासँगै झूर कविताको संख्या पनि बढिरहेको छ भनिन्छ नि ?
संख्यासँगै राम्रा र झूर दुवै बढ्नु स्वाभाविक हो ।
कविता लेखन र यौन–कुन बढी उत्तेजक प्रक्रिया हो ?
यी दुई दाँज्न मिल्ने कुरा होइनन् ।
लेखक झूर हुन्छ कि विषय ?
झूर हुने स्वतन्त्रता दुवैलाई छ ।
साहित्य र सत्ताको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ ?
म आफूलाई असहमति, अस्वीकृति र प्रतिपक्षी लेखक ठान्छु । सत्ता सधैँ मेरो लेखनको निशाना हो । सत्ताको तावेदार कुनै लेखक छ भने त्यो लेखक होइन, भाट हो ।
कविता नभएको भए तपार्इं कति निराश हुनुहुन्थ्यो होला ?
एकखालको शून्यता महसुस हुन्थ्यो होला ।
मर्न डर लाग्छ कि नराम्रो कथा लेख्न ?
एक दिन त मर्नै पर्छ तैपनि डर लाग्छ । सायद नराम्रा कथा त म लेखिरहेकै छु । राम्रो बनाउने प्रयासचाहिँ गर्छु ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया